नयाँ पत्रिकाको कार्यालयमा पुगेको प्रहरी भन्छन् “हाम्रो सर सन्तोष खड्काले बोलाउनु भएको छ”

नयाँ पत्रिकाको कार्यालयमा पुगेको प्रहरी भन्छन् “हाम्रो सर सन्तोष खड्काले बोलाउनु भएको छ”

काठमाडौं : नयाँ पत्रिकाकर्मी नवराज मैनाली खोज्दै पत्रिकाको कार्यालयमा पुगेको प्रहरीको टोलीले सरले बोलाएको भन्दै उनलाई खोजी गरेको छ। कुनै कारण नै नखुलाई सादा पोशाकमा रहेका प्रहरीहरूले माथिबाट आदेश आए अनुसार लिन आएको बताएका हुन्।

उनीहरूले नाम लिएका सन्तोष खड्का काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख हुन्। कार्यालयमा पुगेकाहरूले कार्यालयमा ल्याउन आएको आदेश अनुसार लिन आएको दाबी गरेका थिए।

नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तले कार्यालयमा बोलाउनु पर्ने कारण के हो भन्दा उनीहरूले थाहा छैन भने। पक्राउ गर्न आएको हो भने पक्राउ पुर्जी देखाउन भन्दा पक्राउ गर्न नआएको केवल लिन मात्र आएको ती प्रहरीको तर्क छ। नयाँ पत्रिकाकर्मी यम बमका अनुसार सवा ५ बजेतिर कार्यालयमा आएको प्रहरी टोली अहिले कार्यालयबाट बाहिरिएर कार्यालय परिसर वरपर बसेको छ।

यस अगाडि नै यसरी नै सादा पोशाकमा नेपालप्रेसको कार्यालयमा पुगेको तीन जनाको टोलीले नेपालप्रेसकर्मी विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएर लगेका छन्। उनलाई कहाँ लगिएको हो खुलेको छैन।

बुधवार नेपाल प्रहरीले प्रहरी महानिरीक्षक दानबहादुर कार्की सम्बन्धी समाचारको विषयलाई लिएर सरकार विरुद्ध षड्यन्त्र गरेको भन्दै अनुसन्धान र कार्वाहीको चेतावनी दिएको थियो। त्यसको भोलिपल्टै सादा पोसाकका प्रहरी समाचार कक्षमै गएर पत्रकारलाई नियन्त्रणमा लिने र खोज्ने गरिरहेका छन्।

कात्तिक १३, २०८३ शुक्रबार १९:०५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।