बाजुरामा ५ वर्षसम्म कामै नगर्ने ठेकेदारको सम्झौता रद्द, अदालतको फैसलापछि दुई पुल निर्माणको बाटो खुल्यो
बाजुरा : बाजुराको बूढीगङ्गा नदीस्थित ‘मौरे पुल’ र बडीमालिका नगरपालिकास्थित ‘ठूलीसाँघु खोला पुल’ वर्षौँसम्म अलपत्र पार्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्ततः रद्द गरिएको छ।
तोकिएको म्याद सकिँदा पनि काम सुरु नगरेपछि महाकाली पुल योजना कार्यालय महेन्द्रनगरले ठेक्का तोडेर पुनः निर्माण प्रक्रिया अघि बढाएको हो।
कार्यालयले यी दुवै पुल एउटै प्याकेजमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी काठमाडौँस्थित बिकोई बिल्डर्स प्रालिसँग १६ करोड २१ लाख ७८ हजार रुपैयाँमा सम्झौता गरेको थियो।
सम्झौता अवधि (२०८१ फागुन) सकिँदासम्म पनि निर्माण कम्पनीले सिन्को नभाँचेपछि कार्यालयले ठेक्का तोड्दै कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो।
कार्यालयको उक्त निर्णयविरुद्ध निर्माण व्यवसायी अदालत पुगेका थिए। तर, गत साउनमा अदालतले पुल योजना कार्यालयकै पक्षमा फैसला सुनाएपछि नयाँ प्रक्रियामार्फत काम अघि बढाउने बाटो खुलेको सूचना अधिकारी रवि शाहले जानकारी दिए।
उनका अनुसार नेपाल पूर्वाधार कम्पनीमार्फत काम अगाडि बढाउन दुवै आयोजनास्थलमा प्राविधिक खटाएर स्थलगत परीक्षण (साइट भेरिफिकेसन) समेत सम्पन्न भइसकेको छ।
पुल नबन्दा वर्षायाममा पालिकाभर यातायात पूर्ण रूपमा ठप्प हुने र हिउँदमा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापाले बताए।
“मौरे पुल बूढीगङ्गा र त्रिवेणी जोड्ने संरचना मात्र नभई बडीमालिका क्षेत्रको मुख्य प्रवेशद्वार पनि हो,” नगरप्रमुख थापाले भने, “पुल नहुँदा स्थानीय नागरिकले बर्सेनि सास्ती खेप्नुपरेको छ।” यस्तै, ठूलीसाँघु खोलामा पुल नहुँदा गौमूल, बडीमालिका र खप्तड छेडेदहका बासिन्दा प्रभावित हुँदै आएका छन्।
सडक आयोजनाको बजेट पनि फिर्ता
बाजुरामा ठेक्का सम्झौता भएर पनि काम नहुने रोग पुलमा मात्र सीमित छैन। पूर्वाधार विकास कार्यालय अछामका अनुसार निर्माण कम्पनीहरूको लापरबाहीका कारण हरेक वर्ष करोडौँ बजेट खर्च नभई फ्रिज हुने गरेको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै मार्तडी-कोल्टी सडकको २० करोड र खप्तड-गैरीखाद-आटीचौर हुँदै मार्तडी जोड्ने सडकको १३ करोड ५० लाख रुपैयाँ बजेट काम हुन नसकेर फिर्ता भएको थियो।
मार्तडी-कोल्टी खण्डको जिम्मा पिएस बानियाँ निर्माण सेवा तथा खप्तड-मार्तडी खण्डको जिम्मा केएसएम केबिसी/तेज जेभीले लिएका छन्।
समयमै काम नसकिँदा स्थानीय बासिन्दाले आवतजावत, स्वास्थ्योपचार र कृषि उपज ढुवानीमा चरम सास्ती भोग्दै आएका छन्।
कात्तिक १६, २०८३ सोमबार १३:३७:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।