अमेरिकाद्वारा युक्रेनलाई ५०० वटा ‘प्याट्रियट’ क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति, आपूर्तिमा भने वर्षौँ लाग्न सक्ने
एजेन्सी : रुसको बढ्दो हवाई आक्रमणबाट बच्न अमेरिकाले युक्रेनलाई ५०० वटा अत्याधुनिक ‘प्याट्रियट’ क्षेप्यास्त्र बिक्री गर्ने प्रस्ताव स्वीकृत गरेको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार कुल २.१ अर्ब अमेरिकी डलर लागत बराबरको यो हतियार खरिदका लागि क्यानडा र युरोपेली सहयोगी राष्ट्रहरू (जर्मनी, नर्वे तथा युरोपेली युनियन) ले पूर्ण आर्थिक सहयोग उपलब्ध गराउनेछन्।
यसमा अमेरिकी सरकारी बजेट खर्च हुने छैन।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी निर्णयको स्वागत गरे पनि यी क्षेप्यास्त्र युक्रेन आइपुग्न "कैयौँ वर्ष" लाग्न सक्ने चेतावनी दिएका छन्।
अमेरिकी कम्पनी लकहिड मार्टिनले नयाँ उत्पादन गरेर मात्र आपूर्ति गर्ने र वार्षिक उत्पादन क्षमता सीमित भएकाले तत्काल हस्तान्तरण सम्भव नदेखिएको हो।
जाडोयाम नजिकिँदै गर्दा रुसले युक्रेनका प्रमुख ऊर्जा पूर्वाधारहरूलाई लक्षित गरी हवाई आक्रमण तीव्र पारेकाले युक्रेनलाई यी क्षेप्यास्त्रको तत्काल आवश्यकता रहेको जेलेन्स्कीले बताएका छन्।
रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसाल्न ‘प्याट्रियट’ प्रणालीलाई सबैभन्दा प्रभावकारी मानिन्छ।
कात्तिक १४, २०८३ शनिबार १२:३७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।