‘घर पुग्ने हतारमा जीवन नगुमाऔँ’

‘घर पुग्ने हतारमा जीवन नगुमाऔँ’
एआईको सहयोगमा बनाइएको तस्बिर

आर्थिक वर्ष २०८२/८३ मा सडक दुर्घटनामा देशभर २ हजार ७०७ जनाको ज्यान गयो। यो अघिल्लो वर्षभन्दा १५८ जना बढी हो। दशैं, तिहार र छठमा सडकको चाप थपिँदा यो जोखिम अझ गहिरिन्छ।

बडादशैंको घटस्थापना लागेसँगै बसपार्कमा भीड बढ्न थालेको छ। यसवर्ष दशैंमा काठमाडौंबाट करिब १५ लाख यात्रु बाहिरिने प्रक्षेपण गरिएको छ। सबैको गन्तव्य एउटै हो: घर, टीका र परिवार।

तर यही यात्रा कतिपय परिवारका लागि अन्तिम यात्रा बन्ने गरेको छ। ढोकामा पर्खिरहेको परिवारसमक्ष गाडी पुग्नुभन्दा पहिले दुर्घटनाको खबर पुग्छ।

नेपाल प्रहरीको तथ्यांकअनुसार आव २०८२/८३ मा २ हजार ७०७ जनाको मृत्यु र ७ हजार ८०४ जना गम्भीर घाइते भए। त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा २ हजार ५४९ जनाले ज्यान गुमाएका र ६ हजार ९७६ जना गम्भीर घाइते भएका थिए।

यसरी एक वर्षमै मृतकको सङ्ख्या करिब ६ प्रतिशत र गम्भीर घाइतेको सङ्ख्या करिब १२ प्रतिशतले बढ्यो। आव २०८०/८१ मा मृतक २ हजार ३६९ जना थिए। त्यसको तुलनामा दुई वर्षमा मृत्यु करिब १४ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको सुरुवात पनि राम्रो छैन। साउन १ देखि असोज २० गतेसम्म देशभर ६ हजार १६४ सवारी दुर्घटनामा ५०१ जनाको मृत्यु र ९ हजार ९७९ जना घाइते भएका छन्। मृतकमा ३७१ पुरुष, ९९ महिला, २१ बालक र ९ बालिका छन्। यो हिसाबले दैनिक औसत ६ जनाले ज्यान गुमाइरहेका छन्।

यी दुर्घटनामा सबैभन्दा बढी जोखिममा मोटरसाइकल छन्। चालु आवको यही अवधिमा दुर्घटनामा संलग्न सवारीसाधनमध्ये ५ हजार ७३२ वटा, अर्थात् करिब ६० प्रतिशत मोटरसाइकल थिए। गत आर्थिक वर्षमा पनि यो अनुपात करिब ५९ प्रतिशत थियो।

प्रदेशस्तरका तथ्याङ्कले पनि चित्र त्यही देखाउँछन्। सुदूरपश्चिम प्रदेशमा आव २०८२/८३ मा १ हजार ७७३ दुर्घटनामा २०५ जनाको मृत्यु भयो। अघिल्लो वर्ष १ हजार २०३ दुर्घटनामा १९२ जनाको मृत्यु भएको थियो।

कर्णालीमा प्रदेशमा आव २०८२/८३ मा १ हजार १९७ दुर्घटनामा १३५ जनाको मृत्यु र २ हजार ३०५ जना घाइते भए। अघिल्लो वर्ष ९६८ दुर्घटनामा १३९ जनाको मृत्यु भएको थियो। मृत्यु केही घटे पनि दुर्घटनाको सङ्ख्या उल्लेख्य बढेको छ।

काठमाडौं उपत्यकामा आव २०८२/८३ सुरु भएपछि चैत मसान्तसम्मका नौ महिनामा १७४ जनाको मृत्यु भएको तथ्यांक छ।

​चाडपर्वमा जोखिम किन बढ्छ
तीव्र गति र ओभरटेक :
छिटो पुग्ने होडबाजी र बढी फेरा मार्ने लोभमा चालकले तीव्र गतिमा सवारी चलाउने तीव्र गतिमा सवारी चलाउने गर्छन्। साँघुरा सडक, घुम्ती, उकालो-ओरालो र कम दृश्यता भएका ठाउँमा गरिएको ओभरटेक ठोक्किने, सडकबाट खस्ने र पल्टिने दुर्घटनाको प्रमुख कारण हो।

क्षमताभन्दा बढी यात्रु : बस, माइक्रो र जिपमा क्षमताभन्दा बढी यात्रु र छतमा सामान तथा यात्रु बोक्ने प्रवृत्ति देखिन्छ। यसले सवारीको सन्तुलन र नियन्त्रण खल्बल्याउँछ। दुर्घटना भएमा मृतक र घाइतेको सङ्ख्या पनि बढी हुन्छ।

चालकको थकान : चाडपर्वमा आम्दानी बढाउन धेरै चालक पर्याप्त आराम नगरी लामो समय गाडी चलाउँछन्। एकाग्रता घट्छ, प्रतिक्रिया ढिलो हुन्छ र निद्रा लाग्ने जोखिम बढ्छ। रात्रिकालीन लामो यात्रामा यो झन् गम्भीर हुन्छ। सुदूरपश्चिमका ट्राफिक अधिकारीहरूले पनि दुई चालक भए पनि 'ननस्टप' चलाउँदा आराम नपुग्ने समस्या औँल्याएका छन्।

मादक पदार्थ र लापरबाही : मापसे, मोबाइल प्रयोग र हेल्मेटको बेवास्ता जोखिमपूर्ण छ। यो मोटरसाइकल चालकका लागि अझ घातक हुन्छ।

सडक र मौसम : पहाडी राजमार्ग साँघुरा र घुमाउरा छन्। कतिपयमा खाल्डाखुल्डी, कमजोर किनारा, अपर्याप्त सुरक्षा बार, अस्पष्ट सङ्केत र पहिरोको जोखिम छ। यसवर्ष दशैं ढिलो परेकाले मनसुनले बिगारेका सडक पूरै मर्मत नभई यात्रुको चाप बढ्दैछ।

सवारीको प्राविधिक अवस्था : ब्रेक, टायर, स्टेयरिङ र बत्तीको नियमित जाँच नहुँदा पुराना र कम मर्मत भएका सार्वजनिक सवारी जोखिम बन्छन्।

रात : गत दशैंमा काठमाडौं उपत्यकामा घटस्थापनादेखि असोज २६ गतेसम्म १७५ सवारी दुर्घटना भए र ९ जनाको मृत्यु भयो। ट्राफिक प्रहरीका प्रवक्ता नरेशराज सुवेदीका अनुसार अधिकांश दुर्घटना रातिको समयमा भएका थिए।

तीन पर्व, तीन फरक जोखिम
दशैंमा लामो दूरीका बस, माइक्रो, जिप र निजी सवारीको चाप सबैभन्दा बढी हुन्छ। जोखिम जाने यात्रामा मात्र हुँदैन। टीका लगाएर काठमाडौं फर्कने भीडभाडमा थकित यात्रु र चालक दुवै हतारमा हुन्छन्।

२०७६ सालमा सिन्धुपाल्चोकको सुकुटेमा गाउँबाट काठमाडौं फर्कंदै गरेको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो र १०० भन्दा बढी घाइते भएका थिए। दशैं यात्राका ठूला दुर्घटनाको सूचीमा २०७१ मा दोटीको सेती नदीमा खसेको बसमा ३० जनाको मृत्यु र २०७८ मा मुगुको पिन्ना झ्यारीखोलामा ३२ जना यात्रुको मृत्यु पनि पर्छन्।

यी सबैमा गति, क्षमताभन्दा बढी यात्रु र प्राविधिक खराबी कुनै न कुनै रूपमा देखिएका छन्।

देउसी-भैलो, बजार र आफन्तकहाँको आवतजावतले साँझ-रात सडकमा पैदलयात्री र मोटरसाइकल बढ्छन्। गत तिहारमा भने अघिल्ला वर्षहरूको तुलनामा काम दुर्घटना भएको थियो।

तिहारको दिन उपत्यकामा १६ वटा सामान्य दुई पाङ्ग्रे सवारी दुर्घटना मात्र रेकर्ड भए। मापसे गरी सवारी चलाएको कसुरमा १९९ जना कारबाहीमा परे र १५ जना सामान्य घाइते भए। ट्राफिक प्रहरीको सक्रियताले ठूला दुर्घटना कम भएको उल्लेख छ।

छठमा मधेश प्रदेश र तराईका जिल्लामा श्रद्धालु नदी, पोखरी र घाटतर्फ निस्कन्छन्। बिहान-साँझ पैदलयात्री, साइकल, मोटरसाइकल र ई-रिक्सा एकैसाथ सडकमा हुन्छन्। सडक दुर्घटनाबाट हुने मृत्यु मधेश प्रदेशमा सबैभन्दा बढी छ। बालबालिका, ज्येष्ठ नागरिक र महिलाको सुरक्षामा विशेष ध्यान चाहिन्छ।

सडक दुर्घटना यातायात व्यवस्थापनको समस्या मात्र होइन। यसले अकाल मृत्यु, स्थायी अपाङ्गता, उपचार खर्च र आश्रित परिवारको आम्दानी गुमाउने समस्या ल्याउँछ। बालबालिकाको पढाइ र वृद्ध आमाबुबाको सहारासम्म प्रभावित हुन्छ।

एसियन ट्रान्सपोर्ट अब्जर्भेटरीको सन् २०२५ को प्रतिवेदनलाई उद्धृत गर्दै नेपालमा सडक दुर्घटनाको आर्थिक क्षति कुल गार्हस्थ्य उत्पादनको करिब ७ प्रतिशत बराबर रहेको भनिएको छ। घर फर्कंदै गरेको परिवार दुर्घटनामा पर्दा त्यसको पीडा गाउँभरि फैलिन्छ। सडक सुरक्षा त्यसैले राष्ट्रिय प्राथमिकताको विषय हो।

कसको के जिम्मेवारी
चालक र यातायात व्यवसायी :
चालकले गतिसीमा मान्ने, असुरक्षित ओभरटेक नगर्ने, मापसे नगर्ने र थकान लाग्दा रोकिने गर्नुपर्छ। व्यवसायीले लामो दूरीमा वैकल्पिक चालक राख्ने, कार्यसमय मिलाउने र ब्रेक, टायर तथा बत्तीको जाँच गराएर मात्र सवारी सञ्चालन गर्नुपर्छ। बढी आम्दानीको लोभमा क्षमताभन्दा बढी यात्रु नराख्ने जिम्मा पनि उनीहरूकै हो।

यात्रु : क्षमताभन्दा बढी यात्रु भरिएको, छतमा यात्रु राखिएको वा चालक थकित देखिएको सवारीमा नचढ्ने। उपलब्ध भए सिटबेल्ट लगाउने र मोटरसाइकलमा गुणस्तरीय हेल्मेट लगाउने। चालकलाई 'छिटो पुर्याइदेऊ' भनेर दबाब नदिने। जोखिमपूर्ण सञ्चालन देखिए ट्राफिक प्रहरीलाई खबर गर्ने।

ट्राफिक प्रहरी : राजमार्गका दुर्घटना सम्भावित स्थान, बसपार्क र भीडभाडका क्षेत्रमा निगरानी बढाउने। गति नियन्त्रण, श्वास परीक्षण, सवारी अवस्था जाँच र यात्रु क्षमताको अनुगमन गर्ने। उद्धार संयन्त्रलाई तयारी अवस्थामा राख्ने।

सडक विभाग र सम्बन्धित निकाय : चाडपर्वअघि प्रमुख राजमार्गको निरीक्षण गरी खाल्डा पुर्ने, सडक किनारा संरक्षण गर्ने, पहिरो हटाउने, सुरक्षा बार, सङ्केत र प्रकाशको व्यवस्था मिलाउने।

स्थानीय सरकार र समुदाय : बजार, बस्ती, विद्यालय वरपर र धार्मिक स्थल जाने सडकमा पैदलयात्रीको सुरक्षा सुनिश्चित गर्ने। छठ घाट वरपर पार्किङ, पैदल मार्ग, अस्थायी ट्राफिक व्यवस्थापन र स्वयंसेवक परिचालन गर्न सकिन्छ।

कर्णालीका १० वटै जिल्लामा चाडपर्वलक्षित सुरक्षा योजना २०८३ लागू गरिएको छ। यसमा विशेष चेकजाँच, मोबाइल गस्ती, आकस्मिक उद्धार टोली र यात्रु सहायता समावेश छन्।

मुख्य बजार, व्यस्त स्थान र दुर्घटना सम्भावित स्थानमा मोटरसाइकलमा दुई जनाको प्रहरी टोली खटाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरीले नयाँ बसपार्क, नागढुङ्गा र कोटेश्वरजस्ता नाकामा सवारी अवस्था जाँच, मापसे जाँच र नियम पालनाको निगरानी बढाएको छ।

तर यस्ता अभियान प्राय: चाडपर्वमै सीमित हुन्छन्। समस्याको पहिचान र समाधानका सुझाव त पहिल्यै भइसकेका छन्। सङ्घीय संसद्को उपसमितिले २०७७ सालमा सवारी दुर्घटना न्यूनीकरणबारे अध्ययन गरेर सुझाव दिएको थियो।

तर त्यो प्रतिवेदन पूर्वाधार विकास मन्त्रालयमा थन्किएको भनिएको छ। दुर्घटना भएपछि केही दिन छानबिन र चर्चा हुन्छ, त्यसपछि सबै पुरानै लयमा फर्किन्छ। चाडपर्वको तयारीलाई वर्षभर चल्ने सडक सुरक्षा प्रणालीको हिस्सा बनाउनुपर्ने कारण यही हो।

चाडपर्वका लागि सडक सुरक्षा कार्ययोजना
दशैं, तिहार र छठ सुरु हुनुअघि सरकारी निकाय, यातायात व्यवसायी, ट्राफिक प्रहरी, सडक विभाग र स्थानीय तहबीच समन्वय गरी विशेष कार्ययोजना लागू गर्नुपर्छ।

•    प्रमुख राजमार्गको सुरक्षा निरीक्षण र पहिरो, खाल्डा तथा सडक किनाराको मर्मत।
•    लामो दूरीका सार्वजनिक सवारीको ब्रेक, टायर, बत्ती र स्टेयरिङको जाँच। जाँच नगराएका सवारीलाई चाडपर्वको फेरा मार्न नदिने।
•    चालकको कार्यसमय र विश्रामको अनुगमन र लामो रुटमा वैकल्पिक चालक अनिवार्य गर्ने।
•    पर्याप्त अतिरिक्त बस र टिकट व्यवस्था मिलाउने। यात्रुको चाप व्यवस्थापन गर्न नसक्दा नै क्षमताभन्दा बढी यात्रु र छत यात्रा बढ्छ।
•    गति, मापसे र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिमा नाकानाकामा निरन्तर र कडा कारबाही।
•    राजमार्गका सुरक्षित स्थानमा चालक र यात्रुका लागि विश्राम स्थल।
•    दुर्घटना सम्भावित स्थान पहिचान गरी चेतावनी सङ्केत, गति नियन्त्रण र प्रकाशको व्यवस्था। सम्भव भएका ठाउँमा सीसीटीभी र स्वचालित गति निगरानी।
•    मुख्य राजमार्गमा एम्बुलेन्स, प्राथमिक उपचार र आकस्मिक उद्धार टोली तयारी अवस्थामा राख्ने। घाइतेलाई चाँडो अस्पताल पुर्याउन सके मृत्यु घटाउन सकिन्छ।

पर्व मनाउने हतारभन्दा सुरक्षित फर्कने जिम्मेवारी ठूलो
सडक सुरक्षा ट्राफिक प्रहरी वा सरकारको मात्र जिम्मेवारी होइन। चालक, यात्रु, यातायात व्यवसायी, सडक निर्माण र मर्मतसम्भार गर्ने निकाय र आम नागरिक सबैको साझा दायित्व हो। दुर्घटना भएपछि राहत र क्षतिपूर्ति आवश्यक छ। तर गुमेको मानवीय जीवनको पूर्ण क्षतिपूर्ति कहिल्यै सम्भव हुँदैन।

केही मिनेट छिटो पुग्ने हतारले कसैको जीवन नटुङ्गियोस्। बढी यात्रु बोक्ने र बढी कमाउने प्रतिस्पर्धाले कुनै परिवारको खुसी नखोसियोस्। सुरक्षित सडक, जिम्मेवार चालक, सचेत यात्रु, व्यवस्थित सेवा र निरन्तर निगरानी भए चाडपर्वमा हुने धेरै दुर्घटना रोक्न सकिन्छ।

(यातायात क्षेत्रसँग सम्बन्धित इन्जिनियर सापकोटा यातायात, सडक पूर्वाधार वा यससँग सम्बन्धित इन्जिनियरिङ परामर्शदाता कम्पनीहरूमा परामर्शदाता वा प्राविधिक विज्ञ हुन्।)

असोज २८, २०८३ बुधबार १४:१७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।