पोस्टरमा देखिएको फिल्म ‘चिरञ्जीवी भवः’को भाव

पोस्टरमा देखिएको फिल्म ‘चिरञ्जीवी भवः’को भाव

काठमाडौं : गत वर्षको ब्लकबस्टर फिल्म ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण हुन लागेको नयाँ फिल्म ‘चिरञ्जीवी भवः’को शनिबार दुई वटा पोस्टर सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा अभिनेता हरिवंश आचार्य सेतो कपाल-जुँगा र नयाँ ढाका टोपीको पहिरनमा खानदानी घरमुली जस्तो अवतारमा देखिएका छन्। एउटा पोस्टरमा हरिवंशसँगै आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी उन्मुक्त हाँसोमा देखिन्छन् भने अर्को पोस्टरमा हरिवंशले आशीर्वादलाई आशिष दिइरहेका छन्। 

पोस्टरमा प्रस्तुत दृश्यले बाबु-छोराको भावनात्मक सम्बन्ध र दुई पुस्ताबीचको वैचारिक भिन्नतालाई उजागर गरिएको जस्तो देखिन्छ। कुमार कट्टेल ‘जिग्री ब्रो’को कथा तथा सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको यो ‘सोसल ड्रामा’मा हरिवंश, आशीर्वाद र प्रशंसाका साथै करिश्मा मानन्धर, तुलसी घिमिरे, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्कीलगायतको अभिनय छ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको ब्यानरमा उमेशकुमार बराल र चिरन केसीले निर्माण गरेको यस फिल्ममा शिवराम श्रेष्ठको छायांकन र रञ्जित गजमेरसहितको संगीत रहेको छ। हाल पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा रहेको यो फिल्म आगामी माघ १ गतेदेखि आरआर फिल्म्समार्फत देशभर प्रदर्शनमा आउनेछ।

कात्तिक १५, २०८३ आइतबार १३:२३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।