सुदूरपश्चिमले टस जित्यो, विराटनगरलाई ब्याटिङको निम्तो
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार वर्षा र प्राविधिक कारण करिब चार घण्टा ढिलाइ भएको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर विराटनगर किंग्सविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
मैदानको अवस्था र बाउन्ड्रीको विषयलाई लिएर उत्पन्न अन्योल लामो छलफलपछि सहमति जुटेसँगै खेल ५-५ ओभरमा खेलाइँदै छ। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
तालिकाअनुसार शनिबार साँझ ५ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण प्रभावित भएको थियो। आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले सुरुमा खेलको टस साँझ ७:२५ बजे गरी ७:४१ बाट खेल सुरु गर्ने तालिका तय गरेको थियो।
तर, मैदान ओसिलो रहेका कारण खेलाडीको सुरक्षामा जोखिम रहेको र बाउन्ड्री लाइन छोट्याइएको विषयमा असहमति राख्दै सुदूरपश्चिमका कप्तान ऐरी टसका लागि नआएपछि खेल अन्योलमा परेको थियो। क्यानका पदाधिकारी, म्याच रेफ्री र टोली व्यवस्थापनबीच मैदानमै लामो संवाद भएको थियो।
संवादपछि सहमति जुटेसँगै सुदूरपश्चिम मैदान उत्रिन तयार भयो। जारी प्रतियोगितामा सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ। यसअघि खेलेका दुई खेलमध्ये पहिलो खेल लुम्बिनीसँग हारेको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो। दुई खेलबाट एक जित र एक हारसहित सुदूरपश्चिम तालिकाको पाँचौँ स्थानमा छ।
यता विराटनगर किंग्स भने प्रतियोगितामा पहिलो जित निकाल्ने दबाबमा छ। पहिलो खेलमा चितवनसँग पराजित भएको विराटनगरले आफ्नो दोस्रो खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो।
कात्तिक १४, २०८३ शनिबार २१:३३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।