एनपिएलमा आज दुई खेल, समर्थकका लागि निःशुल्क बस सेवा

एनपिएलमा आज दुई खेल, समर्थकका लागि निःशुल्क बस सेवा

चितवन : कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेलहरू हुँदैछन्।

पहिलो खेलमा दिउँसो १२ः३० बजे काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन्।

प्रतियोगितामा चितवन राइनोज अहिलेसम्म अपराजित छ। पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्नु परेको थियो। अर्कोतर्फ, सुदूरपश्चिमले हालसम्म खेलेका तीन खेलमध्ये एकमा जित र दुईमा हार व्यहोरेको छ।

समर्थकलाई चितवनबाट काठमाडौंसम्म निःशुल्क बस
यसैबीच, साँझ हुने खेलमा टोलीलाई हौसला प्रदान गर्न चितवन राइनोजका समर्थकहरू चितवनबाट काठमाडौंतर्फ लागेका छन्। खेल हेर्न जाने समर्थकहरूका लागि क्लबले नै निःशुल्क बसको व्यवस्था गरेको हो।

चितवन राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार खेलको टिकट काटेका समर्थकहरूलाई लक्षित गरी चितवनदेखि काठमाडौंसम्म लैजाने र खेल सकिएपछि पुनः चितवन फर्काउने व्यवस्था मिलाइएको छ।

“प्रिटिकट लिएर आउने समर्थकहरूलाई ‘पहिले आउनेलाई प्राथमिकता’ (फस्ट कम फस्ट) का आधारमा बस सेवा उपलब्ध गराएका छौँ”, देवकोटाले बताए।

कात्तिक १६, २०८३ सोमबार ०८:३५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।