‘पत्रकारको पक्राउ र धरपकड सरकारको फाँसीवादी प्रवृत्तिको द्योतक’

‘पत्रकारको पक्राउ र धरपकड सरकारको फाँसीवादी प्रवृत्तिको द्योतक’

काठमाडौं : एमालेले सञ्चारगृहहरूमा छापा मार्ने र सञ्चारकर्मीमाथि धरपकड गरी भय तथा त्रासको वातावरण सिर्जना गर्ने सरकारको कार्य अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको द्योतक भएको बताएको छ।

सञ्चारमाध्यममाथि गरिएको हस्तक्षेपको निन्दा गर्दै एमालेले राज्यका निकायहरू कानुनको शासनको मर्यादाभित्र रहनुपर्नेमा स्वयं सरकार नै कानुनी प्रक्रिया र लोकतान्त्रिक मान्यताविपरीत दमनकारी व्यवहारमा उत्रिनु चिन्ताको विषय भएको जनाएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यद्वारा शुक्रबार जारी वक्तव्यमा स्वतन्त्र सञ्चारमाध्यममाथिको हस्तक्षेपलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतान्त्रिक मूल्य-मान्यतामाथिको प्रहार भएको उल्लेख गरिएको छ। 

वक्तव्यमा भनिएको छ, "कानुनको शासनको नाममा कानुनको उल्लङ्घन, सुशासनको नाममा दमन र लोकतन्त्रको नाममा निरङ्कुशता स्वीकार्य हुन सक्दैन।" एमालेले सञ्चारमाध्यममाथि भइरहेको गैरकानुनी हस्तक्षेप र धरपकड तत्काल बन्द गरी सञ्चारगृह एवं सञ्चारकर्मीहरूको संवैधानिक अधिकार र पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न माग गरेको छ।

सञ्चारगृहको समाचार कक्षबाट नियन्त्रणमा लिइएका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नेपाल प्रेसमा नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब र उनी कानुनी परामर्शमा रहेको समाचारको स्रोतबारे करिब २ घण्टासम्म केरकार गरेपछि सम्पादक मातृका पौडेलसहितको रोहवरमा नियन्त्रण मुक्त गरेको थियो। 

कात्तिक १३, २०८३ शुक्रबार २१:३३:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।