पानीमा डुब्यो त्रिवि क्रिकेट मैदान, एनपीएलका आजका दुवै खेल रद्द हुने जोखिम
काठमाडौं : काठमाडौं उपत्यकामा शुक्रबारदेखि जारी अविरल वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार तय भएका दुवै खेल प्रभावित हुने भएका छन्।
निरन्तरको झरीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान हिलाम्मे बनेपछि निर्धारित समयमा खेल सुरु हुने सम्भावना टरेको छ।
एनपीएल तालिकाअनुसार आज दिउँसो १२:३० बजे पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज तथा साँझ ५:०० बजे दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहका अनुसार वर्षाका कारण त्रिवि मैदानको अवस्था बिग्रिएको छ।
पिच र आउटफिल्ड कभरले ढाकिए पनि मिडिया बक्स र भीआईपी कक्षको बीच भागबाट पानीको भेलसँगै माटो र लेदो मैदानभित्र पसेको छ। क्यानले वर्षा रोकिएपछि मात्र मैदानको अवस्था निरीक्षण गरेर खेल सञ्चालन वा रद्दबारे औपचारिक निर्णय लिने जनाएको छ।
दिउँसो २ बजेसम्म वर्षा हुने पूर्वानुमान
मौसमविद् विनोद पोखरेलका अनुसार काठमाडौंमा आज दिउँसो १ देखि २ बजेसम्म वर्षा जारी रहने सम्भावना छ। त्यसपछि मात्र मौसममा क्रमिक सुधार आउने अनुमान गरिएको छ।
वर्षा रोकिए पनि भिजेको मैदानलाई खेल्नयोग्य बनाउन कम्तीमा दुईदेखि तीन घण्टा लाग्नेछ। भिजेको र हिलाम्मे मैदानमा बलर तथा फिल्डर चिप्लिएर घाइते हुने जोखिम उच्च रहन्छ।
साँझ ५ बजे दोस्रो खेलको तालिका रहेकाले पहिलो खेलमा कम्तीमा ५-५ ओभर खेलाउन पनि दिउँसो करिब ३:४५ देखि ३:५५ बजेभित्र खेल सुरु भइसक्नुपर्छ। दिउँसो १ बजेसम्म वर्षा नरोकिए पहिलो खेल रद्द हुने सम्भावना बढी छ।
दिउँसो वर्षा रोकिएर मैदान सुकाउन सकिए साँझको दोस्रो खेल हुने सम्भावना जीवितै रहनेछ। एनपीएलमा लिग चरणका खेलका लागि ‘रिजर्भ डे’ को व्यवस्था नगरिएकाले खेल हुन नसके दुवै टोलीले एक-एक अंक बाँड्नुपर्नेछ।
कात्तिक १४, २०८३ शनिबार ०९:५१:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।