'हतकडी लगाएर भए पनि घर फर्काइदिनुस्' : गलत अध्यागमन परामर्शका कारण तीन वर्षदेखि कुक आइल्यान्डमा 'अदृश्य बन्दी' बनेकी श्रीलंकाली महिला

'हतकडी लगाएर भए पनि घर फर्काइदिनुस्' : गलत अध्यागमन परामर्शका कारण तीन वर्षदेखि कुक आइल्यान्डमा 'अदृश्य बन्दी' बनेकी श्रीलंकाली महिला

एजेन्सी : श्रीलंकाबाट रोजगारीको खोजीमा विदेशिएकी रुचिरा रणसिंघा विगत तीन वर्षदेखि दक्षिण प्रशान्त महासागरस्थित कुक आइल्यान्डमा अलपत्र छिन्। ५० वर्षीया रणसिंघाले करिब एक दशकअघि श्रीलंका छाड्दा आफू सानो टापुमा यसरी अड्किएर स्वदेश फर्कनसमेत नसक्ने अवस्थामा पुग्ने कल्पनासम्म गरेकी थिइनन्।

उनी अहिले श्रीलंका फर्कन आतुर छिन्। उनले बीबीसीसँग कुरा गर्दै "हातखुट्टा बाँधेर तथा मुखमा पट्टी बाँधेर" लगे पनि श्रीलंका फर्कन तयार रहेको बताएकी छन्। तर, न्युजिल्यान्ड र अस्ट्रेलियाले ट्रान्जिट भिसा दिन अस्वीकार गरेपछि उनको स्वदेश फर्कने बाटो बन्द भएको छ।​​​​​​​​​​​​​​

रणसिंघा सुरुमा न्युजिल्यान्डमा बसोबास गर्ने आशामा त्यसतर्फ लागेकी थिइन्।

न्युजिल्यान्ड पुगेर शरणार्थीको आवेदन दिएपछि एक अध्यागमन सल्लाहकारको सुझावअनुसार उनले वर्किङ भिसा आवेदन दिनका लागि अस्थायी रूपमा न्युजिल्यान्ड छाडेकी थिइन्। तर, कुक आइल्यान्ड पुगेपछि उनको भिसा आवेदन अस्वीकृत भयो। न्युजिल्यान्ड छाडेका कारण उनको साविकको शरणार्थी भिसाका सर्तहरू पनि उल्लङ्घन भए। अहिले न्युजिल्यान्डले उनलाई श्रीलङ्का फर्कनका लागि आवश्यक पर्ने ट्रान्सिट भिसा दिन अस्वीकार गरिरहेको छ। अस्ट्रेलियाले पनि ट्रान्सिट भिसा दिन अस्वीकार गरेको छ।

कुक आइल्यान्डबाट अन्तर्राष्ट्रिय उडानमार्फत जान सकिने अन्य गन्तव्य फ्रान्सेली पोलिनेसियाको ताहिती र अमेरिकाको हवाई हुन्। तर, यी दुवै गन्तव्यमा जान आवश्यक भिसा प्रक्रिया अघि बढाउन उनले न्युजिल्यान्डमै उपस्थित भएर बायोमेट्रिक दिनुपर्ने हुन्छ।

यस कारण उनीसँग सो टापु छाड्ने कुनै व्यावहारिक विकल्प नै बाँकी छैन।

“मेरो एक मात्र सन्तान, मेरो को नोभेम्बरमा विवाह हुँदैछ। म उसको विवाहमा उपस्थित हुन चाहन्छु। मलाई के भएको छ भन्ने चिन्ताले मेरी आमा यति धेरै तनावमा हुनुहुन्छ कि उहाँ बारम्बार अस्पताल गइरहनुपरेको छ”, उनले आँसु झार्दै भनिन्, "उनीहरूले मलाई जे गर्न भन्छन्, म सबै गर्न तयार छु। म केवल घर फर्कन चाहन्छु।"

आर्थिक समस्याले छाडिन् श्रीलंका

रणसिंघाले सन् २०१८ मा श्रीलंका छाडेकी थिइन्। व्यवसायमा घाटा भएपछि उनले सञ्चालन गर्दै आएको सानो टी-सर्ट कारखाना बन्द गर्नुपरेको थियो। ऋण तिर्न नसकेपछि उनी वृद्धवृद्धा र बालबालिकाको हेरचाह गर्ने घरेलु कामदारका रूपमा काम गर्न हङकङ पुगेकी थिइन्।

उनका भाइले बीबीसीसँग कुरा गर्दै रणसिंघा अत्यधिक आर्थिक दबाबमा रहेको बताए। उनका अनुसार लागुऔषधको लतमा परेका रणसिंघाका श्रीमान्को करिब सात वर्षअघि मृत्यु भएको थियो।

सन् २०२२ को डिसेम्बरमा रणसिंघा न्युजिल्यान्ड पुगिन्, त्यहाँ उनी आफ्ना काकाकी छोरीसँग दुई महिनाको भिजिट भिसामा बसेकी थिइन्। भिसाको अवधि सकिनै लाग्दा, श्रीलङ्कामा ऋणदाताहरूबाट धम्की आएको आधार देखाउँदै एक अध्यागमन दोभाषेको सहयोगमा उनले शरणार्थी आवेदन दिइन्। उनलाई शरणार्थी आवेदकका रूपमा एक वर्षका लागि 'ओपन वर्क भिसा' दिइयो, जसले गर्दा उनले जुनसुकै रोजगारदाताकहाँ काम गर्न पाउँथिन्।

त्यसपछि उनले एउटा रेस्टुरेन्टमा काम पाइन्। उक्त रेस्टुरेन्टले पछि उनलाई रोजगारी भिसा स्पन्सर गर्न सहमति जनायो। यसले आफूलाई दीर्घकालीन रूपमा आफ्नो बसोबास र रोजगारी दिने उनको विश्वास थियो। तर, न्युजिल्यान्डमा शरणार्थी आवेदन प्रक्रियामा रहँदा सामान्यतया अन्य भिसाका लागि आवेदन दिन नमिल्ने भएकाले उनको त्यो भिसा अस्वीकृत भयो।

अध्यागमन सल्लाहकारको सुझावले थपियो समस्या

त्यसपछि रणसिंघाले 'इमिग्रेसन एन्ड सेक्रेटरीअल सर्भिसेस' नामक एजेन्सीसँग सम्पर्क गरिन्। उनका अनुसार उक्त कम्पनीले विदेशबाटै नयाँ रोजगारी भिसाका लागि आवेदन दिन सकिने बताएको थियो।

कम्पनीकी व्यवस्थापक सिल्भियान ग्यालान्टले रणसिंघाले न्युजिल्यान्ड छाडेपछि आवेदन प्रक्रिया सुरु गर्ने बताएको इमेल बीबीसीले प्राप्त गरेको उल्लेख गरेको छ।

सोही सल्लाहका आधारमा रणसिंघाले भिसा आवेदनको प्रक्रिया चलिरहँदा केही समय बस्न कुक आइल्यान्ड जाने निर्णय गरिन्।

तर, त्यो निर्णय उनका लागि घातक साबित भयो। उनको रोजगारी भिसाको आवेदन फेरि अस्वीकृत भयो। त्यसमाथि न्युजिल्यान्ड छाडेका कारण उनले साविक भिसाका नियमहरू भङ्ग गरिन्, जसका कारण न्युजिल्यान्डका अधिकारीहरूले उनलाई भविष्यमा कुनै पनि भिसा नदिने स्पष्ट पारे।

ग्यालेन्टले न्युजिल्यान्डका तत्कालीन अध्यागमन मन्त्री क्रिस पेङ्कलाई पत्र लेख्ने लगायतका प्रयास गरेको दाबी गरे पनि अन्ततः उनले आफ्नो गल्ती स्वीकार गर्दै रणसिंघालाई 'अब आफूले केही पनि गर्न नसक्ने' बताइन्।

“उनले मलाई घर फर्कनु नै राम्रो हुने बताइन्। मलाई त्यहाँ रोकेर राख्ने केही थिएन, त्यसैले म फर्कन सहमत भएँ,” रणसिंघाले भनिन्।

तर, हातमा श्रीलंका जाने एयर न्युजिल्यान्डको टिकट लिएर विमानस्थल पुगेपछि उनलाई न्युजिल्यान्डको ट्रान्जिट भिसाबिना विमान चढ्न नपाइने जानकारी दिइयो।

रणसिंघाले न्युजिल्यान्डको ट्रान्जिट भिसाका लागि तीन पटक आवेदन दिइन्। तर, सबै आवेदन अस्वीकृत भए। अधिकारीहरूले उनी न्युजिल्यान्डबाट अगाडि बढ्छिन् भन्नेमा विश्वस्त हुन नसकिएको बताए।

अस्ट्रेलियाको ट्रान्जिट भिसाका लागि उनले चार पटक आवेदन दिएकी थिइन्। तर, ती सबै पनि अस्वीकृत भए।

एउटा आवेदन अस्वीकार गर्ने क्रममा न्युजिल्यान्डले उनलाई वैकल्पिक मार्ग खोज्न सुझाव दिएको थियो।

तर, हवाई र ताहितीका अधिकारीहरूले कुनै पनि भिसा प्रक्रियामा अघि बढ्नुअघि बायोमेट्रिक विवरण दिनुपर्ने बताएका थिए। उक्त विवरण दिन उनी व्यक्तिगत रूपमा न्युजिल्यान्डमै उपस्थित हुनुपर्ने अवस्था थियो।

आफूले प्रयास गरेका वैकल्पिक मार्ग, छोराको आउँदै गरेको विवाह र आमाको बिग्रँदो स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी समेटेर रणसिंघाले न्युजिल्यान्डमा पछिल्लो आवेदन दिएकी थिइन्। तर, त्यो पनि अस्वीकृत भयो।

“मैले टिकटमा धेरै पैसा गुमाइसकेँ। झन्डै चार वर्षदेखि म एउटा भिसापछि अर्को भिसाका लागि आवेदन दिइरहेकी छु, तर कुनै पनि उपायले काम गरेको छैन,” उनले भावुक हुँदै भनिन्।

स्थानीयको सहयोग, तर भविष्य अनिश्चित

सुन्दर बलौटे समुद्री किनार र ज्वालामुखीबाट बनेका अग्ला पहाडका लागि प्रसिद्ध कुक आइल्यान्ड न्युजिल्यान्डबाट विमानमा करिब चार घण्टाको दूरीमा छ। तर, पर्यटकीय आकर्षणले भरिएको यही टापुमा ​​​​​​रणसिंघा अननिच्छुक पाहुना बनेकी छन्।

तर, आफ्नो परिस्थितिमा अन्य मानिसहरूभन्दा आफू भाग्यमानी रहेको उनी ठान्छिन्। एउटा होटलले उनलाई कर्मचारी आवासमा नि:शुल्क बस्न दिएको छ भने स्थानीयहरूले खाना र कपडा उपलब्ध गराएका छन्। होटलका एक सञ्चालकले उनलाई सिलाई मेसिनसमेत दिएका छन्, जसले गर्दा उनले अलिअलि आम्दानी गर्न सकेकी छन्।

रणसिंघा भन्छिन्, "मेरो आमाले सधैं भन्नुहुन्छ कि मैले पक्कै केही राम्रो काम गरेको हुनुपर्छ, जसले गर्दा म यस्तो ठाउँमा छु जहाँ मानिसहरू म प्रति यति दयालु छन्।"

तर यसले उनको थुनिएर बसेको पीडालाई कम गर्न सकेको छैन। यस तनावले स्वास्थ्यमा असर पारिरहेको भन्दै उनले भनिन्, "मलाई डर लाग्छ, मलाई केही भइहाल्छ कि।"

अध्यागमन कानुनका विज्ञ भन्छन्-‘गलत सल्लाह दिइएको थियो’

अकल्यान्डका अध्यागमन कानुन विशेषज्ञ एलास्टेयर म्याकक्लिमोन्ट भन्छन्, "इमानदारीपूर्वक भन्नुपर्दा, उनको समस्याको समाधान के हो मलाई थाहा छैन।"

उनले रणसिंघालाई "अत्यन्तै खराब सल्लाह" दिइएको र यो कुनै वास्तविक अध्यागमन वकिलबाट आउनै नसक्ने बताए। उनले जोखिम नबुझी रकम असुलेर आवेदन हाल्ने "सो-कल्ड इमिग्रेसन कन्सल्टेन्ट" हरूको उद्योगतर्फ सङ्केत गरे।

रणसिंघाका अनुसार उनले 'इमिग्रेसन एन्ड सेक्रेटरीअल सर्भिसेस' लाई हजारौँ न्युजिल्यान्ड डलर तिरिसकेकी छन्।

म्याकक्लिमोन्टका अनुसार रणसिंघाले पहिले नै आफ्नो ज्यान जोखिममा रहेको भन्दै शरणार्थी दाबी गरिसकेकाले उनी श्रीलङ्का फर्कने नियतमा छिन् भन्ने कुरामा विश्वास नभएर न्युजिल्यान्डले ट्रान्सिट भिसा नदिएको हो।

न्युजिल्यान्डले छिमेकी अस्ट्रेलियासँग समन्वय गर्ने भएकाले अस्ट्रेलियाले पनि उडान अनुमति दिन नचाहेको र फ्रान्स तथा अमेरिका पनि उही निष्कर्षमा पुग्ने उनले बताए।

“उनी यहाँबाट बाहिरिन कुनै न कुनै ठाउँ हुँदै जानुपर्ने हुन्छ, तर कुनै पनि देशले जोखिम मोल्न चाहँदैन,” म्याक्लमोन्टले भने।

हतकडी लगाएर लैजाने प्रस्तावले पनि काम गरेन

न्युजिल्यान्डको अध्यागमन विभागले बीबीसीलाई दिएको जानकारीअनुसार रणसिंघाबाट ट्रान्जिट भिसाका लागि धेरै आवेदन प्राप्त भएका थिए। तर, सबै अस्वीकृत गरिए। विभागले भनेको छ, “उनी न्युजिल्यान्ड हुँदै अर्को गन्तव्यमा जाने वास्तविक उद्देश्य राख्छिन् भन्नेमा हामी आश्वस्त ​​हुन सकेनौँ।”

रणसिंघाले हथकडी लगाएरै भए पनि जान तयार रहेको बताएको सन्दर्भमा अध्यागमन मन्त्रीको कार्यालयका प्रतिनिधिले त्यस्ता उपायहरूले पनि व्यक्तिलाई पुनः शरणार्थी दाबी गर्नबाट नरोक्ने बताए।

अस्ट्रेलियाको गृह मन्त्रालयले भने व्यक्तिगत मामिलामा टिप्पणी गर्न अस्वीकार गरेको छ।

मन्त्रालयले भनेको छ, “अस्ट्रेलिया यात्रा गर्ने कुनै पनि गैरनागरिकले आप्रवासन ऐन १९५८ र आप्रवासन नियमावली १९९४ का आवश्यक सर्त पूरा गर्नुपर्छ।”

यसैबिच, श्रीलङ्कामा रहेका रणसिंघाका परिवारले सरकारी स्तरबाट सहयोग जुटाउने प्रयास गरिरहेका छन्।

उनका भाइका अनुसार उनीहरूले हरेक सम्भावित ढोका ढक्ढक्याएका छन्, तर अहिलेसम्म सफलता मिलेको छैन।

श्रीलङ्काको परराष्ट्र मन्त्रालयले बीबीसीलाई दिएको जानकारी अनुसार "कुक आइल्यान्डबाट उनलाई श्रीलङ्का फर्काउन आवश्यक सबै कदम चालिँदैछ। न्युजिल्यान्डको वेलिङ्टनस्थित श्रीलङ्काली उच्चायोगका अधिकारीहरू र सम्बन्धित न्युजिल्यान्डका अधिकारीहरू यस विषयमा परराष्ट्र मन्त्रालयसँग निकट रहेर काम गरिरहेका छन्।"

यद्यपि, रणसिंघाका भाइ भने निकै चिन्तित छन्।

“उनको मानसिक अवस्था राम्रो छैन,” उनले बीबीसीसँग भने, "हामीबिच कुरा हुँदा एक पटक उनले मलाई भनिन् कि यदि उनीहरू मलाई जीवितै घर फर्काउन चाहँदैनन् भने, कम्तीमा मेरो शव भए पनि स्वदेश पठाइदिउन्।"

बीबीसीमा प्रकाशित फिचरको सम्पादित अनुवाद

कात्तिक १५, २०८३ आइतबार ११:४३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।