भोट चोरी आरोपमा संसद्मा बहस गर्न अमित शाहको चुनौती, भने- ‘खेल हारेपछि अम्पायरलाई दोष दिए’
एजेन्सी : विपक्षी दलहरूले शनिबार मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध 'सार्वजनिक महाअभियोग' लगाउने तयारी गरिरहेका बेला केन्द्रीय गृहमन्त्री अमित शाहले ‘भोट चोरी’ को आरोपबारे संसद्को विशेष अधिवेशन बोलाएर छलफल गर्न भारतीय जनता पार्टी (भाजपा) तयार रहेको बताएका छन्। तर, कांग्रेस नेता राहुल गान्धीले भने यस विषयमा संसद्मा छलफल गर्न नचाहने उनको दाबी छ।
शाहले शुक्रबार लखनउमा पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भने, "म भोट चोरीका आरोपबारे छलफल गर्न संसद्को विशेष अधिवेशन बोलाउन तयार छु। तर राहुल बाबा कहिल्यै सहमत हुने छैनन्। उनी संसद्मा यस विषयमा छलफल गर्ने छैनन्, बरु सडकमा उपद्रव मच्चाउनेछन्।"
उनले राहुल गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई संसद्मा आएर सबै आरोपबारे छलफल गर्न चुनौतीसमेत दिए।
"म राहुल (गान्धी) र अखिलेश (यादव) लाई संसद्भित्रै प्रत्येक आरोपबारे छलफल गर्न चुनौती दिन्छु। निर्वाचन आयोगमाथि लगाइएका आरोपहरू निराधार छन्। तर उनीहरू छलफल चाहँदैनन्; उनीहरू सडकमा नाटक गर्न चाहन्छन्," शाहले थपे।
शाहको यो अभिव्यक्ति विपक्षी दलहरूले शनिबार प्रमुख निर्वाचन आयुक्त (सीईसी) ज्ञानेश कुमारविरुद्ध ‘सार्वजनिक महाभियोग’ कार्यक्रम गर्ने र आइतबार नयाँदिल्लीस्थित रामलीला मैदानमा बृहत् विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला आएको हो। विपक्षी दलहरूले उक्त प्रदर्शनलाई ‘लोकतन्त्रको विनाश’ विरुद्धको आन्दोलन भनेका छन् ।
इन्डिया गठबन्धनले शुक्रबार कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेको निवासमा 'सार्वजनिक महाअभियोग' कार्यक्रम गर्ने योजना बनाएको थियो, तर वर्षाका कारण उक्त कार्यक्रम स्थगित गर्नुपरेको थियो।
विपक्षी दलहरूले मतदाता नामावलीको विशेष गहन पुनरीक्षणलाई लिएर मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारमाथि आक्रमण तीव्र पारेका छन्। उनीहरूले यो अभ्यास सत्तारूढ भाजपालाई फाइदा पुर्याउन निर्वाचन आयोगले रणनीतिक रूपमा गरेको मतदाता नामावली सफाइ अभियान भएको आरोप लगाएका छन्।
भाजपाको राज्य कार्यसमितिको दिनभर चलेको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री शाहले भाजपाको प्रदर्शनलाई कांग्रेस र समाजवादी पार्टी (सपा) सँग तुलना गरे। उनले ओडिशा र पश्चिम बङ्गाल जस्ता राज्यहरूमा भाजपाले सत्ता प्राप्त गरेको प्रसङ्गसमेत उल्लेख गरे।
यसको विपरीत, अखिलेश यादव र राहुल गान्धीले आफ्ना पार्टीहरूलाई सत्तामा पुर्याउन नसकेको उनले बताए। समाजवादी पार्टीले पछिल्लोपटक मुलायम सिंह यादव जीवित रहँदा चुनाव जितेको उल्लेख गर्दै उनले अखिलेशमाथि निशाना साँधे ।
“तपाईंहरूले आफ्नै बलमा एउटा पनि चुनाव जित्नुभएको छैन। राहुल बाबाको हकमा पनि यही कुरा लागू हुन्छ,” शाहले भने।
उनले चुनावमा पराजित भएपछि विपक्षी दलहरूले आफ्नो कमजोरी स्वीकार गर्नुको सट्टा निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउने गरेको आरोप लगाए।
उनले भने, "खेल हारेपछि उनीहरू अम्पायरलाई दोष दिइरहेका छन् र भोट चोरीको आरोप लगाइरहेका छन्।"
कात्तिक १४, २०८३ शनिबार ११:१८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।