लगातारको वर्षाले त्रिवि मैदान जलमग्न : आज खेल हुने सम्भावना न्यून, टिकटको रकम फिर्ताबारे छलफल हुने
काठमाडौं : लगातारको वर्षा र ढल निकासमा आएको समस्याका कारण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान जलमग्न बनेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेल सञ्चालन गर्न निकै चुनौतीपूर्ण बनेको छ।
नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहका अनुसार निर्माण कार्यका क्रममा ड्रेनेज अवरुद्ध हुनुका साथै बाहिरको पानी ठूलो मात्रामा मैदानभित्र पसेपछि समस्या जटिल बनेको हो।
"बाहिरबाट ठूलो मात्रामा पानी मैदानभित्र प्रवेश गरेपछि समस्या भएको हो। निर्माण कार्यका क्रममा ड्रेनेजसमेत अवरुद्ध हुँदा पानी निकासमा कठिनाइ भएको छ। बिहानैदेखि पानी निकासका लागि आवश्यक प्रयास गरिरहेका छौँ । तर लगातारको वर्षाका कारण मैदानलाई खेल्न योग्य बनाउन चुनौती भइरहेको छ," उनले भने।
बिहानैदेखि जेसीभी प्रयोग गरी ३ नम्बर गेटतर्फको अवरोध हटाइएको छ भने मैदानभित्र जमेको पानी निकाल्न ५ देखि ६ वटा मोटर र खाल्डो खनेर निकासको व्यवस्था मिलाइएको छ। साथै, मुलपानीलगायतका स्थानबाट अतिरिक्त सुपर सोपर र अन्य आवश्यक उपकरणहरू समेत मगाइएको छ।
उपाध्यक्ष सिंहले आजको खेल सञ्चालन हुने सम्भावना निकै न्यून रहेको बताएका छन् । मौसम सफा भएर ५ देखि ७ घण्टा घाम वा सुक्खा समय पाएमा मात्र भोलिको खेलका लागि मैदान तयार गर्न सकिने उनको भनाइ छ।
"आजको खेल सञ्चालन गर्न निकै गाह्रो छ। सम्भावना पनि न्यून छ," उनले भने, "मौसम सफा भएर पाँचदेखि सात घण्टासम्म समय पाए भोलिको खेलका लागि मैदान तयार पार्ने प्रयास गर्न सकिन्छ।"
यसैबीच, खेल प्रभावित भएपछि टिकटको रकम फिर्ता गर्नुपर्ने भन्दै समर्थकहरूले उठाएको विषयमा पनि उनले प्रतिक्रिया दिएका छन् । खेल हेर्न नपाएका दर्शकको माग जायज रहेको उल्लेख गर्दै टिकटसम्बन्धी विषयमा आयोजकले आवश्यक निर्णय लिनुपर्ने उनले बताए।
कात्तिक १४, २०८३ शनिबार १४:२६:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।