साइबर चोरीपछि बाइन्यान्सद्वारा ३ अर्ब डलर रोक्का : क्षतिको भरपाई गर्न ६.३ अर्बको कोष, तर बजारमा त्रास कायमै

साइबर चोरीपछि बाइन्यान्सद्वारा ३ अर्ब डलर रोक्का : क्षतिको भरपाई गर्न ६.३ अर्बको कोष, तर बजारमा त्रास कायमै

काठमाडौं : ६.३ अर्ब डलरको ऐतिहासिक साइबर चोरीको सिकार बनेको विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज ‘बाइन्यान्स’ले चोरी भएको रकममध्ये आधा रकम रोक्का गर्न सफल भएको जनाएको छ।

चोरी भएको सम्पत्ति फिर्ता ल्याउने प्रयास तीव्र पार्दै कम्पनीले करिब ३ अर्ब डलर बराबरको डिजिटल सम्पत्ति सुरक्षित गरेको पछिल्लो अपडेट सार्वजनिक गरेको हो।

बाँकी रकम अझै अज्ञात ह्याकरहरूको कब्जामा रहे पनि बाइन्यान्सले आफ्ना ३० करोडभन्दा बढी ग्राहकलाई आश्वस्त पार्दै सम्पूर्ण क्षतिको भरपाई आफैँले गर्ने घोषणा गरेको छ।

यसका लागि कम्पनीले आफ्नै मौज्दातबाट ६.३४ अर्ब डलर बराबरको आकस्मिक कोष खडा गरेको छ भने बजारबाट तीव्र रूपमा विभिन्न क्रिप्टो टोकनहरू खरिद गर्न थालेको छ।

आक्रमणबारे नयाँ खुलासा : प्रमाण मेटाउन 'सेल्फ-डिस्ट्रक्ट' संयन्त्र
बाइन्यान्सका सह-कार्यकारी प्रमुख रिचर्ड टेङले पछिल्लो अनुसन्धानले यो आक्रमण प्रारम्भिक अनुमानभन्दा निकै ठूलो र गम्भीर देखाएको खुलासा गरेका छन्।

यसअघि एक डेभअप्स इन्जिनियरको ल्यापटप ह्याक भएर घटना घटेको आशंका गरिए पनि अनुसन्धानका क्रममा प्रणालीका अन्य सुरक्षा छिद्रहरू पनि प्रयोग भएको भेटिएको छ।

ह्याकरहरूले अनुसन्धानलाई कठिन बनाउन र डिजिटल प्रमाणहरू नष्ट गर्न 'सेल्फ-डिस्ट्रक्ट' (आफैँ नष्ट हुने) प्रविधिको प्रयोग गरेको टेङले बताएका छन्।

यसैबीच, अमेरिकी डलरसँग जोडिएका ‘टेथर’ र ‘सर्कल’ जस्ता सम्पत्तिसमेत ह्याक भएकाले अमेरिकी गुप्तचर निकाय ‘सिक्रेट सर्भिस’ र एफबीआईले २४ सै घण्टा चोरी भएको सम्पत्ति ट्र्याक र रिकभर गर्न काम गरिरहेका छन्।

बजारमा भारी गिरावट र 'एफटीएक्स' को त्रास
बाइन्यान्सले आफ्नो प्रणालीमा निक्षेप (डिपोजिट) सुचारु रहेको र ग्राहकको पैसा नडुब्ने दाबी गरे पनि अन्तर्राष्ट्रिय क्रिप्टो बजारमा यसको गम्भीर धक्का देखिएको छ।

लगानीकर्तामा त्रास फैलिँदा बिटक्वाइनको मूल्य ५ प्रतिशतले घटेर ७६ हजार ८ सय डलरमा झरेको छ। त्यस्तै, क्रिप्टो कारोबार कम्पनी ‘कोइनबेस’ को सेयर १२ प्रतिशत र ‘रबिनहुड’ को सेयर झण्डै ८ प्रतिशतले ओरालो लागेको छ।

क्रिप्टो विश्लेषकहरूले अहिलेको परिस्थितिलाई सन् २०२२ मा धराशायी भएको ‘एफटीएक्स’सँग तुलना गर्न थालेका छन्।

त्यतिबेला पनि एफटीएक्सका प्रमुख साम ब्याङ्कम्यान-फ्रिडले कम्पनी सुरक्षित रहेको भन्दै ग्राहकलाई यस्तै आश्वासन दिएका थिए, तर केही दिनमै कम्पनी टाट पल्टिएको थियो।

लन्डनस्थित कानुन व्यवसायी डेनियल टन्केललगायतका विज्ञहरूले बाइन्यान्सको मौखिक आश्वासनलाई मात्र आधार नमान्न चेतावनी दिएका छन्।

बाइन्यान्सले क्षतिपूर्ति दिन नसकेको खण्डमा सम्झौताका आधारमा मुद्दा प्रक्रियामा जानुपर्ने हुनसक्ने भन्दै उनीहरूले लगानीकर्ताहरूलाई सतर्क रहन सुझाएका छन्।

कात्तिक १४, २०८३ शनिबार ०९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।