लामिने यामालको नामलाई लिएर किन झुक्किरहेछ विश्व?

लामिने यामालको नामलाई लिएर किन झुक्किरहेछ विश्व?

एजेन्सी : विश्व फुटबलमा आफ्नो जादुयी खेलले तहल्का मच्चाइरहेका बार्सिलोना तथा स्पेनका युवा स्टार लामिने यामालको नामलाई लिएर संसारभर नै एउटा ठूलो भ्रम रहँदै आएको छ।

फुटबल कमेन्टेटरदेखि समर्थकहरूसम्मले प्रायः उनलाई कहिले ‘लामिने’ त कहिले थर ठानेर ‘यामाल’ मात्रै भन्ने गर्छन्। तर वास्तविकता भने धेरैले सोचेभन्दा बिल्कुलै फरक छ- ‘यामाल’ उनको थर हुँदै होइन।

धेरैलाई ‘लामिने’ उनको पहिलो नाम र ‘यामाल’ उनको थर हो भन्ने लाग्छ। तर, ‘लामिने यामाल’ उनको संयुक्त पहिलो नाम हो। जस्तै नेपालीमा राजाराम हुन्छ।

यसको खुलासा स्वयं उनका बुवा मुनिर नशराउईले गरेका हुन्। एक लाइभस्ट्रिममा उनले भनेका छन्, “म सबैलाई स्पष्ट पार्न चाहन्छु- ‘लामिने यामाल’ उसको पहिलो नाम हो, ‘यामाल’ कुनै थर होइन। उसका वास्तविक थर ‘नशराउई एबाना’ हुन्। त्यसैले कोही पनि झुक्किनु पर्दैन।”

स्पेनिस नामकरण परम्परा अनुसार सन्तानको नाम पछाडि बुवा र आमा दुवैको पारिवारिक थर जोड्ने गरिन्छ। लामिनेका बुवा मुनिर नशराउई र आमा शिला एबाना हुन्। यसर्थ, उनको पूरा कानुनी नाम ‘लामिने यामाल नशराउई एबाना’ हो।

संकटका बेला साथ दिने साथीहरूलाई समर्पित नाम
‘लामिने यामाल’ नाम जुर्नु पछाडि निकै मार्मिक र भावनात्मक कथा लुकेको छ।

लामिने जन्मनुअघि उनका आमाबुवा चरम आर्थिक अभाव र कठिन परिस्थितिबाट गुज्रिरहेका थिए। त्यो संकटको घडीमा उनीहरूलाई दुई जना घनिष्ट साथीहरूले निःस्वार्थ रूपमा ठूलो आर्थिक र मानवीय सहयोग गरेका थिए।

तीमध्ये एक साथीको नाम ‘लामिने’ (अरबी भाषामा जसको अर्थ ‘विश्वासी/इमान्दार’ हुन्छ) र अर्का साथीको नाम ‘यामाल’ (अरबीमा ‘सुन्दरता’) थियो।

आफूहरूलाई संकटबाट पार लगाउन मद्दत गर्ने ती दुई साथीको गुन तिर्न दम्पतीले त्यतिबेलै एउटा कसम खाएका थिए- “यदि भविष्यमा हाम्रो छोरा जन्मियो भने, हामी उसलाई तिमीहरूकै नाम दिनेछौँ।”

त्यसपछि जब छोराको जन्म भयो, दम्पतीले आफ्नो वाचा पूरा गर्दै दुवै साथीको नाम जोडेर पहिलो नाम ‘लामिने यामाल’ राखिदिए।

कमेन्टेटर र दर्शकमाझ अझै अन्योल
फुटबलमा प्रायः खेलाडीलाई थरले मात्रै सम्बोधन गर्ने चलन छ। तर, लामिने यामालको हकमा भने केवल ‘यामाल’ वा केवल ‘लामिने’ भन्नु अधुरो हुन्छ।

उनको पारिवारिक पृष्ठभूमि बाहिरिएसँगै अब विश्वभरका सञ्चारमाध्यम तथा खेलप्रेमीहरूले उनलाई एउटै नामका रूपमा ‘लामिने यामाल’ नै पुकार्नुपर्ने सत्य बुझ्न थालेका छन्।

कात्तिक १६, २०८३ सोमबार ०७:५६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।