समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएपछि कांग्रेसले भन्यो : ‘शाहीकालीन निरङ्कुशताको झल्को दियो’
काठमाडौं : नेपाली कांग्रेसले समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गरेको र धरपकड गरेको घटनाले 'शाही कालको निरङ्कुशताको झल्को' दिएको जनाएको छ।
पार्टी सभापति गगनकुमार थापाद्वारा शुक्रबार जारी विज्ञप्तिमा सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्रै रिहा गर्ने प्रवृत्ति बन्द गर्न माग गरिएको छ। कांग्रेसले जनदबाबपछि रिहाइ गर्नुभन्दा कानुन विपरीत गरिने धरपकड र 'ह्यारेस्मेन्ट' रोक्न सरकारसँग माग गरिएको छ।
विगतका शासकहरूले आफूमाथि प्रश्न उठेपछि सत्ता र शक्तिको दुरुपयोग गरेर सञ्चार क्षेत्रमाथि धावा बोलेका घटनाको स्मरण गर्दै थापाले वर्तमान सरकारले पनि त्यस्तै निरङ्कुश प्रवृत्ति दोहोर्याएकोमा दुःखद व्यक्त गरे।
पत्रकार वा सञ्चारमाध्यमबाट कुनै त्रुटि भएको भए त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायत स्थापित कानुनी र संस्थागत निकायहरू क्रियाशील रहेको उल्लेख गर्दै उनले वैधानिक प्रक्रियालाई बेवास्ता गरी सञ्चार गृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनी शासन लत्त्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्तितर्फ सरकार उन्मुख भएको बताए।
कांग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चार गृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तुरुन्त रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका कदमहरू तत्काल सच्याउन सरकारसँग माग गरेको छ।
कात्तिक १३, २०८३ शुक्रबार २१:१४:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।