‘अस्वीकार्य अपमान’ गरेको भन्दै जेमी कारागरमाथि मुद्दा हाल्दै एस्टन भिल्ला
काठमाडौं : इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले पूर्वखेलाडी तथा फुटबल विश्लेषक जेमी कारागरविरुद्ध ‘अस्वीकार्य अपमान’ गरेको आरोपमा मुद्दा हाल्ने भएको छ।
क्लब र आफ्ना समर्थकहरूलाई होच्याएर अपमानजनक अभिव्यक्ति दिएको भन्दै भिल्लाले उनीविरुद्ध अदालतमा कानुनी कारबाही अघि बढाउने निर्णय गरेको हो।
शुक्रबार सामाजिक सञ्जालमार्फत क्लबका अध्यक्ष नासेफ साविरिसद्वारा जारी विज्ञप्तिमा कारागरको अभिव्यक्तिको कडा शब्दमा भर्त्सना गरिएको छ।
अध्यक्ष साविरिसले इङ्लिस तथा युरोपेली फुटबलमा क्लबको बढ्दो उचाइ र प्रतिष्ठामा आँच पुर्याउने कुनै पनि प्रयासलाई आफूहरूले चुपचाप नसहने स्पष्ट पारेका छन्।
यो विवाद ‘स्टिक टु फुटबल’ नामक पोडकास्टमा कारागरले दिएको विवादास्पद अभिव्यक्तिपछि सुरु भएको हो। म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक माइकल क्यारिक दबाबमा परेपछि कारागरले भिल्लाका प्रशिक्षक उनाइ इम्री युनाइटेड जान लालायित हुने दाबी गरेका थिए।
सोही क्रममा उनले भिल्लाका समर्थकहरूलाई अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए र "एस्टन भिल्ला कहिल्यै पनि म्यानचेस्टर युनाइटेड बन्न सक्दैन" भनेका थिए।
आफ्नो अभिव्यक्तिको चौतर्फी विरोध भएपछि कारागरले त्यो केवल 'मजाक' भएको र समर्थकहरूको सामाजिक सञ्जाल आक्रमणको प्रतिक्रिया मात्र भएको भन्दै बचाउ गरेका छन्।
उनले प्रशिक्षक इम्री र भिल्लाको सधैँ प्रशंसा गर्ने गरेको प्रष्टीकरण दिए पनि क्लबले भने यसलाई गम्भीर रूपमा लिँदै औपचारिक रूपमै कानुनी बाटो रोज्ने अडान लिएको छ।
कात्तिक १४, २०८३ शनिबार ०८:५७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।