‘टाटा गुरु’हरूका लागि देशभरका १४ स्थानमा बीएस-६ प्राविधिक तालिम सुरु
काठमाडौं : नेपालका लागि टाटा जेनुइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा.लि. र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा ‘टाटा बीएस-६ तालिम प्रशिक्षण कार्यक्रम’ सुरु भएको छ।
टाटाका व्यावसायिक गाडीहरूमा कार्यरत प्राविधिक जनशक्ति (टाटा गुरुहरू) को सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आगामी कात्तिक २० गतेसम्म ६ दिने प्रशिक्षण सञ्चालन गरिएको हो।
यो तालिम हेटौँडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, टाँडी, इटहरी, नारायणगढ, मिर्चैया, पोखरा, भैरहवा, ढल्केबर, दाङ र वीरगञ्ज गरी देशका विभिन्न १४ स्थानमा एकसाथ सञ्चालन भइरहेको छ।
तालिममा सहभागी प्राविधिक तथा इलेक्ट्रिसियनहरूलाई आधुनिक सवारी प्रविधि र भारत स्टेज-६ प्रणालीबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिइनेछ। जसमा विद्युतीय प्रणाली, स्टार्टिङ र चार्जिङ सिस्टम, ईसीयू, सेन्सर तथा उत्सर्जन नियन्त्रण प्रणाली सम्बन्धी विषयहरू समेटिएका छन्।
साथै आधुनिक डायग्नोस्टिक टुल्स प्रयोग गरी गाडीका प्राविधिक समस्या पहिचान र समाधान गर्ने विधि पनि सिकाइनेछ।
नवीनतम सवारी प्रविधिसँग परिचित गराउँदै गुणस्तरीय मर्मत तथा सर्भिसिङ सेवा सुनिश्चित गर्न यो तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।
कात्तिक १६, २०८३ सोमबार १३:००:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।