वर्षा रोकिएपछि त्रिवि मैदान तयार, विराटनगर र सुदूरपश्चिमबीच ५-५ ओभरको खेल तय
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच ५-५ ओभरको खेल हुने भएको छ। वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार हुने एनपिएलका खेलहरू प्रभावित भएका छन्।
यसअघि लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल रद्द भएको थियो। उक्त खेल हुन नसकेपछि दुवै टोलीले १-१ अंक बाँडेका थिए। पूर्वनिर्धारित तालिकाअनुसार साँझ ५ बजे हुनुपर्ने शनिबारको दोस्रो खेल पनि वर्षाका कारण अन्योलमा परेको थियो।
वर्षा रोकिएपछि ग्राउन्ड स्टाफको कठिन परिश्रमपछि मैदान खेलयोग्य बनेसँगै नयाँ तालिका तय गरियो। जसअनुसार अब शनिबारको लागि तय भएको दोस्रो खेल ‘कट अफ’ समय साँझ ७:४१ बजे सुरु हुनेछ। दुई इनिङ्सको बीचमा जम्मा १० मिनेटको ब्रेक रहनेछ।
खेलका लागि स्कोर बोर्डतर्फको दोस्रो विकेट प्रयोग गरिएको छ भने रेडबुल जोनतर्फको बाउन्ड्री छोटो बनाइएको छ। मैदानको अवस्था निरीक्षण गरेपछि अम्पायर, म्याच कमिस्नर र दुवै टोलीका कप्तानबीचको छलफलपश्चात् निर्धारित २० ओभरबाट १५ ओभर घटाएर खेल सञ्चालन गर्ने निर्णय गरिएको हो।
जारी तेस्रो संस्करणमा दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्स लगातार दोस्रो जितको खोजीमा हुनेछ भने विराटनगर किंग्स भने प्रतियोगितामा पहिलो जित निकाल्ने दाउमा छ। दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोर्दै सुदूरपश्चिम पाँचौं स्थानमा रहेको छ भने खेलेका दुवै खेलमा पराजय भोगेको विराटनगरले अहिलेसम्म खाता खोल्न सकेको छैन।
कात्तिक १४, २०८३ शनिबार १९:४५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।