फोटोनले भाटभटेनीलाई हस्तान्तरण गर्‍यो १४ वटा विद्युतीय ‘टीएमवान’ पिकअप गाडी

फोटोनले भाटभटेनीलाई हस्तान्तरण गर्‍यो १४ वटा विद्युतीय ‘टीएमवान’ पिकअप गाडी

काठमाडौं : एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्सअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा ‘टीएमवान’ विद्युतीय पिकअप गाडी हस्तान्तरण गरेको छ।

वातावरणमैत्री व्यावसायिक ढुवानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘टुगेदर टुवार्ड्स ग्रिनर फ्युचर’ नारासहित आयोजित एक कार्यक्रमबीच ती सवारीसाधन हस्तान्तरण गरिएको हो।

भाटभटेनीले आफ्नो ढुवानी तथा वितरण प्रणालीलाई थप आधुनिक, किफायती र वातावरणमैत्री बनाउन यी विद्युतीय साधनहरू समावेश गरेको जनाएको छ।

कार्यक्रममा एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार बरालले प्रतिष्ठित संस्था भाटभटेनीसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीको प्रयोग विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

त्यस्तै, भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले संस्थाले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई प्राथमिकतामा राखेको बताउँदै यस सहकार्यले अन्य व्यावसायिक प्रतिष्ठानलाई पनि विद्युतीय सवारी प्रयोग गर्न प्रेरित गर्ने धारणा राखे।

न्यून सञ्चालन खर्च र भरपर्दो कार्यक्षमताका कारण फोटोन टीएमवान व्यावसायिक ढुवानीका लागि प्रभावकारी विकल्प बन्ने कम्पनीको दाबी छ।

कात्तिक १६, २०८३ सोमबार ११:२९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।