सुस्ताएको स्टारडमपछि लयमा फर्किए दयाहाङ, एकै वर्ष दुई फिल्म १० करोड क्लबमा इन्ट्री

सुस्ताएको स्टारडमपछि लयमा फर्किए दयाहाङ, एकै वर्ष दुई फिल्म १० करोड क्लबमा इन्ट्री

काठमाडौं : अभिनेता दयाहाङ राईको मुख्य भूमिकामा रहेका दुई फिल्म ‘पेन्सनपट्टा’ र ‘कबड्डी ५’ले बक्सअफिसमा १० करोड रुपैयाँभन्दा माथिको ग्रस कलेक्सन गरेका छन्।

सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार भदौ २६ गतेबाट प्रदर्शनमा आएको ‘पेन्सनपट्टा’ले १० करोड २८ लाख रुपैयाँको व्यापार गरेको छ भने कात्तिक ६ गतेबाट प्रदर्शन भएको ‘कबड्डी ५’ले १० दिनमै १० करोड ७६ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको छ।

पछिल्लो समय दयाहाङका फिल्महरूले बक्स अफिसमा कम्जोर व्यापार गरिरहँदा यस वर्ष प्रदर्शन भएका यी दुई फिल्मले भने निकै उत्साहजनक व्यापार गरे। पछिल्लो दुई वर्षयता उनका फिल्मप्रति दर्शकको चासो कम हुन थालेको बेलामा बक्सअफिसमा सफल फिल्महरूको सूचिमा यी दुई फिल्म समावेश भएपछि दयाहाङलाई ठूलो राहत मिलेको छ। 

उनका यी दुई सफल फिल्मका निर्देशक भने फरक हुन्। यता ‘पेन्सन पट्टा’लाई माओत्से गुरुङले निर्देशन गरेका हुन् भने कबड्डीमा रामबाबु गुरुङको छ। कलाकार भने दुवैतर्फ अधिकांश मिल्दाजुल्दा छन्। दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङले नै दुवैतर्फ अभिनय गरेका छन्। 

रामबाबु गुरुङको निर्देशन रहेको फिल्म‘कबड्डी ५’का निर्माता मणिराम पोखरेल हुन्। फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की र शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ।  ‘कबड्डी’का अघिल्ला चार वटै शृङ्खला बक्सअफिसमा सफल भएका थिए। 

कात्तिक १६, २०८३ सोमबार १६:५०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।