वर्षाले एनपीएलको पहिलो खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे

वर्षाले एनपीएलको पहिलो खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे

काठमाडौं : लगातारको वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान जलमग्न भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ। मैदान भिजेर हिलाम्मे भएकाले खेलमा टससमेत हुन सकेन।

खेल रद्द भएसँगै दुवै टोलीले एक-एक (१-१) अंक बाँडेका छन्। अंक बाँडेपछि ३ अंक जोडेको लुम्बिनी रनरेटका आधारमा तालिकाको दोस्रो र समान ३ अंकसहित चितवन तेस्रो स्थानमा उक्लिएका छन्।

तालिकाअनुसार आजै साँझ ५ बजे दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुने तालिका छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार वर्षा रोकिएर मैदान खेल्नयोग्य बनेको अवस्थामा कम्तीमा ५-५ ओभरको भए पनि खेल गराउने तयारी छ।

प्रतियोगितामा सुदूरपश्चिमको यो तेस्रो खेल हो। यसअघि खेलेका दुई खेलमध्ये उसले एकमा जित र एकमा हारको नतिजा निकालेको थियो। यता सुरुवाती दुवै खेल गुमाएको विराटनगर पनि आज तेस्रो खेल खेल्दै पहिलो जितको खोजीमा छ।

अंक तालिकामा लगातार दुई खेल जित्दै ४ अंक जोडेको कर्णाली याक्स शीर्ष स्थानमा यथावत् छ भने एक खेल खेलेको पोखरा एभेन्जर्स अझै अंकविहीन रहँदै पुछारमा छ।

कात्तिक १४, २०८३ शनिबार १३:१४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।