क्यासिनोको पृष्ठभूमिमा ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’
काठमाडौं : आगामी कात्तिक २० गतेबाट प्रदर्शन तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ बोलको पहिलो गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक यस गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर रहेको छ।
शशि शर्मा मजगैयाँको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतले घरजमका लागि उपयुक्त जीवनसाथी खोजिरहेकी युवतीको कथालाई प्रस्तुत गरेको छ।
क्यासिनोको पृष्ठभूमिमा खिचिएको भिडियोमा अभिनेत्री इभा गिरीसँगै अभिनेताहरू हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपाने फिचर्ड छन्। गीतको भिडियोमा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी छ।
बसन्त निरौला निर्देशित यस चलचित्रलाई लेखक सुशील पौडेलले ‘सोसल ड्रामा’ भनेका छन्। उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको यथार्थ कथालाई पर्दामा उतारेको छ।
चलचित्रमा हरिवंश, महेश, जितु, विनोद र इभाका अलावा आर्यन सिक्देल, सुशील सिटौला, दीपाश्री निरौला, सरिता गिरी, प्रशान्त ताम्राकार, रमा थपलिया, सीता न्यौपाने र रितेश पौडेललगायतको अभिनय छ।
काली रानी फिल्म्सको ब्यानरमा निर्मित चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ तथा निर्माता काली रानी श्रेष्ठ हुन्। श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको यो चलचित्रलाई तिहारको अवसर पारेर आरआर फिल्म्सले देशभर प्रदर्शनमा ल्याउँदैछ।
कात्तिक १६, २०८३ सोमबार १०:४२:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।