‘मैदानमा ५० क्यामेरा छन्, पेनाल्टी पाउन खेलाडी नै लड्नुपर्ने?’

‘मैदानमा ५० क्यामेरा छन्, पेनाल्टी पाउन खेलाडी नै लड्नुपर्ने?’

एजेन्सी : इङ्लिस प्रिमियर लिगमा घरेलु मैदानमै आर्सनलसँग १-० ले पराजित भएपछि लिभरपुलका कप्तान भर्जिल भान डाइक रेफ्री र भीएआरको निर्णयविरुद्ध खनिएका छन्।

खेलका क्रममा आफ्ना फरवार्ड अलेक्ज्याण्डर इसाकको जर्सी तानिँदा पनि पेनाल्टी नदिएको भन्दै उनले कडा आक्रोश पोखेका हुन्।

एनफिल्डमा आइतबार राति भएको खेलको पहिलो हाफमा ब्राड्ली बारकोलाको क्रसमा बल प्रहार गर्न खोज्दा आर्सनलका डिफेन्डर जुरियन टिम्बरले इसाकको जर्सी प्रस्टै तानेका थिए।

तर, इसाक मैदानमा नलडी खुट्टा टेक्न सफल भए। फलस्वरूप, रेफ्री एन्डी म्याड्ली र भीएआर दुवैले लिभरपुलको पेनाल्टी अपिललाई पूर्ण रूपमा खारेज गरिदिए।

खेलपछि कप्तान भान डाइकले आधुनिक प्रविधिको प्रयोगमाथि नै प्रश्न उठाए।

उनले भने, “त्यो स्पष्ट पेनाल्टी थियो। रंगशालामा ५० वटा क्यामेरा छन्, सबैले घटना देखेकै हुन्। यति धेरै क्यामेरा हुँदाहुँदै पेनाल्टी पाउन खेलाडीले नाटक गरेर गुनासो गर्नैपर्ने हो र? जे हुनु भइहाल्यो, हामी पराजित भयौँ, आर्सनललाई बधाई छ।”

लिभरपुलका मुख्य प्रशिक्षक आन्दोनी इराओलाले पनि कप्तानको भनाइमा समर्थन जनाए। फुटबलमा खेलाडी ‘डाइभ’ हानेर नलडेसम्म रेफ्रीले सिट्ठी नफुक्ने गलत प्रवृत्ति बढेको उनको टिप्पणी थियो।

“इसाक लडेका भए रेफ्रीले १०० प्रतिशत पेनाल्टी दिन्थे। खेलाडी इमानदार भएर खुट्टा अड्याउन खोज्दा पेनाल्टीबाट वञ्चित हुनुपर्ने अचम्मको नियम छ,” इराओलाले भने, “अब के प्रशिक्षकहरूले आफ्ना खेलाडीलाई पेनाल्टी पाउन मैदानमा लड्नू भनेर सिकाउनुपर्ने हो?”

खेलको १६औँ मिनेटमा लिभरपुलका गोलकिपर एलिसनको खराब पासको फाइदा उठाउँदै आर्सनलका काई हाभर्ट्जले गरेको गोल नै खेलको निर्णायक बन्यो।

पछि परेपछि लिभरपुलले खेलमा फर्कने प्रयास गरे पनि फ्लोरियान भिट्जको फ्रिकिक क्रसबारमा ठोकियो भने एलेक्सिस म्याक अलिस्टर नजिकैबाट चुके।

यस खेलमा लिभरपुलले घरेलु मैदान एनफिल्डमा सन् २००३-०४ यताकै पहिलो पटक कुनै पनि प्रहार अन-टार्गेटमा राख्न नसक्ने खराब कीर्तिमान समेत बनायो। यो जितसँगै आर्सनल तालिकाको शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाउन सफल भएको छ।

कात्तिक १६, २०८३ सोमबार ०८:२४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।