बिचौलियासँग न्यायाधीशको कनेक्सनबारे छानबिन गर्न सर्वोच्चको आग्रह, अनुसन्धानमा सघाउने प्रतिबद्धता

बिचौलियासँग न्यायाधीशको कनेक्सनबारे छानबिन गर्न सर्वोच्चको आग्रह, अनुसन्धानमा सघाउने प्रतिबद्धता

काठमाडौं : सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका विषयमा छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेको छ।

अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटासँग न्यायाधीशको कनेक्सन रहेको भनेर समाचार सामाग्री प्रकाशन तथा प्रसारण भएका थिए। केही न्यायाधीशको बिचौलियासँग भएको संवाद तथा आर्थिक चलखेलसम्बन्धी विवरण सार्वजनिक भएपछि सर्वोच्चले फुल कोर्ट बैठक बोलाएको थियो।

सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र छानबिन सम्बन्धित निकायलाई आग्रह गरेको हो। बैठकले संविधान र कानुनबमोजिम हुने त्यस्ता छानबिन तथा अनुसन्धानमा पूर्ण जवाफदेहितासहित सहयोग गर्ने निर्णय गरेको छ।

सर्वोच्च अदालतका सहरजिस्ट्रार डा. अशोककुमार क्षेत्रीले छानबिनको कुनै निष्कर्ष नआउँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन/प्रसारण नगर्न बैठकले आग्रह गरेको बताए। न्यायपालिका जनताको आस्था र विश्वास अडिने संस्था भएकोले आमजनता तथा सेवाग्राहीमा भ्रम र नकारात्मक असर पर्न नहुनेतर्फ सचेत हुनुपर्ने भनेको छ। 

संविधान र कानुनको सर्वोच्चताप्रति आफ्नो अटल आस्था रहेको दोहोर्याउँदै अदालतले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन आग्रह गरेको छ। अदालतले सार्वजनिक भएका समाचारहरूबाट विचलित नभई नियमित रूपमा न्यायिक कार्य सम्पादनमा क्रियाशील रहन मातहतका सबै अदालतलाई निर्देशनात्मक आह्वानसमेत गरेको छ।

कात्तिक १६, २०८३ सोमबार १४:५५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।