‘पाँच पाण्डव’मा दीपाको जुझारु नारीको अवतार, नाम- ‘सितर्नी’

‘पाँच पाण्डव’मा दीपाको जुझारु नारीको अवतार, नाम- ‘सितर्नी’

काठमाडौं : पर्दामा प्रायः हाँस्य र पारिवारिक भूमिकामा देखिँदै आएकी अभिनेत्री दीपाश्री निरौला यसपटक जुझारु रुपमा देखिने भएकी छन्।

आगामी कात्तिक २० गतेबाट प्रदर्शन तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’मा उनले आफूलाई ‘फाइटर लेडी’का रूपमा उभ्याएकी हुन्।

चलचित्रमा दीपाश्रीले महाभारतको ‘भीम’ चरित्रको बिम्ब बोकेका जितु नेपालकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन्। जहाँ उनको नाम ‘सितर्नी’ राखिएको छ।

आफ्नो चरित्रबारे खुलाउँदै दीपाश्रीले भनिन्, “यसपटक मेरो भूमिका अलि भिन्न र जुझारु छ। कथामा कसैले मजदुरमाथि अन्याय गर्यो भने सबैभन्दा पहिले मेरै हातखुट्टा चल्छन्।”

चलचित्रमा आफू श्रीमान्लाई सुरक्षा दिने र अन्यायविरुद्ध डटेर लड्ने सशक्त नारीको रूपमा प्रस्तुत भएको उनको भनाइ छ।

आफ्नो ‘स्क्रिन एन्ट्री’ धमाकेदार रहेको दाबी गर्दै उनले हलमा दर्शकको सिठी र ताली पाउनेमा ढुक्क रहेको बताइन्।

“डबिङ गर्दा नै दृश्यहरू निकै वजनदार महसुस भएका थिए। मलाई लाग्छ, चलचित्रमा मैले बोलेको ‘सितर्नी’ शब्द दर्शकको मुखमै झुण्डिनेछ,” उनले थपिन्।

बसन्त निरौला निर्देशित यो चलचित्र सामाजिक कथावस्तुमा आधारित रहेको लेखक सुशील पौडेलले बताएका छन्।

उनका अनुसार चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको यथार्थलाई प्रस्तुत गर्नेछ।

काली रानी फिल्म्सको ब्यानरमा नवीन श्रेष्ठले प्रस्तुत गरेको यस चलचित्रमा दीपाश्री र जितुका साथै हरिवंश आचार्य, महेश त्रिपाठी, आर्यन सिक्देल, विनोद न्यौपाने, सुशील सिटौला र इभा गिरी मुख्य भूमिकामा छन्।

श्याम तामाङको छायांकन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको यो चलचित्र तिहारको छेको पारेर कात्तिक २० गतेदेखि देशभर प्रदर्शन हुँदैछ।

कात्तिक १६, २०८३ सोमबार ११:५६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।