‘स्ट्रेट अफ होर्मुज’ मा बढ्दो तनाव : ओमानद्वारा जलिरहेको जहाजबाट २५ जनाको उद्धार, इरानद्वारा तीन तेल ट्याङ्कर नियन्त्रणमा
एजेन्सी : अमेरिका, इजरायल र इरानबिच फेब्रुअरी २८ देखि सुरु भएको युद्धका कारण विश्वकै प्रमुख तेल ओसारपसार हुने ‘स्ट्रेट अफ होर्मुज’ जलक्षेत्रमा तनाव तीव्र बनेको छ।
यसैक्रममा ओमानको समुद्री सुरक्षा केन्द्रले पानामाको झण्डा वाहक ‘आरआईटीआई’ नामक कच्चा तेल बोक्ने व्यापारिक जहाजमाथि आक्रमण भई आगलागी भएपछि ओमानी नौसेनाले २५ जना चालक दलका सदस्यको सकुशल उद्धार गरेको जनाएको छ।
उद्धार गरिएकाहरूलाई आवश्यक स्वास्थ्य उपचारसमेत उपलब्ध गराइएको छ। बेलायती समुद्री सुरक्षा निकाय (युकेएमटीओ) का अनुसार इरानको लाभान टापु नजिकै अर्को एक जहाजमा पनि अज्ञात वस्तुले प्रहार गर्दा आगलागी भएको थियो, तर सो जहाजका चालक दलका सदस्यहरू सुरक्षित रहेका छन्।
उता, इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले नेभिगेसन प्रणाली बन्द गरी अनधिकृत मार्ग प्रयोग गरेको र चेतावनी बेवास्ता गरेको भन्दै तीनवटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ। जसमध्ये २० लाख ब्यारेल तेल बोकेको एउटा ट्याङ्कर समुद्री बारुदी सुरुङमा ठोक्किएर आगलागी भएको इरानी पक्षको दाबी छ। इरानले होर्मुज जलमार्ग भएर जाने जहाजहरूले अनिवार्य रूपमा तोकिएको मार्ग प्रयोग गर्नुपर्ने र आफ्नो सेनासँग समन्वय गर्नुपर्ने शर्त राख्दै जलमार्गमा अवरोध सिर्जना गर्दै आएको छ।
यसैबिच, अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख ब्राड कूपरले अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजका अन्तरराष्ट्रिय जलमार्गमा रहेका समुद्री बारुदी सुरुङ हटाएको बताएका छन्। जलमार्ग खुला र सुरक्षित राख्न अमेरिकी सेना तैनाथ रहेको उनको भनाइ छ।
इरानले जलमार्गमा लगाएको अवरोधको जवाफमा अमेरिकाले इरानी बन्दरगाहहरूमा प्रति–अवरोध लगाएको छ। यसले इरानको तेल निर्यात तथा व्यापारिक गतिविधिमा थप प्रतिबन्ध सिर्जना गरेको छ।
कात्तिक १४, २०८३ शनिबार १३:४१:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।