पत्रकार विश्वमणिसँग समाचारको स्रोतबारे दुई घण्टा केरकार गरेर प्रहरीले छाड्यो, नयाँ पत्रिकाबाट हट्यो प्रहरी
काठमाडौं : सञ्चार गृहको समाचार कक्षबाट नियन्त्रणमा लिइएका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रण मुक्त गरेको छ। शुक्रवार साँझ नेपालप्रेसको समाचार कक्षमै गएर सादा पोसाकका प्रहरीले उनलाई नियन्त्रणमा लिएर साइबर ब्युरोको कार्यालयमा लगेको थियो।
सुवेदीलाई कार्यालयमा लगेर प्रहरीले नेपालप्रेसमा नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब र उनी कानुनी परामर्शमा रहेको समाचारको स्रोतबारे केरकार गरेको थियो। करिब २ घण्टासम्म केरकार गरेपछि प्रहरीले नेपालप्रेसका सम्पादक मातृका पौडेलसहितको रोहवरमा उनलाई नियन्त्रण मुक्त गर्यो।
पत्रकार सुवेदीका अनुसार प्रहरीले उनीसँग समाचारको स्रोतबारे निरन्तर केरकार गरेको थियो। स्रोत खुलाउन प्रहरीले दबाब दिए पनि आफूले स्रोत खुलाउन मिल्दैन भनेको सुवेदीले उकेरालाई जानकारी दिए।
उता नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन पत्रिकाको कार्यालयमै पुगेका कार्यालयका प्रहरी फर्किएका छन्। शनिवार १० बजे प्रहरी कार्यालयमा उपस्थित गराउने सर्तमा त्यहाँ गएको सादा पोसाकका प्रहरीहरू फर्किएका हुन्। नयाँ पत्रिकाले बुधवार सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल र बिचौलिया भनिएका इनम सापकोटाबीचको सम्पर्कबारे समाचार प्रकाशित गरेको थियो।
प्रहरीले मोटिभेटन्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए अनलाइनका धीरज बस्नेतलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो। यी दुबै समेत रिहा भएका छन्।
कात्तिक १३, २०८३ शुक्रबार २०:५५:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।