एनफिल्डमा १४ वर्षपछि आर्सनलको जित, लिभरपुल स्तब्ध

एनफिल्डमा १४ वर्षपछि आर्सनलको जित, लिभरपुल स्तब्ध

एजेन्सी : जर्मन फरवार्ड काई हाभर्ट्जको निर्णायक गोलको मद्दतले आर्सनलले प्रिमियर लिगमा लिभरपुललाई उसकै मैदानमा १-० ले पराजित गर्दै १४ वर्ष लामो जितविहीन खडेरी तोडेको छ।

एनफिल्डमा सन् २०१२ यता पहिलो जित दर्ता गर्दै मिकेल अर्टेटाको टोली म्यानचेस्टर सिटीलाई पछि पारेर प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

खेलको १६औँ मिनेटमा हाभर्ट्जले गरेको गोल नै खेलको निर्णायक बन्यो। लिभरपुलका गोलरक्षक एलिसनको गल्तीको फाइदा उठाउँदै सुरु भएको मुभमा डेक्लान राइसको उत्कृष्ट क्रसलाई हाभर्ट्जले सहजै जाली चुमाएका थिए।

यो गोलसँगै प्रिमियर लिगमा उनको व्यक्तिगत गोल संख्या ४६ पुगेको छ। यससँगै उनले इल्काय गुन्डोगन (४५ गोल) लाई पछि पार्दै प्रिमियर लिगको इतिहासमै सर्वाधिक गोल गर्ने जर्मन खेलाडीको नयाँ कीर्तिमान समेत बनाएका छन्।

घरेलु मैदानमा पछि परेपछि आन्दोनी इराओलाको लिभरपुलले खेलभर दबाब बनाए पनि गोल गर्न सकेन। लिभरपुलले खेल अवधिभर कुल १७ पटक प्रहार गरे पनि कुनै पनि प्रहार ‘अन-टार्गेट’ हुन सकेन।

सन् २००३-०४ यता एनफिल्डमा खेलिएका ४४२ खेलमध्ये घरेलु टोलीले कुनै पनि प्रहार टार्गेटमा राख्न नसकेको यो पहिलो लज्जास्पद रेकर्ड हो।

पहिलो हाफमा लिभरपुल निकै अभागी सावित भयो। फ्लोरियान भिट्जको फ्रिकिक क्रसबारमा ठोकिएर फर्कियो भने पूर्ण रूपमा अनमार्क रहेका एलेक्सिस म्याक अलिस्टरले हेडरलाई गोलको दिशा दिन सकेनन्।

यस्तै अलेक्ज्याण्डर इसाक र कोडी गाक्पोले गरेका पेनाल्टी अपिललाई रेफ्रीले खारेज गरिदिएका थिए।

दोस्रो हाफमा आर्सनलले कडा रक्षात्मक रणनीति अपनायो। चोटमुक्त हुँदै मैदान फर्किएका आर्सनलका क्रिस्टोस जोलिसका दुई उत्कृष्ट प्रयासलाई लिभरपुलका गोलरक्षक एलिसनले विफल पारे।

बाँकी समयमा लिभरपुलले बराबरी गोलका लागि लगातार प्रयास गरे पनि आर्सनलको डिफेन्स र गोलरक्षक डेभिड रायालाई भेद गर्न सकेन।

यसअघि सन् २०१२ को सेप्टेम्बरमा एनफिल्डमा २-० को जित निकालेपछि आर्सनलले लिगमा यहाँ खेलेका १३ खेल (५ बराबरी, ८ हार) मा जित हात पार्न सकेको थिएन। प्रशिक्षक अर्टेटा स्वयंले पनि यहाँ जित निकाल्न नसकेको दबाब तोड्दै यो महत्त्वपूर्ण सफलता दिलाएका छन्।

यो जितपछि आर्सनल शीर्ष स्थानमा दोस्रो स्थानको सिटीभन्दा ३ अंकले अगाडि रहेको छ। पराजित लिभरपुल भने शीर्ष स्थानभन्दा ९ अंकले पछि पर्दै पाँचौँ स्थानमा खुम्चिएको छ।

कात्तिक १६, २०८३ सोमबार ०७:३५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।