बेलायतमा ‘बी रेडी’ अभियानले फैलायो त्रास, ७२ घण्टाको खाद्य भण्डारण गर्दा अत्यावश्यक सामग्रीको मूल्य आकाशियो

बेलायतमा ‘बी रेडी’ अभियानले फैलायो त्रास, ७२ घण्टाको खाद्य भण्डारण गर्दा अत्यावश्यक सामग्रीको मूल्य आकाशियो

एजेन्सी : बेलायतमा सरकारले हालै सुरु गरेको राष्ट्रिय आपत्कालीन तयारी अभियान 'बी रेडी' प्रति सर्वसाधारणले चिन्ता व्यक्त गर्न थालेका छन्। बाह्य सहयोगबिना कम्तीमा ७२ घण्टासम्म पुग्ने आधारभूत सामग्री घरमै भण्डारण गर्न सरकारले आग्रह गरेपछि बजारमा दैनिक उपभोग्य वस्तुको खरिद अचानक ह्वात्तै बढेको छ।

बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अक्टोबर २२ मा सुरु गरिएको यस अभियानलगत्तै बेलायती रक्षामन्त्री वेस स्ट्रिटिङले सन् २०३० अघि नै बाह्य आक्रमण हुन सक्ने चेतावनी दिएका थिए।  यससँगै सरकारले सर्वसाधारणलाई आपत्कालीन अवस्थामा आवश्यक पर्ने सामग्रीको जोहो गर्न आग्रह गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

मन्त्रीको बयान र सरकारी आग्रहपछि सर्वसाधारण हडबडाएर बजार पुग्दा खुद्रा व्यापारमा आपत्कालीन सामग्रीको बिक्री अनपेक्षित रूपमा बढेको छ। खुद्रा विक्रेताहरूका अनुसार टर्चलाइटको बिक्री २८४ प्रतिशत, रेडियोको साप्ताहिक बिक्रीमा १६० प्रतिशत र पावर बैंकको बिक्री १०६ प्रतिशतसम्म बढेको छ।

सरकारको घोषणापछि धेरै नागरिकले आर्थिक अभाव र आवश्यक सामग्री भण्डारण गर्न सक्ने आफ्नो क्षमताबारे चिन्ता व्यक्त गरेका छन्।

एक स्थानीय बासिन्दाले भने, "सबैसँग पहिल्यै आवश्यक सामग्री किनेर भण्डारण गर्ने आर्थिक क्षमता हुँदैन। म खाद्य सहायता प्रदान गर्ने एक संस्थासँग काम गर्छु। हामीले प्रत्येक हप्ता धेरै परिवार तथा एक्लै बस्ने ज्येष्ठ नागरिकलाई खाद्यान्न सहयोग गर्दै आएका छौँ। उनीहरूसँग आवश्यक सामग्री भण्डारण गर्न सक्ने आर्थिक अवस्था छैन।"

आतंकित भएर सामान खरिद गर्ने प्रवृत्तिबारे केही स्थानीय बासिन्दाले संयमित भएर आवश्यक सामग्री खरिद गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

एक अर्का स्थानीय बासिन्दाले भने, "यो केही हदसम्म अनावश्यक हल्ला वा विवाद पनि हुनसक्छ, तर यसमा सत्यता पनि हुन सक्छ। आजकल सामाजिक सञ्जालमा धेरै कुरा देखिन्छन्, तर कुन कुरा सत्य हो र कुन होइन भन्ने हामीलाई थाहा हुँदैन। यदि मानिसहरूले आवश्यक सामग्री भण्डारण गर्ने हो भने कृपया अहिले नै शान्तपूर्वक खरिद गर्नुहोस्, अन्तिम समयमा आतंकित भएर सामान किन्ने अवस्था नआओस्। यसले परिस्थितिलाई सहज बनाउन र मानिसहरूलाई मानसिक रूपमा केही राहत दिन मद्दत गर्छ।"​​​​​​​

सुपरमार्केटका र्याकहरूमा दैनिक उपभोग्य सामग्रीको अभाव देखिन थालेपछि स्थानीय बासिन्दाको चिन्ता थप बढेको छ।

एक स्थानीय बासिन्दाले भने, "म निकै चिन्तित छु। केही दिनअघि म वेटरोज सुपरमार्केट गएको थिएँ। त्यहाँ टुनामाछा (क्यानमा प्याक गरिएको माछा) राखिएका सबै र्याक खाली थिए। पानीका बोतलसमेत थिएनन्। जबकि हामी अझै त्यस्तो अवस्थासम्म पुगेका छैनौँ। रक्षामन्त्रीले पनि यसबारे बोल्दा तीन वर्षपछि आउन सक्ने परिस्थितिका लागि तयारी गर्नुपर्ने बताएका थिए।"

कात्तिक १४, २०८३ शनिबार १८:१२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।