भुटानमा हिमताल विस्फोटपछि भारतका सीमावर्ती तल्लो तटीय क्षेत्रमा सतर्कता
काठमाडौं : भुटानको सिन्ताफु हिमताल विस्फोट भएर आएको बाढीपछि भारतको पश्चिम बङ्गाल र आसाम राज्यको तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ। हिन्दूकुश हिमालय क्षेत्रमा बढ्दै गएका हिमाली जोखिमलाई दृष्टिगत गर्दै प्रभावकारी पूर्व सूचना प्रणाली, नियमित अनुगमन र सीमापार समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा विज्ञले जोड दिएका छन्।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार हिमताल विस्फोट हुनुअघि सिन्ताफु तालमा करिब ६० देखि ७० लाख घनमिटर पानी सञ्चित रहेको अनुमान गरिएको थियो। यो परिमाण करिब दुई हजार ४०० देखि दुई हजार ८०० वटा पौडी पोखरीमा अट्ने पानी बराबर हो। विस्फोटपछि बाहिरिएको पानीको वास्तविक परिमाण भने अझै आङ्कलन भइसकेको छैन।
इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले भुटानका अधिकारीले समयमै जारी गरेको चेतावनीले नियमित अनुगमन र प्रभावकारी पूर्व सूचना प्रणालीको महत्त्व पुष्टि गरेको बताए। उनले हिमाली क्षेत्रमा विपद्का घटना थप जटिल बन्दै गएकाले जोखिम पूर्वानुमान, पूर्व तयारी र सीमापार सहकार्यमा निरन्तर लगानी आवश्यक रहेको उल्लेख गरे।
यो घटना गत अगस्टमा नेपालको ग्यिरोङ-रसुवागढी क्षेत्रमा गएको विनाशकारी चट्टान तथा हिमबरफको पहिरो र अक्टोबरको अन्तिम साता गोरखाको बुढीगण्डकी क्षेत्रमा गएको आकस्मिक बाढीपछि भएको हो। यी घटनाले हिमाली क्षेत्रमा देखिएका बहुप्रकोपीय जोखिम र समयमै सूचना प्रवाह गर्नुपर्ने आवश्यकतालाई थप उजागर गरेका छन्।
इसिमोडका अनुसार विपद् जोखिम न्यूनीकरणका लागि जोखिमको प्रकृति पहिचान गर्नुका साथै तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको जोखिम र संवेदनशीलता बुझ्न आवश्यक छ। पूर्व सूचना प्रणाली प्रभावकारी हुन सूचना समयमै प्रभावित समुदायसम्म पुग्नुपर्ने र विपद्का बेला के गर्ने भन्ने स्पष्ट जानकारी उपलब्ध हुनुपर्ने संस्थाले जनाएको छ।
इसिमोड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को यसअघिको अध्ययनले कोशी, गण्डकी र कर्णाली नदी बेसिनमा सीमापार फैलिएका ४७ वटा प्रमुख सम्भावित जोखिमयुक्त हिमताल पहिचान गरेको थियो। हालसम्म हिन्दूकुश हिमालय क्षेत्रमा ३८८ वटा हिमताल विस्फोटबाट बाढी (ग्लोफ) का घटना अभिलेख गरिएको इसिमोडले जनाएको छ।
भुटानमा हिमताल जोखिमको अनुगमन गर्ने निकाय राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्रले देशभित्रका दर्जनौं सम्भावित जोखिमयुक्त हिमतालको निगरानी गर्दै आएको छ। सन् २०१५ मा सिन्ताफु ताल रहेको मो छु नदीको माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोटबाट बाढी आएपछि भुटानी अधिकारीले सर्भिर-हिमालय पहलसँग सहकार्य गरी उक्त जलाधार क्षेत्रका हिमतालको जोखिम मूल्याङ्कन गरेका थिए।
इसिमोडले हिन्दूकुश हिमालय क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि क्षेत्रीय साझेदारसँग मिलेर अनुगमन, पूर्वानुमान र पूर्व सूचना प्रणाली सुदृढ गर्ने काम गरिरहेको जनाएको छ। यसअन्तर्गत भुटानको लाया र लिङ्जी क्षेत्रमा स्थायी तुषारो (पर्माफ्रोस्ट) को अनुगमन, भुटान, नेपाल र बङ्गलादेशमा बाढी पूर्वानुमान प्रणालीको विकास तथा आकस्मिक विपद्का लागि चेतावनी जारी गर्ने संयन्त्रलाई प्रभावकारी बनाउने काम भइरहेको छ।
त्यस्तै, काठमाडौं १० कार्यबिन्दुमार्फत जोखिमसम्बन्धी सूचना आदानप्रदान, पूर्व सूचनाको मापदण्ड विकास र सीमापार सञ्चारलाई तीव्र बनाउने पहल भइरहेको इसिमोडले जनाएको छ। एसियाली विकास बैंकको सहयोगमा सञ्चालित हिन्दूकुश हिमालय क्षेत्रमा अनुकूलन तथा उत्थानशीलता निर्माण कार्यक्रममार्फत साझा तथ्याङ्क प्रणाली विकास, बहुप्रकोपीय जोखिमको बुझाइ विस्तार र उत्थानशील पूर्वाधार निर्माणमा समेत सहयोग भइरहेको विज्ञप्तिमा उल्लेख छ।
हिमताल विस्फोटलगायतका हिमाली विपद्बाट हुने क्षति न्यूनीकरणका लागि नियमित अनुगमन, समयमै चेतावनी, प्रभावकारी सञ्चार र समुदायस्तरको पूर्व तयारीलाई एकीकृत गर्नुपर्नेमा इसिमोडले जोड दिएको छ।
कात्तिक १३, २०८३ शुक्रबार १८:५९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।