पत्रकार धरपकड र विवादित सरकारी गतिविधिको छानबिन गर्न कांग्रेसले माग्यो संसदीय विशेष समिति
काठमाडौं : नेपाली कांग्रेसले सञ्चारगृहमै प्रवेश गरेर पत्रकारमाथि गरिएको धरपकड र त्यससँग जोडिएका सबै विवादित सरकारी गतिनिधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको छ।
सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले उक्त घटनामा दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिएको छ। सरकारका गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न उठाएको कांग्रेसको निष्कर्ष छ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भने, "नेपाली कांग्रेस पत्रकार धरपकडलगायत यससँग जोडिएका सबै विवादित सरकारी गतिविधि स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्दछ। दोषीलाई कानुनबमोजिम कारबाही गरिनुपर्दछ। यसको लागि संसदीय विशेष समिति गठन गर्नुपर्दछ भन्ने हाम्रो स्पष्ट अडान पनि छ।"
पक्राउको स्पष्ट आधार सार्वजनिक नगरिएको र अदालतको अनुमति नलगेर समाचार कक्षमै प्रहरी परिचालनको सरकारी कदम प्रेस स्वतन्त्रतामाथि अनुचित दबाब मात्र नभएर विधिको शासन विपरीतको स्वेच्छाचारिता भएको उनको भनाई छ। सरकारले यस विषयमा जवाफ दिनुपर्ने आङ्देम्बेले बताए।
सरकारले गर्ने सही काम, जनसरोकारका विषय र सुशासनका सवालमा कांग्रेसको समर्थन रहने तर लोकतन्त्रका आधारभूत मूल्य मान्यता विपरीतका गतिविधि भएमा पार्टीले विरोध गर्ने उनको भनाइ छ।
आङ्देम्बेले भने, "नेपाली कांग्रेसले निरन्तर भन्दै आएको छ। वर्तमान सरकारले गर्ने सही कार्य, जनसरोकारको विषय र सुशासनको सन्दर्भमा कांग्रेसको समर्थन छ। तर लोकतन्त्र र विधिको शासन, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरणलगायतका सार्वभौम मूल्य मान्यता विपरीत सरकार लागेमा कांग्रेसले विरोध गर्छ र गरिरहन्छ।"
न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्नेमा जोड दिँदै उनले सरकारका सबै काम कानुनी प्रक्रिया र विधिअनुसार हुनुपर्ने बताए। सरकारका गतिविधिमा जवाफदेहिताको अभाव देखिएको उनको भनाइ थियो।
"सरकारको गतिविधि जे गरे पनि हुन्छ, जवाफ दिनुपर्दैन भन्ने मानसिकता र प्रवृत्तिका उपजजस्तो भएर सार्वजनिक भइरहेको छ," आङ्देम्बेले भने, "घटनाक्रमहरूले मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाएर आफू अनुकूलको शासन स्थापित गर्न सुनियोजित प्रयत्नको खतरनाक शृङ्खलाको रूपमा देखाउँछ।"
कात्तिक १६, २०८३ सोमबार १५:०५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।