टी-२० अन्तर्राष्ट्रियमा २०० विकेट लिने विश्वकै पहिलो बलर बने रासिद खान !
एजेन्सी : अफगानिस्तानका स्टार स्पिनर रासिद खान अन्तर्राष्ट्रिय टी-२० क्रिकेटको इतिहासमा २०० विकेट लिने विश्वकै पहिलो बलर बनेका छन्।
जिम्बावेविरुद्धको टी-२० शृङ्खलाअन्तर्गतको खेलमा उनले २ सयौं विकेट लिएका हुन्।
आफ्नो १२०औं अन्तर्राष्ट्रिय टी-२० खेल खेल्दै रासिदले यो कीर्तिमान आफ्नो नाममा लेखाए। यस सूचीको दोस्रो स्थानमा इंग्ल्यान्डका लेग स्पिनर आदिल रसिद छन्, जसको नाममा १५३ खेलबाट १७१ विकेट रहेको छ।
५ रनमा ४ विकेटको विपत्तिबाट २२१ को विशाल योगफल
रासिदको यो व्यक्तिगत कीर्तिमानसँगै खेलमा अफगानिस्तानले ब्याटिङतर्फ पनि पुनरागमन गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पावरप्लेमै मात्र ५ रन जोड्दा आफ्ना शीर्ष ४ ब्याटर गुमाइसकेको थियो। नवौँ ओभरमा पाँचौँ विकेट खस्दा टोली गम्भीर संकटमा पुगेको थियो।
तर, त्यसपछि अजमतुल्लाह ओमारजाई र इजाज अहमदजाईले खेलको नक्सा नै पल्टाइदिए। यी दुई मिलेर छैटौँ विकेटका लागि १४२ रनको विस्फोटक साझेदारी गरे।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा छैटौँ वा सोभन्दा तल्लो क्रमको विकेटका लागि बनेको यो अहिलेसम्मकै सर्वाधिक ठूलो साझेदारी हो।
ओमारजाईको विष्फोटक शतक : ओमारजाईले १२ छक्का र ५ चौकाको मद्दतमा ११६ रनको पहिलो टी-२० शतक प्रहार गरे। उनी टी-२० अन्तर्राष्ट्रियमा शतक बनाउने चौथो अफगान खेलाडीसमेत बने। अर्कोतर्फ इजाजले ५२ रनको अर्धशतकीय योगदान दिए।
यिनै दुईको बलबुतामा अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २२१ रनको विशाल योगफल खडा गर्यो।
२० रनभन्दा कम स्कोरमा सुरुआती ४ विकेट गुमाएर पनि २०० भन्दा बढी रन बनाउने अफगानिस्तान विश्वकै पहिलो टोली बनेको छ। यो अफगानिस्तानको टी-२० इतिहासकै तेस्रो ठूलो योगफलसमेत हो।
सिकन्दर राजाको शतक, तर जिम्बावे पराजित
२२२ रनको कठिन लक्ष्य पछ्याएको जिम्बावेले पनि आधी खेल (१० ओभर) सम्म ८५ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो।
तर, कप्तान सिकन्दर राजाले अविश्वसनीय जवाफी इनिङ्स खेल्दै खेललाई रोमाञ्चक बनाए। राजाले ५ चौका र ९ छक्का प्रहार गर्दै आफ्नो दोस्रो टी-२० अन्तर्राष्ट्रिय शतक पूरा गरे।
यद्यपि, उनको एक्लो लडाइँ टोलीलाई जिताउन पर्याप्त भएन र अन्ततः अफगानिस्तानले खेल आफ्नो पक्षमा पार्यो।
यस जितसँगै अफगानिस्तानले तीन खेलको शृङ्खलामा अपराजित २-० ले अगाडि रहँदै सिरिज कब्जा गरेको छ।
कात्तिक १३, २०८३ शुक्रबार १४:१६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।