माओत्से गुरुङको हिजोको कुरा : बाले पल्टन जान दिएनन्, माटोसँग रमाउन खोज्दा पर्दामा आइपुगेँ

माओत्से गुरुङको हिजोको कुरा : बाले पल्टन जान दिएनन्, माटोसँग रमाउन खोज्दा पर्दामा आइपुगेँ

पोखरालाई कर्मथलो बनाएर नेपाली रंगमञ्च र चलचित्रमा आफ्नो सशक्त पहिचान बनाएका अभिनेता तथा निर्देशक हुन्- माओत्से गुरुङ।

५२ वर्षअघि तत्कालीन हंसपुर गाउँ पञ्चायत (हालको रूपा गाउँपालिका-७, स्याकलुङ), कास्कीमा उनको जन्म भएको थियो। हजुरबुबा र बुबा दुवै लाहुरे बाल्यकाल सामान्य र शान्त नै बित्यो।

आफू लाहुरे भए पनि उनका बुबाले छोराहरूलाई पल्टन भर्ती गराउने रहर कहिल्यै गरेनन्। सकेसम्म छोराहरू कृषक बनून्, पोखरामै माटोसँग रमाऊन् भन्ने बुबाको चाहना थियो।

माओत्सेको ध्यान पढाइमा भन्दा बढी गाउँघरको परम्परागत खेल ‘छेलो’ (ढुङ्गा फाल्ने खेल) तिर हुन्थ्यो। उनी गाउँमा कसैले नाटक नगर्ने समयमा पनि रहरै-रहरमा साथीहरूसँग मिलेर अभिनय गर्थे।

विसं २०४७ सालतिर ‘पञ्च’ नाटक खेलेर सुरु भएको उनको अभिनय मोह आज साढे तीन दशकपछि पनि उत्तिकै छ।

हालै प्रदर्शनमा आएका फिल्महरू ‘पेन्सनपट्टा’ र ‘बा : एक योद्धा’सम्म आइपुग्दा उनले थुप्रै गुरुङ भाषाका चलचित्रमा अभिनयसँगै निर्माण र निर्देशन पनि गरिसकेका छन्।

गुरुङले आफ्नो बाल्यकाल, संघर्ष र अभिनय यात्राका पाटाहरू उकेराको स्तम्भ ‘हिजोको कुरा’मा यसरी सुनाए:

बाल्यकालको ‘छेलो’ प्रेम र मध्यम पढाइ
मैले विद्यालय तह दुई ठाउँमा पढेँ। कक्षा ३ सम्म लिप्यानी गाउँको हिमालयन निम्न माध्यमिक विद्यालयमा पढेँ। त्यसपछि कक्षा ४ देखि बेगनासको आनन्द ज्योति माध्यमिक विद्यालय गएँ र त्यहीँबाट एसएलसी उत्तीर्ण गरेँ। विसं २०४७/४८ तिर आईए उत्तीर्ण गरेँ। स्नातक तहमा भर्ना भए पनि पूरा भने गर्न सकिनँ।

म सानैदेखि खेलकुदतिर बढी रुचि राख्थेँ। गाउँघरमा मेलापात हुँदा भलिबल र फुटबल खुब खेलिन्थ्यो, म पनि राम्रै खेल्थेँ। तर, त्यो बेला हाम्रोतिर अर्को एउटा रैथाने खेल खुब चल्थ्यो- ‘छेलो हान्ने’। म त्यो छेलो निकै राम्रो फ्याँक्थेँ। छेलो फालेर त मैले गाउँका प्रतियोगितामा पुरस्कार नै जितेको छु।

पढाइमा म न साह्रै जान्ने, न त लद्दु नै; मध्यम दिमागको विद्यार्थी थिएँ। जिन्दगीमा कहिल्यै फस्ट, सेकेन्ड, थर्ड भइनँ, तर फेल पनि भइनँ। स्वभाव भने अल्छी खालको थिएन, अलि चुलबुले र सक्रिय नै थिएँ।

घर नजिकै खोला र ताल भएकाले बिदाको दिन माछा मार्न जाने, पौडी खेल्ने हाम्रो नियमित काम हुन्थ्यो। अहिलेको जस्तो हात-हातमा मोबाइल भएको भए सायद म पनि मोबाइलमै झुम्मिन्थेँ होला, तर त्यो बेला हाम्रो दिनचर्या यस्तै थियो।

अहिले सम्झन्छु, बाल्यकालमा म रेडियोका नाटक र गीत खुब सुन्थेँ। शनिबार रेडियोमा नाटक आउँथ्यो। स्वस्थानीको बेला बिहान-बिहानै रेडियोमा आउने स्वस्थानीका नाटकहरू म नछुटाई सुन्थेँ। सायद मभित्र अभिनयको भोक त्यहीँबाट पलाउँदै थियो कि!

टेलिभिजन हेर्न भने निकै सास्ती थियो। हाम्रो गाउँभन्दा अलि पर एक जना भारतीय सेनाका भूतपूर्व क्याप्टेनको घर थियो। त्यहाँ पुग्न आधा घण्टाभन्दा बढी पैदल हिँड्नुपर्थ्यो। उहाँको घरमा एन्टिना घुमाएर सिग्नल मिलाउँदै टेलिभिजन हेरिन्थ्यो।

हामी बेलुकीपख त्यहाँ पुगेर ‘महाभारत’ र ‘हिजोआजका कुरा’ खुब हेर्थ्यौँ। त्यो बेला र अहिलेको समयमा आकाश-जमिनको फरक छ; मानिसहरूको मनोविज्ञान नै बदलिइसक्यो। तर, समय जति नै बदलिए पनि कतै छेलो फालेको देखेँ भने म अझै पनि टक्क अडिएर हेर्छु। हिजोको खेलाडी भएर होला, त्यो खेलप्रति आज पनि उत्तिकै मोह जाग्छ।

नाच्ने-गाउनेको भीडमा नाटकको लहड
गाउँका सांस्कृतिक कार्यक्रमहरूमा मानिसहरू गीत गाउँथे, नाच्थे। तर नाटक देखाउने चलन खासै थिएन। त्यस्तो बेला म र मेरो साथी ओमप्रकाश गुरुङ मिलेर नाटक गर्थ्यौँ।

मलाई सुरुमै नाटकको त्यस्तो ठूलो ज्ञान वा मोह भएर लागेको होइन। तर ओमप्रकाशलाई नाटक गर्नैपर्ने! अब नाटक गर्न उसलाई साथी चाहिने, उसले मलाई खोज्थ्यो र म पनि साथ लाग्थेँ।

गाउँमा नाच्ने मान्छे त थुप्रै भेटिन्थे, तर नाटक खेल्ने साथी भेट्टाउन गाह्रो थियो। त्यसैले ओमले मलाई नै रोज्थ्यो। हामी हरेक सांस्कृतिक कार्यक्रममा नाटक देखाउँथ्यौँ। हामीले गर्ने नाटकहरू बढीजसो कमेडी र दर्शकलाई मनोरञ्जन दिने खालका हुन्थे। गाउँको त्यो परिवेशमा हामीसँग कुनै गम्भीर बौद्धिक नाटक गर्ने चेत पनि थिएन।

नाटक म लेख्दिनथेँ, साथी ओमप्रकाशले नै लेख्थ्यो र बनाउँथ्यो। हामी त्यही अभिनय गर्थ्यौँ। विसं २०४७ सालमा हामीले ‘पञ्च’ नामको नाटक मञ्चन गर्यौँ, जुन मेरो जीवनको पहिलो नाटक थियो। त्यसपछि हामीले गाउँमा थुप्रै नाटक खेल्यौँ, जसमध्ये कतिपयको त नामसमेत अहिले बिर्सिसकेँ।

२०४५/४६ सालको आन्दोलन र विद्यालयको चेतना
विसं २०४५/४६ को जनआन्दोलन ताका हामी निकै साना थियौँ। ममा कुनै राजनीतिक चेतना थिएन, त्यसैले त्यो आन्दोलनप्रति मलाई खासै आकर्षण वा चासो भएन। तर, गाउँ र स्कुलका दाइहरू भने राजनीतिमा निकै सक्रिय हुनुहुन्थ्यो।

हाम्रो आनन्द ज्योति माविमा पढ्ने दाइहरू प्रायः राजनीतिका कुरा गर्थे। उनीहरूमा राजनीतिक चेत निकै राम्रो थियो, किनभने त्यो स्कुलबाट पढेका धेरै विद्यार्थी पछि राजनीतिमै स्थापित भए।

ती दाइहरू पञ्चायती व्यवस्था ठीक छैन र जनताले दुःख पाएका छन् भन्ने विषयमा खुलेर बहस गर्थे। उनीहरूको त्यो राजनीतिक माहोल मैले नजिकबाट देखेको थिएँ, तर त्यसले मलाई प्रत्यक्ष रूपमा कुनै प्रभाव पारेको थिएन।

‘सपनाभन्दा बाहिरको संसारमा आइपुगेँ’
बाल्यकालमा फिल्म हेरेर म कुनै दिन कलाकार वा निर्देशक बन्छु भन्ने त सपनामा पनि सोचेको थिइनँ। त्यो सोच्ने अवस्था नै थिएन। नाटक खेल्दाखेल्दै रहरले ‘कलाकार बन्छु’ भन्ने मात्रै थियो; तर सिनेमामै गएर लेखक र निर्देशक बन्छु भन्ने कल्पनासम्म थिएन।

अहिले म जहाँ छु, यहाँ पुगिएला भन्ने कुनै सपना थिएन। त्यो बेला त हामीजस्तालाई यस्तो सपना देख्ने छुट पनि कहाँ थियो र! सिनेमा कहाँ बन्छ, कसरी बन्छ, कसलाई भेट्नुपर्छ भन्ने केही पत्तो थिएन। त्यो त हाम्रो कल्पनाभन्दा धेरै परको संसार थियो। अहिले फर्केर हेर्दा म आफैँ छक्क पर्छु- म त सपनै नदेखेको ठाउँमा पो आइपुगेछु!

हजुरबुबा र बुबा लाहुरे, तर बाको सपना- छोरो किसान बनोस्
हामी तीन दाजुभाइ हौँ- जेठो, माहिलो र म कान्छो। मेरो हजुरबुबा ब्रिटिस इन्डियन आर्मी र बुबा इन्डियन लाहुरे हुनुहुन्थ्यो। तर, बुबा लाहुरे भए पनि उहाँले मलाई कहिल्यै पल्टन जान दबाब दिनुभएन।

इष्टमित्र र चिनेजानेकाहरूले ‘छोराहरू यति राम्रा र लायकका छन्, यिनलाई पनि लाहुरे भर्ती गराउनुपर्छ’ भन्थे। तर, मेरा बाले ती कुराको कहिल्यै वास्ता गर्नुभएन। सेनाभित्रको राजनीति र हन्डर बुबाले आफैँ भोग्नुभएको थियो, त्यसैले उहाँले हामीलाई लाहुरे बन्न कहिल्यै प्रेरित गर्नुभएन।

सरकारी जागिर खानुभन्दा पनि बाले मलाई खेतबारीमै काम गर्न सिकाउनुभयो। जमिन भएकाले पनि होला, उहाँ सधैँ भन्नुहुन्थ्यो- “खेतीपाती गरेर खा।” मान्छे माटोसँग नजिक भयो भने पर्यावरणसँग पनि नजिक हुन्छ भन्ने बुबाको गहिरो बुझाइ थियो। तर, सरकारी जागिर खाने वा आर्मी बन्ने कुरामा बुबाको कहिल्यै मन गएन।

हकी स्टिक बोकेर फिल्म खेल्ने त्यो अधुरो रहर
नाटक गर्दागर्दै मलाई फिल्म खेल्ने हुटहुटी कसरी जाग्यो भन्ने एउटा रमाइलो किस्सा छ। पोखराबाटै ‘फेरि भेटौँला’ फिल्म बनाइसक्नुभएका निर्देशक फूर्वा छिरिङले राजेश हमाललाई लिएर ‘दिवस’ नामको नयाँ सिनेमा बनाउँदै हुनुहुन्थ्यो।

हामी त्यतिखेर पोखरामा नाटक गर्थ्यौँ। फूर्वाजीले फिल्म बनाउँदै हुनुहुन्छ भन्ने थाहा पाएपछि हामी तीन जना साथी उहाँको कार्यालयमै पुग्यौँ।

हामीले भन्यौँ, “हामी पोखराकै रंगमञ्चमा नाटक गरिरहेका कलाकार हौँ, हजुरले फिल्म बनाउन लाग्नुभएको रहेछ। कुनै भूमिका भए हामी गर्न तयार छौँ।”

उहाँले भन्नुभयो, “त्यस्तो ठूलो रोल त छैन। मुख्य भिलेनको पछाडि हकी स्टिक बोकेर जीपमा उभिने रोल छ। त्यो गर्ने भए तयार हुनुहोस्।”

मलाई त त्यो कुरा सुन्नेबित्तिकै मन पर्यो, हकी स्टिक बोक्न तयार भइहालेँ। तर, मेरा साथीहरू मान्दै मानेनन्। उनीहरूले भने, “हामी यत्रो नाटक गरिरहेका कलाकार, कहाँ त्यो भिलेनको पछाडि हकी स्टिक बोकेर उभिनु?”

तर मभित्र पर्दामा देखिने यति धेरै हुटहुटी थियो कि मैले साथीहरूलाई सम्झाएँ, “हैन, खेल्नुपर्छ यार! जेसुकै रोल भए पनि के भो त? हामी काम सिक्न लागेका मान्छे हौँ, केही फरक पर्दैन।”

मेरो जिद्दी सुनेपछि साथीहरू पनि तयार भए। हामी फिल्ममा भिलेनको पछाडि हकी स्टिक बोकेर दौडन तयार भएर बस्यौँ।

तर, विडम्बना! फिल्मको छायांकन सुरु हुने बेला निर्देशक फूर्वाजी ठूलो दुर्घटनामा पर्नुभयो। उहाँको खुट्टा भाँचियो। त्यसपछि के-के भयो, त्यो सिनेमा बन्दै बनेन। पोखराबाटै फिल्म खेल्ने त्यो सुनौलो मौका त्यसरी गुम्यो।

हकी स्टिकै बोकेर भए पनि फिल्ममा अनुहार देखाउने त्यो बेलाको सपना अधुरै रह्यो। सुरुवाती दिनका यस्ता किस्साहरू सम्झँदा अहिले पनि अनौठो र रमाइलो लाग्छ।

असोज २२, २०८३ बिहीबार १३:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।