हिट फिल्मका फ्लप सिक्वेल, बक्स अफिसमा कसको कमाइ कति ?
काठमाडौं : दशैंको छेको पारेर तीन फिल्म ‘१२ गाउँ २’,‘आ बाट आमा२’ र ‘छ माया छपक्कै२’ प्रदर्शनमा आए। असोज ३० गतेबाट ‘१२ गाउँ २’ र ‘आ बाट आमा२’ प्रदर्शनमा आएका थिए भने त्यसको भोलीपल्ट ‘छ माया छपक्कै२’ प्रदर्शनमा आएको थियो।
तीन वटै फिल्ममध्ये चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा२’को व्यापार राम्रो देखिएको छ। सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार फिल्मले छ करोड २४ लाख ७० हजारको व्यापार गर्दै निर्माताको लगानी सुरक्षित गरेको छ। यसको अघिल्लोको भाग ‘आ बाट आमा’ले भने बक्स अफिसमा १३ करोडमाथिको व्यापार गरेको थियो।
निर्देशक चन्द्र पन्तकै कथा रहेको फिल्म ‘आ बाट आमा२’मा विपना थापा, पल शाह, मलिका महत, रित्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडालगायतको अभिनय रहेको छ।
अर्को फिल्म ‘१२ गाउँ २’को व्यापार भने उत्साहजनक देखिएन। बिराज भट्ट निर्देशित यस फिल्मले प्रदर्शनको दुई हप्ता नाघ्दासम्म पनि साढे दुई करोडको आंकडा छुन सकेको छैन। आइतबार रातिसम्म फिल्मले दुई करोड २९ लाख ५७ हजार ग्रस कलेक्सन गरेको छ। यता दुई वर्षअघि प्रदर्शन भएको यो फिल्मको पहिलो भाग ‘१२ गाउँ’ले भने २० करोडमाथिको व्यापार गरेको थियो। तर, सिक्वेललाई भने दर्शकको खडेरी पर्यो।
बिराजकै मुख्य भूमिकामा रहेका फिल्ममा समीर भट्ट, अनुपविक्रम शाही, कृशु शाही, वर्षा इटानी, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतले अभिनय गरेका छन्। यसै फिल्मबाट कृशु शाही (काफिया) र वर्षा इटनीले अभिनेत्रीका रुपमा डेब्यु गरेका हुन्।
त्यस्तै असोज ३१ गते फूलपातीबाट प्रदर्शनमा आएको दीपेन्द्र लामा निर्देशित फिल्म ‘छ माया छपक्कै २’ले तीन करोड ३४ लाख ८४ हजारमाथिको व्यापार गरेको छ। नौ करोडमाथिको व्यापार गरेको फिल्म ‘छ माया छपक्कै’को सिक्वेलले व्यापार कमजोर बनेको छ। फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, सनिशा भट्टराई, रिहान गिरी लगायतको छ।
यी तीन फिल्म रिलिजको एक सातापछि रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ५’ प्रदर्शनमा आएको थियो। यो फिल्मले अहिलेसम्म १० करोडमाथिको व्यापार गरेको छ।
पुराना, तर हलमा टिकिरहेका ‘गौँथली’,‘बा : एक योद्धा’
गत साउन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’ बक्स अफिसमा कमाई गर्ने यस वर्षकै शीर्षस्थानमा छ। यो फिल्मले २६ करोड ७ लाख रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। डाक्टर कपिल रिजालको निर्देशनमा निर्माण भएको फिल्ममा सिम्रन खड्का, अरुण क्षेत्री, लुभिना तुलाधर,प्रकाश घिमिरे लगायतले अभिनय गरेका छन्। अहिलेसम्म यो फिल्मलाई हेर्ने दर्शकको संख्या ९ लाख ४६ हजारभन्दा माथि छन्।
यता असोज ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘बा एक योद्धा’ले अझै हलमा कब्जा जमाइरहेको छ। अहिलेसम्म यो फिल्मको व्यापार ३ करोड ५४ लाख ४० हजारमाथिको छ। एक लाख २७ हजार २१७ जनाले हेरेको यस फिल्मको लेखन तथा निर्देशन संगीतकार हरि लम्सालको छ।
फिल्ममा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा लगायतले अभिनय गरेका छन्। यो फिल्मसँगै प्रदर्शनमा आएको निखिल उप्रेती निर्देशित तथा अभिनीत ‘आचार्य’एक साता पनि हलमा टिक्न सकेन।
कात्तिक १६, २०८३ सोमबार १५:४६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।