"उपत्यकाको पानीको स्रोत जतिबेला पनि सुक्न सक्छ"
भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिको दोस्रो कार्यकाल हो यो । उनले भक्तपुर नगरपालिकामा पोखरी ब्युँताउने काम गरिरहेका छन् । भक्तपुर नगरपालिकामा मात्रै ५० पोखरी मध्ये ३० भन्दा बढी पोखरी उनकै कार्यकालमा ब्युँतिए । पोखरीमा पानी भरण आकाशे पानी कहिले काहीँ बोरिङको पानीबाट व्यवस्थापन गर्दै आएका प्रजापतिसँग खानेपानी र पोखरीमा पानीको विषयमा प्रजु पन्तले गरेको कुराकानी :
भक्तपुर नगरपालिकाले खानेपानी व्यवस्थापन कसरी गरिरहेको छ?
पानीको व्यवस्थापन एकातिरबाट मात्रै होइन धेरै तरीकाले गरेका छौँ । पहिलो मुहान पोखरीबाट चाँगुनारायणबाट पाइपबाट ल्याएका छौँ । पहिले कम जनसंख्या हुँदा पुग्थ्यो तर अहिले पुग्दैन । पहिलेका ढुंगेधारा हरू इनारहरूमा केही पानी आउँछन् त्यहाँ बाट अर्को तेस्रो भनेको मेलम्चीको पानी भएको। छ । मेलम्चीको पानीले सहज बनाएको छ । नत्र ट्याङ्करले पानी वितरण गरेका थियौँ । अहिले ट्याङ्करले नै पानी वितरण चाहिँ गर्नु परेको छैन । तर हामीले पानी नपुगेको बेलामा बोरिङ पनि गरिरहेका छौँ । केही जग्गा नै किनेर ५ लाख लिटरको बोरिङ गरेर पानी वितरण गरेका छौँ ।
खानेपानीको त वितरण भइरहेको रहेछ हराइसकेका पोखरी ब्युँताउनु आफैँमा सङ्घर्ष थियो नै पानी चाहिँ कसरी भर्नु भएको छ ?
पोखरी भनेको सम्पदा हो। सम्पदा संरक्षण गर्ने क्रममा सहज रूपले गर्यौँ । कतिपय जटिल पनि भयो। कमल पोखरी ४२ साल देखि सेनासँग थियो। त्यहाँ कोही स्थानीय जान पाउँदैनथे। तीन वर्ष लगाएर कुरा गर्यौँ। प्रधानसेनापति सँग निरन्तर कुरा भएपछि उहाँहरूले बनाउनुस् भन्नु भयो। बनाउन त बनाइयो पानीकै समस्या भयो।
बर्खाकै पानीलाई व्यवस्थापन गरेर पोखरीमा राखेका छौँ। बर्खा बाहेक अन्य बेला भने पानीको सतह केही घट्छ। भक्तपुर क्याम्पस अघिको भाजुया पोखरी उत्खनन गर्यौँ। सुरुमा कसैले थाहा थियो भनेनन् तर उत्खनन गर्दा के थाहा भयो भने ८ सय वर्ष पुरानो काठ पायौँ। तल बालुवा राम्रो रहेछ। हामीले कालीमाटी राखेर पानी भर्यौँ। त्यहाँ बर्खाको पानी र तल बगरको बोरिङ गरेर सुरुमा पानी राख्यौँ। अहिले त्यहाँ माछा पालन छ। कहीँ चाहिँ बोरिङ कतै खोलाबाटै तानेर पोखरीमा भरेका छौँ ।
यस्ता पोखरीमा माछा पालन गरिएको छ, वर्षको दुई चार लाख माछा हामीले बेचेका छौँ। ३५ वटा जति साना ठूला पोखरीहरू बनेका छन्। पुरानै ढाँचामा फर्काएका छौँ। पानीको फेरि सांस्कृतिक पर्व आफ्नै हुन्छ। पोखरीको पानी चढाउनु पर्ने कतिपय जात्राहरू छन्। संस्कृतिसँग त जोडियो नै पोखरी बनाउँदा प्रदूषण नियन्त्रण हुने गर्मी पनि कम हुने रहेछ। त्यति मात्रै होइन पोखरी ब्युँताएपछि यहाँका कतिपय ढुंगेधारामा पानी रसाउन थालेको छ। पोखरी र ढुंगेधाराको सम्बन्ध रहेछ भन्ने यसले बुझाउँछ।
स्थानीय सरकार बलियो हुनुको परिणाम अतिक्रमित भएका पोखरीहरू ब्युँतिएको प्रमाणले देखाउँछ। पानीको स्रोत व्यवस्थापनका लागि तीन तहको सरकार मिलेर काम भएको छ की छैन?
पानीको व्यवस्थापन स्थानीय सरकारले मात्रै गर्न सक्दैन। एउटाको नगरको पानीको स्रोत अर्को पालिकामा छ। यसकारण समन्वय चाहिन्छ। प्रदेश र केन्द्रीय सरकारले समन्वयमा ध्यान दिनुपर्छ। मुख्य गरेर स्रोतलाई सुक्न नदिने, जलाधार क्षेत्र घोषणा गर्दिने र संरक्षणको जिम्मा पनि सेनालाई दिने। सेनालाई दिँदा अतिक्रमित हुन पाउँदैन। त्यस्तै मेलम्ची पानीलाई निरन्तरता दिने।
यही रफ्तारमा जनसंख्या बढ्यो भने मेलम्चीले पनि पुग्दैन। जनसंख्या धेरै बढेकाले पानीको व्यवस्थापनको लागि २० वर्ष पछि के गर्ने सोच्नु पर्छ। अर्को कुलेखानी जलविद्युतको पानी र सिस्नेरीको पानी ल्याउने काम गर्ने। सिस्नेरीको पानी हामी नगरप्रमुखहरू गएर हेरेका छौँ।
यति गर्यो भने पानीको लागि केही वर्ष व्यवस्थापन हुन सक्छ। तर जनसंख्या वृद्धिलाई त रोक्नै पर्छ। बसाइसराइ एकै ठाउँमा भयो। उपत्यकाका सेवा सुविधा अन्य शहरमा पनि पुर्याउनु पर्छ। शिक्षा, स्वास्थ्यदेखि अन्य सेवा सुविधा सबै यतै भएपछि जनसंख्या धेरै भयो, खानेपानीदेखि अन्य कुरा व्यवस्थापन गर्न असहज भयो। यसलाई व्यवस्थापन गर्न जरुरी छ।
भक्तपुरमा पनि राजकुलो रहेछ ब्युँताउन सकिन्छ ?
अहिले त धेरै गाह्रो छ तर असम्भव त छैन। धेरै घरहरू बनिसकेका छन्। पुरानै शैलीमा मठ मन्दिर बने। राजकुलोबाट पानी झारेको भन्ने देख्छौँ। पोखरी, हितिहरू यसैमा आधारित थिए। दीर्घकालीन योजनामा होला भनेर अहिले राजकुलो भएको स्थानको नक्सापास रोकेका छौँ। अहिले तत्काल नगरपालिकाको कुनै योजना नभएता पनि कुनै बेला बन्न सक्छ।
अलिकति पानी भन्दा पर जाऔँ, तपाईँहरूले कमलपोखरी सेनाको नियन्त्रणबाट ल्याउँदा धेरै सकस भएको थियो। स्थानीयले अतिक्रमित गरिसकेको पोखरी र क्षेत्र ल्याउन त झनै कष्ट होला। कसरी सहमत गराउनु भएको छ ?
यहाँ त सार्वजनिक जग्गाहरू पाँच किलो माछा दिएर पुरेकादेखि केही रकम बैना लिएर समेत बेचेका कुरा आयो। तर हामीले त्यो फर्कायौँ। त्यहाँ साँढे दुई रोपनी जग्गा छ, वडा कार्यालय, पोखरीदेखि शिशु स्याहार केन्द्र समेत छ। त्यही पानी बोरिङ पनि गरेका छौँ। हामीले फिर्ता दिनुस् भन्छौँ, यसमा कुनै लेनदेन हुँदैन। सरकारी र सार्वजनिक जग्गा जसकोमा, जतिसुकै पुस्तामा पुगे पनि त्यो नगरपालिकाकै मातहतमा आउँछ।
सार्वजनिक जग्गा कित्ताकाट भएको हुन सक्छ। यस्तो अवस्थामा चाहिँ ?
सुकुल ढोकामा ४२ सालको नापी अनुसार लालपुर्जामा ढुंगेधाराको निकास उल्लेख छ। त्यहाँ महादेवको मन्दिर भएको क्षेत्र पनि देखिन्छ। यति भएपछि हामीले यो जग्गा नगरपालिकाको हुने बतायौँ। अहिले हामीले यो जग्गा लियौँ। त्यसमा केही दिने भन्ने हुँदैन। सरकारी र सार्वजनिकमा लेनदेन हुँदैन। यस्तो ठाउँमा हिति हुनसक्छ पोखरी हुनसक्छ अथवा कुनै सम्पदा हुनसक्छ त्यसकारण यस्तो मामिलामा सरकार कडै हुनुपर्छ। कित्ताकाट भए पनि त्यो फिर्ता हुन्छ।
धेरैजसो पोखरी पनि यसरी नै ब्युँतिए है ?
हो नि।
पानीको मुहान संरक्षणको कुरा गर्नु भएको थियो। सुरुमा स्रोत संरक्षणमा के गर्नु पर्छ त ?
मुहान पोखरी भन्ने छेउमा भँगेरे डाँडामा रंगशाला बनाउने काम भइरहेको छ। यति धेरै रूख काटियो की मुहान सुक्ने सम्भावना छ। यसरी नै जंगल फडानी भयो भने उपत्यकाको मुहान जतिबेला पनि सुक्न सक्छ।
पालिकाहरूबिच अन्तरसम्बन्ध छ। सांस्कृतिक सम्बन्ध नै छ। जात्राका लिङ्गो ल्याउने उतैबाट हो। आवश्यकता अनुसार हामीले सम्पदाको संरक्षण गर्ने भनेर नियम बनाएका थियौँ।
जनसहभागिता गर्ने मान्छेको मात्रै हैन जीवजन्तुहरूको पनि संरक्षण गर्नु पर्छ। पानीको स्रोतलाई स्थानीय पालिका र संघ र प्रदेशले नै संरक्षण गर्नु पर्छ। अहिले धेरै भताभुङ्ग भयो। यसलाई व्यवस्थित गर्नु पर्ने तीनै तहका सरकारको काम हो।
सम्बन्धित समाचार
कात्तिक १०, २०८३ मंगलबार १७:००:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।