समाचार कक्षमै प्रहरी पसेर धरपकड गरेपछि प्रेस काउन्सिलले भन्यो : ‘कानुनी आधार तत्काल सार्वजनिक गर’
काठमाडौं : प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी नियन्त्रणमा लिइएका पत्रकारहरूको अवस्था तथा पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न माग गरेको छ।
काउन्सिलले शुक्रबार एक विज्ञप्ति जारी गरेर कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिनाआधार नियन्त्रणमा राखिएको पत्रकारको तत्काल रिहा गर्न आग्रह गरेको छ। विज्ञप्तिमा पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पूर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको नदेखिएको तथा कुनै अपराधको जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा पत्रकारहरूलाई नियन्त्रणमा लिइएको उल्लेख छ।
प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलले भनेको छ। लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि यसरी गरिएको धरपकड गरिएकोमा काउन्सिलले आपत्ति जनाएको छ।
सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलकै भएको समेत स्मरण गराइएको छ। समाचारकै विषयलाई लिएर सिधै प्रहरी परिचालन गर्नुको सट्टा काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्न आग्रह गरिएको छ।
कात्तिक १३, २०८३ शुक्रबार १९:३७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।