एनपीएलका हरेक चौका र छक्कामा रेड पान्डा संरक्षणको लागि इसेवाको आर्थिक सहयोग
काठमाडौं : डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल)का क्रममा प्रहार हुने प्रत्येक बाउन्ड्रीबापत दुर्लभ वन्यजन्तु रेड पान्डा (हाब्रे) को बासस्थान संरक्षणका लागि आर्थिक योगदान गर्ने भएको छ।
‘एभ्री बाउन्ड्री काउन्ट्स’ अभियानअन्तर्गत इसेवाले प्रतियोगितामा प्रहार हुने प्रत्येक छक्काबापत दुई हजार र चौकाबापत एक हजार रुपैयाँ (करसहित अधिकतम १० लाख रुपैयाँसम्म) सहयोग उपलब्ध गराउने जनाएको हो।
एनपीएलको आधिकारिक टिकटिङ साझेदारसमेत रहेको इसेवा, रेड पान्डा नेटवर्क र रेड पान्डा नेटवर्क नेपालबीच यससम्बन्धी त्रिपक्षीय साझेदारी भएको हो। संकलित रकम अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को रातो सूचीमा संकटापन्न प्रजातिका रूपमा सूचीकृत रेड पान्डाको प्राकृतिक बासस्थान पुनर्स्थापना तथा स्थानीय समुदायका लागि रोजगारी सिर्जनामा उपयोग गरिनेछ।
यस अभियानअन्तर्गत सन् २०२७ को जुन-जुलाईमा रेड पान्डाको मुख्य बासस्थान रहेको इलाम र पाँचथरका सामुदायिक वन क्षेत्रमा करिब १० हेक्टर क्षतिग्रस्त बासस्थान पुनर्स्थापना गरिने लक्ष्य राखिएको छ। साथै १० हजार स्थानीय प्रजातिका बिरुवा रोप्ने तथा स्थानीय महिलाहरूलाई प्राथमिकता दिँदै करिब ६०० श्रमदिन बराबरको सशुल्क रोजगारी सिर्जना गरिने जनाइएको छ।
क्रिकेटको उत्साहलाई प्रकृति संरक्षणमा रूपान्तरण गर्न खोजिएको बताउँदै इसेवाका प्रमुख रणनीति अधिकृत रवि शाक्यले खेलकुदको माध्यमबाट जैविक विविधता संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउने लक्ष्य रहेको उल्लेख गरे। एनपिएल अवधिभर प्रत्येक चौका र छक्काबाट संकलित रकमको विवरण इसेवाले आफ्नो वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने जनाएको छ।
कात्तिक १५, २०८३ आइतबार १३:५९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।