पहिलो त्रैमासमा २७.११ प्रतिशतले बढ्यो एनएमबि बैंकको खुद नाफा
काठमाडौं : एनएमबि बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा एक अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आर्थिक वर्षको तुलनामा यो २७.११ प्रतिशतको वृद्धि हो।
बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी (ईपीएस) २५.४२ प्रतिशतले बढेर २३.८३ रुपैयाँ पुगेको छ। त्यस्तै, सेयरधनीहरूलाई बाँड्न मिल्ने वार्षिकीकरण गरिएको प्रतिशेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले वृद्धि भई ११.६४ रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले बढेर एक अर्ब ८९ करोड रुपैयाँ पुगेको छ भने सम्भावित नोक्सानी व्यवस्थापन खर्च (इम्पियरमेन्ट चार्ज) २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ।
यसैगरी खराब कर्जा (एनपीएल) अघिल्लो त्रैमासको ४.९७ प्रतिशतबाट घटेर ४.९२ प्रतिशतमा झरेको छ, जसले बैंकको कर्जा गुणस्तरमा सुधार आएको देखाउँछ।
यस अवधिमा बैंकको कुल निक्षेप छ अर्ब तीन करोड रुपैयाँले बढेर तीन खर्ब २४ अर्ब रुपैयाँ र कुल कर्जा आठ अर्ब नौ करोड रुपैयाँले बढेर दुई खर्ब ७६ अर्ब चार करोड रुपैयाँ पुगेको छ।
कात्तिक १५, २०८३ आइतबार १३:३८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।