बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृत फेला

बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृत फेला

बाजुरा : धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक युवक मृत फेला परेका छन्। 

भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन भएका कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा मृत फेला परेका हुन्।

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालकाअनुसार आज सम्पर्कविहीन युवकको खोजी कार्यका लागि सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खटिएको थियो। खोजी कार्य गर्दा सम्पर्कविहीन युवक बडीमालिकास्थित त्रिवेणी पाटन नजिकै मृत फेला परेका हुन्। 

मृतक युवकको खोजी कार्यमा खटिएका सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत ल्याउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।

हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका—२ का २१ वर्षीय सागर कार्कीको शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइएको थियो। कार्की चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिकाको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा रहेका थिए। 

कात्तिक १५, २०८३ आइतबार १५:४५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।