'सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन' : रास्वपा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चारमाध्यमलाई नियमन गर्ने अधिकारप्राप्त संस्थाहरू क्रियाशील रहेको अवस्थामा स्थापित कानुनी र संस्थागत बाटो छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन भएको बताएको छ।
समाचार कक्षमै प्रहरी पसेर पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा खोजी जारी राखेको घटनाप्रति आपत्ति जनाउँदै रास्वपाले गैरकानुनी ढङ्गले नियन्त्रणमा लिइएका सञ्चारकर्मीहरूलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा कानुन कार्यान्वयनको आवरणमा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चार गृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थाहरूलाई सङ्कुचित पार्ने कुनै पनि कार्यशैली लोकतान्त्रिक आचरण अनुकूल हुन नसक्ने उल्लेख गरिएको छ।
रास्वपाले पत्रकार पक्राउ गरिएको घटनाको निष्पक्ष, पारदर्शी र यथार्थ छानबिन गरी अविलम्ब सत्यतथ्य सार्वजनिक गर्नसमेत माग गरेको छ। समाचारको स्रोतको गोपनीयता रक्षा गर्नु सञ्चारकर्मीको अहरणीय व्यावसायिक अधिकार, दायित्व तथा पेसागत धर्म भएको उल्लेख गर्दै प्रकाशित सामग्रीप्रति कुनै विमति वा गुनासो भए स्थापित न्यायिक प्रक्रियाबाट मात्र निरूपण गरिनुपर्ने भनिएको छ।
कुनै पनि भय, त्रास र अनुचित दबाबका अगाडि नझुकी निर्भीकतापूर्वक पत्रकारितालाई निरन्तरता दिन आह्वान गर्दै रास्वपाले सञ्चारकर्मीको पेसागत मर्यादा, भौतिक सुरक्षा र संविधान प्रदत्त ‘पूर्ण प्रेस स्वतन्त्रता’को रक्षाका लागि पार्टी सधैँ अग्र मोर्चामा उभिने जनाएको छ।
कात्तिक १३, २०८३ शुक्रबार २०:४७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।