समाचार कक्षमा प्रहरी पसेर पत्रकार पक्राउ गरिपछि प्रधानमन्त्री शाहको सचिवालयले भन्यो : ‘पूर्वजानकारी थिएन’

समाचार कक्षमा प्रहरी पसेर पत्रकार पक्राउ गरिपछि प्रधानमन्त्री शाहको सचिवालयले भन्यो : ‘पूर्वजानकारी थिएन’

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले सञ्चारमाध्यमका समाचार कक्षमै प्रहरी पसेर पत्रकार पक्राउ परेको घटनाप्रति प्रधानमन्त्रीलाई पूर्व जानकारी नरहेको दाबी गरेको छ।

प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले शुक्रबार सामाजिक सञ्जालमार्फत पत्रकार पक्राउ परेको घटनाप्रति प्रधानमन्त्री र सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै पनि संलग्नता नरहेको बताइन्।

उनले सञ्चारमाध्यमका समाचार कक्षबाटै नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिएको बताइन्।

"पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्व जानकारी समेत प्राप्त नभएको स्पष्ट पारिन्छ," दाहालले लेखेकी छन्, "​उक्त घटनाबारे थाहा पाउनासाथ सम्माननीय प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसक्नुभएको छ।"

कात्तिक १३, २०८३ शुक्रबार २०:१३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।