पत्रकारमाथिको धरपकडबारे रास्वपाले भन्यो : ‘समाचारको विषयलाई लिएर पत्रकार पक्राउ गर्न मिल्दैन’
काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समाचारकै विषयलाई लिएर पत्रकार वा सञ्चारकर्मीलाई पक्राउ गर्न नमिल्ने भन्दै न्यायका अन्य कानुनी बाटाहरू अवलम्बन गर्न भनेको छ।
विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रहरी पसेर पत्रकारमाथि धरपकड गरेपछि रास्वपाका प्रवक्ता जगदीश खरेलले सामाजिक सञ्जालमार्फत पत्रकारमाथि भएको धरपकड तथा पक्राउको विषयमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएको छ।
उनले विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भएको सोधपुछ, धरपकड तथा पक्राउको विषयमा पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। समाचारकै विषयलाई लिएर कुनै पनि पत्रकार वा सञ्चारकर्मीलाई गैरकानुनी रूपमा पक्राउ गर्न नमिल्नेमा रास्वपा स्पष्ट रहेको उनले उल्लेख गरेका छन्।
प्रवक्ता खरेलले संविधान प्रदत्त मौलिक अधिकारका रूपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपाको सम्मान र जिम्मेवारी रहेको बताए। उनले भनेका छन्, "समाचारकै विषयमा कुनै पनि पत्रकार वा सञ्चारकर्मीलाई गैरकानुनी रूपमा पक्राउ गर्न मिल्दैन भन्नेमा रास्वपा स्पष्ट छ। न्यायको खोजी गर्ने अरू धेरै बाटोहरू खुला नै छन्, त्यसलाई अवलम्बन गरौं।"
कात्तिक १३, २०८३ शुक्रबार १९:५८:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।