मोइन अलीसँग एउटै क्रिजमा ब्याटिङ गर्छु भन्ने  सोचेको थिइनँ : त्रितराज दास

मोइन अलीसँग एउटै क्रिजमा ब्याटिङ गर्छु भन्ने  सोचेको थिइनँ : त्रितराज दास

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सविरुद्ध उत्कृष्ट अर्धशतकीय इनिङ्स खेल्दै ‘प्लेयर अफ द म्याच’ बनेका जनकपुर बोल्ट्सका ब्याटर त्रितराज दासले विश्वप्रख्यात अलराउन्डर मोइन अलीसँग क्रिज साझेदारी गर्न पाउनु आफ्नो जीवनकै गर्विलो क्षण भएको बताएका छन्।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै त्रितराजले अनुभवी अन्तर्राष्ट्रिय खेलाडीसँग ब्याटिङ गर्दा दबाबमुक्त हुन पाएको र टोलीको रणनीतिक निर्देशनअनुसार नै सुझबुझपूर्ण इनिङ्स खेलेको बताए।

कीर्तिपुरको सुस्त र ब्याटिङका लागि चुनौतीपूर्ण पिचबारे बोल्दै उनले टोलीले पहिले नै स्पष्ट योजना बनाएको खुलाए।

"कन्डिसन निकै कठिन थियो, तर हामीबीच ड्रेसिङ रुममै कुरा भएको थियो कि यस्तो अवस्थामा केही डट बल खेलेर दबाब लिनु पर्दैन। आवश्यक परेको बेला बाउन्ड्री प्रहार गर्न सक्छु भन्ने विश्वास थियो। त्यसैले म शान्त भएर क्रिजमा टिकिरहेँ," त्रितराजले भने।

पावरप्लेको छैटौँ ओभर मेडन जाँदा पनि आफूहरू विचलित नभएको उल्लेख गर्दै उनले अर्को एन्डबाट मोइन अलीले दिएको सल्लाह र ढाडसले आफूलाई लय समात्न सजिलो बनाएको बताए।

इङ्ल्यान्डका स्टार अलराउन्डर मोइन अलीसँगको सहकार्यबारे सोधिएको प्रश्नमा त्रितराजले भने "मैले जीवनमा कहिल्यै सोचेको पनि थिइनँ कि मोइन अलीसँग एउटै ड्रेसिङ रुम र क्रिज सेयर गरेर ब्याटिङ गर्न पाउनेछु। उहाँसँग मैदानमा खेल्न पाउँदा एकदमै गर्व महसुस भइरहेको छ। अर्को एन्डमा उहाँ हुँदा मेरो दबाब निकै कम भयो किनभने उहाँ जुनसुकै बेला पनि ठूला सट प्रहार गर्न सक्षम हुनुहुन्छ।"

अघिल्लो संस्करणमा पोखरा एभेन्जर्सबाट खेलेका त्रितराजले यसपटक आफ्नै पूर्व टोलीविरुद्ध खेल जिताउने इनिङ्स खेले।

यसबारे स्पष्ट पार्दै उनले भने, "पूर्व टोलीविरुद्ध खेल्दा कुनै विशेष बदलाको भावना थिएन। पोखरामा हुँदा पनि वातावरण राम्रो थियो, यहाँ पनि उत्कृष्ट छ। उहाँहरूका बलरहरूलाई पहिलेदेखि नै खेलेकाले केही सहज त भयो, तर त्यो उहाँहरूका लागि पनि उत्तिकै लागू हुन्छ। मैदानमा परिस्थितिअनुसार कसले कस्तो गर्छ भन्ने मुख्य कुरा हो।"

घरेलु क्रिकेटमा नेपाल आर्मीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका त्रितराजले सुरुवाती दुई खेलमा रन नबन्दा केही दबाब महसुस गरे पनि यस इनिङ्सले आफ्नो आत्मविश्वास बढाएको बताए। साथै, आफ्नै गृह प्रदेशको टोली जनकपुर बोल्ट्सको व्यवस्थापन र खेलाडीहरू निकै सहयोगी भएकाले खेलाडीलाई उच्च मनोबलका साथ खेल्न मद्दत मिलेको उनको भनाइ थियो।

यो लयलाई आगामी खेलहरूमा पनि निरन्तरता दिँदै टोलीलाई उपाधि जिताउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहने उनले स्पष्ट पारे।

कात्तिक १५, २०८३ आइतबार २२:०२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।