देशभर वर्षा र हिमपात, अपराह्नदेखि कम हुँदै जाने
काठमाडौं : बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभर वर्षा र हिमपात भइरहेको छ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार पूर्वबाट सुरु भएको वर्षा पश्चिमसम्म पुगेर अहिले पुनः पूर्वतर्फ सर्दैछ। पछिल्लो २४ घण्टामा मनाङको ताल स्टेसनमा सबैभन्दा बढी १११ मिलिमिटर वर्षा मापन गरिएको छ।
देशका अधिकांश भूभागमा मध्यम वर्षा भइरहँदा गण्डकी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको उनले जानकारी दिए। उनका अनुसार आज अपराह्नदेखि वर्षा क्रमशः कम हुँदै जाने र भोलिदेखि मौसम खुल्ने सम्भावना छ।
महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभर मौसम बदली रहनेछ।
कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थान, गण्डकीका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
साथै, कोशी, मधेस र बागमतीका एक-दुई स्थानमा भारी वर्षा र उच्च भूभागमा भारी हिमपातको सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पदयात्रा तथा भ्रमणमा निस्किएका पर्यटकहरूलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरिएको छ। सो क्षेत्रमा पुगिसकेका पर्यटकलाई मौसम सफा नहुँदासम्म सुरक्षित स्थानमै बस्न भनिएको छ।
वर्षासँगै चिसो बढ्ने, जोखिमयुक्त ठाउँहरूमा पहिरो खस्ने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
भोलि अपराह्नदेखि भने यो मौसमी प्रणाली क्रमशः कमजोर हुँदै जानेछ ।
कात्तिक १४, २०८३ शनिबार ०७:४६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।