डीडीसीमा १२ करोडभन्दा बढी हिनामिना, पूर्वमहाप्रबन्धक झासहित आठ कर्मचारी पक्राउ

डीडीसीमा १२ करोडभन्दा बढी हिनामिना, पूर्वमहाप्रबन्धक झासहित आठ कर्मचारी पक्राउ

काठमाडौं : सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हिनामिना गरेको आरोपमा तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जना कर्मचारी पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई मंगलबार उनीहरूलाई विभिन्न जिल्लाबाट नियन्त्रणमा लिएको हो।

डीडीसीका तत्कालीन उच्च प्रशासनिक अधिकारी, विभिन्न चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूको पूर्व-नियोजित मिलेमतोमा संगठित सञ्जाल खडा गरी संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको प्रत्यक्ष नोक्सानी पुर्याएको सीआईबीले जनाएको छ।

प्रारम्भिक छानबिनबाट संस्थालाई हानि पुर्याएर गैरकानूनी लाभ लिएको पुष्टि भएपछि उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ‘आपराधिक विश्वासघात’ र ‘संगठित अपराध निवारण ऐन, २०७०’ बमोजिम अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

पक्राउ पर्ने मुख्य आरोपितमा संस्थानका तत्कालीन महाप्रबन्धक एवं हालका प्रशासन तथा व्यवस्थापन विभाग प्रमुख ४५ वर्षीय सञ्जीव झा रहेका छन्। उनलाई काठमाडौंको लैनचौरबाट नियन्त्रणमा लिइएको हो।

त्यस्तै, तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज विजय कुमार यादव बालाजुबाट, तत्कालीन भरतपुर चिस्यान केन्द्रका इन्चार्ज मनहरी शर्मा कास्कीको पोखराबाट र तत्कालीन चनौलि चिस्यान केन्द्रका इन्चार्ज रामकेवल राय सर्लाहीबाट पक्राउ परेका छन्। उनीहरू तीनै जना हाल संस्थानमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत थिए।

त्यसैगरी बागमती धुलो दूध कारखाना हेटौँडाका कर्मचारी जितेन्द्र कुमार यादव, माडी चिस्यान केन्द्रका इन्चार्ज विख बहादुर भण्डारी र सोही केन्द्रका ज्यालादारी कर्मचारी शिव नन्दन रायलाई चितवनका विभिन्न स्थानबाट पक्राउ गरिएको छ।

नवलपुर तथा गरुडा चिस्यान केन्द्रका इन्चार्ज नबिन राय यादवलाई भने सर्लाहीको लालबन्दीबाट नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ। पक्राउ परेका सबै कर्मचारीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

कात्तिक १४, २०८३ शनिबार ०७:५५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।