काठमाडौँको भित्री शहरमा भेटिने 'घ:'- ढुङ्गाका घडाभित्र हराएको पानी सभ्यता

काठमाडौँको भित्री शहरमा भेटिने 'घ:'- ढुङ्गाका घडाभित्र हराएको पानी सभ्यता

काठमाडौं : नघ:, श्रीघ:, त्यंघ:, किलाघ:, वंघ:, वटुघ:, असंघ; र न्यूघ:। काठमाडौँको भित्री शहर डुल्दा अहिले पनि यस्तै अनेकौँ घ: भेटिन्छन्। जुन कलशको रूपमा समेत पुजिएको देखिन्छ त्यो पानीको जोहो गरेर राख्ने एउटा माध्यमसँग जोडिन्छ।

यी बस्तीहरूको नाममा अहिले “घ:” उच्चारण हुने भए पनि यी सब नग:, श्रीग:, त्यंग:, किलाग:, वंग:, वटुग:, न्यूग: बाट रूपान्तरित भएर आएको खुल्यो।

त्रिभुवन विश्वविद्यालयका नेपाल भाषा केन्द्रीय विभाग प्रमुख डा. राजनलाल(रास) जोशीका अनुसार यी ढुंगाको घ: हरू लिच्छविकालीन बस्तीको स्थापना भए देखिनै यहाँ छन्। उनले यी घ:हरुलाई काठमाडौँको भित्री शहरको पानीसँग जोडेर किताब प्रकाशित गरेका छन्। 

नघ:“जहाँतहाँ लिच्छविकालीन ग; अर्थात् बस्तीहरू छन् त्यहाँ यो घ:हरु भेटिए। यो जहाँ पाए त्यहीँ हुने कुरा पनि होइन,” उनले भने, “ग; (गल) भनेको नेपाल भाषामा बस्ती हो। कुनै पनि बस्ती हुन त्यहाँ पानी, सुरक्षा चाहिन्छ। नेवार सभ्यता भएको बस्तीमा सुरक्षा भनेको कुमारी वा कुमार, भैरव र अजिमा हो। यो घ: वा घडाले पनि सुरक्षासँगै पानीको प्रतिनिधित्व गरेको पाइयो। जुन बस्तीमा यस्तो घ:हरु छन् त्यो पानीको केन्द्र पनि हो।”

ऐतिहासिक बस्ती विकाससँग जोडिएका घ: हरू 

लिच्छविकालीन समयमा हाँडीगाउँ राजधानी हुँदा काठमाडौँका “कोर क्षेत्र”पनि त्यसबेला गाउँको रूपमा चिनिएको थियो। राजा मानदेवको समय अघिसम्म पनि गाउँ नै रहेको त्यहाँ बस्ती विकास गर्नमा उनकै ठुलो हात रहेको जोशी दाबी गर्छन्। 

“अहिले पनि विभिन्न स्थानहरूमा गाउँको नाम अझै बाँकी छ। जस्तै सुन्तागां, यो यट्खातिर पर्छ। स्या; बजी गां, फसिगां, लगायतका सबै गाउँ नै हो। मानदेवले शिवपुरी देखि नहर(कुलो) बनाइ काठमाडौँमा पानी ल्याए पछि शहर बन्यो,” उनी भन्छन्, “विशालनगर (हाँडीगाउँ) मा आगलागी भएर ध्वस्त भए पछि उताको शहर यता पनि सर्यो।” 

उनले गरेको अध्ययन अनुसार त्यस अघिसम्म पूर्व र दक्षिणमा बागमती, पश्चिममा विष्णुमती र उत्तरमा सामाखुसी नदीहरूले घेरेको भए पनि बस्ती निकै माथि भएको कारण यस क्षेत्रहरूमा पानीको निकै अभाव थियो। बुढानीलकण्ठदेखि महाराजगन्ज, लाजिम्पाट, लैनचौर हुँदै रानीपोखरी र थँहिटीसम्म कुनै पनि खोलाले छोएको थिएन।  

त्यही बाटोमा कुलो बनाउँदै पानी ल्याएर थँहिटीमा झारियो। त्यहाँ पहिला पानी घट्ट भएको कारण त्यहाँ पानीको ठुलो स्रोत थियो भनेर बुझ्न सकिन्छ। थँहिटी नजिकै न:घ: छ। न: लाई यहाँको स्थानीयले नव/नयाँ भनेर बुझ्ने गरेको पाइन्छ। अहिले केही स्थानीयले “फलामको घडा” भनेर बुझ्दै आएको पनि देखियो। तर त्यो गलत भएको जोशी बताउँछन्। 

तौडह घ:“नयाँ घ: भन्नुको अर्थ नयाँ घडा, भित्री शहरमा भएको लिच्छविकालीन पहिलो बस्ती हो। त्यसबेला बस्तीमा कुलो झार्नु पूर्व शिवपुरीबाट ल्याइएको पानी अहिले जेपी स्कुल भएको ठाउँमा झारेको देखिन्छ,” जोशीले भने, “त्यसपछि थँहिटीको सुन्धारा(हाल चैत्य स्थापित)मा झारेको अनुमान गर्न सकिन्छ।”

थँहिटीबाट अत्यधिक बहाव भएको पानी शान्ति शिक्षा स्कुल नजिकैको पोखरीमा झारियो। त्यसलाई खापुखू भनियो। त्यहाँ पानी शुद्धीकरण केन्द्र समेत रहेको थियो। जसमा खरानी राखेर पानी फिल्टर गरिन्थ्यो। त्यहाँबाट पनि बढी भएको पानी भने स्वाँ छपू गणेश, थँहिटी र क्षेत्रपाटी बीचको गणेश मन्दिरमा कुलो मार्ग नै बनाएर इखापुखुमा जाने व्यवस्था गर्यो। 

अहिले इखापुखुलाई काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण गरिरहेको छ। इखापुखुखूको साँधमानै छ नघ:। त्यो पानीको बाटो थाय्मद् अर्थात्  बांगेमुडाबाट तल झर्दै किलागल जान्छ। अनि त्यहाँबाट पनि वटु, असन, इन्द्रचोक सम्म जान्छ। यसरी पानी बग्दै जाने हरेक बस्तीमा यी घ: छन्। 

घ: भएकै ठाउँमा स-सानो पोखरी अहिले पनि छन्। त्यस्तै जुन जुन ठाउँमा घ: भेटिन्छन् त्यस थुनमा अजिमा (मातृका)को पीठ रहेको देख्न सकिन्छ। जसले देवदेवीहरूको प्रतीकको रूपमा घ:को स्थापना भएको स्थानीयको अनुमान छ। 

कमलाक्षी घ:त्यस्तै असन चोकमै रहेको अन्नपूर्ण घ: पनि पानीसँग नै  सम्बन्धित छ। तर “अन्नपूर्ण” नामलाई लिएर यस घ:लाई भने अन्नसँग जोडिएकोमा जोशीको असन्तुष्टि छ। 

यो पछि असन हुँदै पछि इन्द्रचोक निस्किन्छ। इन्द्रचोकको घ: लाई वंघ: भनेर चिनिन्छ। त्यहाँको पानीलाई पूर्व तिर पठाइयो। त्यसले वटु घ: लाई जोड्छ। वटुमा भने आफ्नो अध्ययनको क्रममा जोशीले अंशुवर्माकै अभिलेख भेटेको दाबी गरे। 

वटुपछि त्यहाँबाट कुलो हनुमानढोकासम्म पठाइयो। हनुमानढोकामा पनि घ: रहेको तर त्यो भने विस्थापित भइसकेको उनको भनाइ छ। 

“अहिलेको वसन्तपुरको कुमारी घर पछाडि ग्वाछे  मुग: गल्ली छ। त्यस क्षेत्र पनि लिच्छविकालीन  देखिएको छ,” उनले भने। 

त्यहाँबाट कुलो बग्दै जैसी देवलसम्म गएको छ। त्यहाँ पनि चोकैमा न्यूघ: छ। अन्तिममा गएर त्यो कुलो न्यूघ: बाट पूर्व लगन टोलसम्म पुग्छ, जुन सेतो मछिन्द्रनाथको अन्तिम यात्रा हुने ठाउँ हो। यहाँ लंजगोल भन्ने ठाउँ रहेको र सुनको घ: समेत रहेको थियो। 

राष्ट्रिय म्युजियममा रहेको पूर्ण कलश।“मैले देख्दा सम्म पनि त्यहाँ सुनको घ: थियो। म सानो हुँदा त्यो घ: उठाएर पूजा गरेको मलाई पनि थाहा छ। कुनै पनि धार्मिक विशेष काममा घ: वा अहिले सजिलो गरेर बुझ्दा कलश प्रयोग गर्ने चलन त सर्वविदित नै छ,” उनले भने, “यस विषयमा धेरै अध्ययन भएको छैन। मैले नै अध्ययन गर्दा १७ वटा त देखेको छु। जसमध्ये सबैभन्दा पुरानो नक्सालको घ: हो। त्यो बेलाको हाँडीगाउँको घ:। महादेव मखनमा पनि छ सानो घ:।”

त्यस्तै पकनाजोलमा रहेको पकना घ:, जुन काठमाडौँको कोर क्षेत्रको ओरालोमा पर्ने अन्तिम घ: हो। त्यस्ता महाबौद्धको गल्लीमा पनि एउटा घ: थियो। त्यहाँ अवशेषको रूपमा सानो गोलाकार ढुंगा अहिले पनि देख्न सकिन्छ। यसरी हेर्दा त्यसबेलाको “नेपाल” छिर्ने नाकाहरूमा घ: भएको देखिन्छ। 

बस्तिबस्तिमा कुलोसँगै स्थापना भएको घ: निकै कलात्मक देखिन्छन्। विभिन्न कालखण्डको वास्तुकलामा बनाइएको घ:हरु ढुंगा, माटो, फलाम, तामा, पित्तल देखि सुनचाँदीले समेत बनाइएको देखिन्छ। घ:मा सधैँ पानी भरि राख्ने गरिन्छ। यसलाई सिधै जमिनमा नराखी केही वस्तुमा राखी त्यस माथि घ”राख्ने गरिन्छ। 

“घ:बारे अध्ययन नै भएको छैन”

राज जोशीका अनुसार दशैंको समयमा समेत एउटा गोप्य कोठामा यस्तै तीनवटा घडाहरू राख्ने गरिन्थ्यो। जस मध्ये एउटामा रातो जाँड, अर्कोमा सेतो जाँड र तेस्रोमा भने रक्सी थापेर सेवन गर्दा त्यसले ऊर्जा दिने मानिन्थ्यो। तर अहिले भने एउटा मात्र घडा राख्ने गरिन्छ। यसले शक्तिको सञ्चय गर्ने पनि बताइन्छ। 

पूर्वीय ग्रन्थहरूमा घ:को आकारलाई शास्त्रीय रूपमा वर्णन गरेको भए पनि यसबारे अन्य थप केही उल्लेख नभएको उनले बताए। जस अनुसार घ: को मुखमा विष्णु, कण्ठमा रुद्र, पेटमा चण्डी र पिँधमा ब्रह्म हुने मान्यता छ। यस भित्र रहने जललाई भने सागरको रूपमा हेरेको पाइन्छ। घ: २५ अङ्गुलको हुन पर्ने समेत उक्त ग्रन्थमा लेखेको उनको भनाइ छ। 

किलागलमा रहेको किला घ:उनी भन्छन्, “अहिले लोप भयो अलग कुरा हो। तर कुनै पनि घ: मा कुनै पनि किसिमको पानीको स्रोत छ। त्यै भएर सजिलो रूपमा बुझ्न पर्दा यहाँका घ: हरूलाई त्यसबेलाको राजकुलोसँग जोडिएको वस्तिहरू भनेर बुझ्न सकिन्छ। अनि यहाँका बस्ती जति पुरानो हो त्यति नै पुरानो यी घ:हरु पनि हुन्। तर अहिले राजकुलो जस्तै यी घ:हरु पनि विस्थापित हुन लागिसके।”

उनको अध्ययन अनुसार अधिकांश घ: हरू १३/१४ सय देखि १६ सय पुरानो सम्म देखिको छ। तर नक्सालको भनिएको घ: बाहेक अन्य कुन घ: कति पुरानो भनेर यकिन भएको छैन। त्यो घ: अहिले अमृत घ: को रूपमा राष्ट्रिय संग्राहलयमा छ। उक्त घ: निकै नै कलात्मक र आकर्षक देखिन्छ। 

“काठमाडौँमा भेटिएको एउटा शिलालेख अनुसार मानदेवको समयको एउटा शिलालेखमा पानी ल्याए भने लेखिएको भेटेको छु,” उनले भने। 

काठमाडौँको सबै राजकुलो अहिले मासिसकेको छ। हाँडीगाउँमा भने आजसम्म पनि वर्षमा एक पटक शिवपुरीसम्म गएर कुलो सफा गर्ने चलन छ। तर त्यहाँ पनि पानी चाहिँ छैन। त्यहाँको पानी बगेर गहनापोखरीसम्म पुग्छ। दशैंको समयमा पर्ने जात्राको अवसर पारेर हाँडीगाउँका स्थानीयहरू अहिले पनि शिवपुरीमा जाने गर्छन्। तर त्यो पनि औपचारिकतामा मात्र सीमित भएको उनी बताउँछन्।  

गहनापोखरीमानै जाने कुलो भने फेरि अर्कै हो। काठमाडौँ जिल्लाको राजकुलोको मुहान शिवपुरी र नागार्जुन डाँडा हो। तर यहाँबाट बग्ने कुलोहरू छुट्टाछुट्टै कालमा बनाएको पाइन्छ। यहाँको राजकुलो अवशेष बुढानीलकण्ठमा अहिले पनि केही रहेको जोशीले बताए। 

“पानीका स्रोत मासिएको शहर”

पानीको अथाह स्रोत भएको काठमाडौँको भित्री शहरहरु पनि अहिले देशको अन्य ठाउँ जस्तै मेलम्ची र जारकै पानीमा भर परिरहेका छन्। बेलाबखत पानीको हाहाकार मच्चिने मध्येमा यी क्षेत्रहरू पनि हुन्।

जोशीका अनुसार यहाँको राजकुलोहरू पूर्ण रूपमा मासिएको २०४६ साल तिरनै हो। यहाँका पानीको स्रोतहरू मासिए  सँगै घ: हरू पनि मासिँदै गएको देखियो।

चागलमा रहेको पूर्ण कलश।उकेराको स्थलगत रिपोर्टिङको समयमा प्राय घ:हरु टुटे फुटेको देखियो। त्यंग: र नघ: को वास्तविक घ: चोरी भइसकेको छ। दुवै क्षेत्रमा अहिले प्रतीकात्मक रूपमा घ: हरू निर्माण गरिएर राखिएको छ। झट्ट हेर्दा सामान्य बटुवाहरूले यी घ: बारे बुझ्नको लागि नजिकै केही पनि राखिएको छैन। यसले गर्दा नौलो व्यक्तिहरूले यसबारे सजिलै ज्ञान लिन सक्ने अवस्था पनि छैन। 

“अहिले देखि होइन। मैले रिपोर्टिङ गर्न खोज्दा पनि यी घ:को अवस्था निकै नराम्रो थियो। गाडीले कुल्चिएको, घर बनाउने ढुंगाहरुसँग मिसिएको अवस्थामा थियो,” यसै विषयमा लामो समय देखि अध्ययन गरिरहेका नेवा: पत्रकार विपिन कपालीले आफ्नो अनुभव सुनाए। अध्ययन सामग्री निकै कम भएको कारण पनि यसमा स्थानीयकै चासो पनि नरहेको उनले बताए।    

घ: को संरक्षण गर्ने र भित्री शहरका पानीको मुहानहरूलाई संरक्षण गर्ने भनेर बेलाबेला स्थानीयले आफ्नै पहलमा पूजा गरेको तथ्य पनि भेटिन्छ। जस अनुसार घ: ओउजा सबैभन्दा पहिले वि.सं. १९९७ सालमा ढालसिक्व असनका सानुमान साहुको पहलमा गरिएको थियो। त्यस समयमा उपत्यकाभित्र रहेका साना ठूला गरी १०८ वटा घ:हरुपरिक्रमा गरिएको थियो पनि भन्ने गरिन्छ। 

त्यस्तै २०१८ सालमा पनि ओमबहाल, न्ह्यूछें टोलका बाबुकाजी शाक्यले २०६४ सालमा नेपाल सम्पदा संघले र २०७१ सालमा नेवा: सांस्कृतिक पुच:ले आयोजना गरेको थियो। त्यसयता भने कसैले पनि यस्तो पूजा आयोजना गरेको देखिँदैन। 

विभिन्न संस्थाहरूले घ:को पूजा गरेर यसको संरक्षण गर्न पर्ने जोड दिए पनि टोल अनुसार आफ्नै विवादले पनि यसको अध्ययनको लागि वाधा पुगिरहेको छ। ऐतिहासिक बस्तीहरूको ऐतिहासिक संरचनासँग जोडिएको यस घ: लाई सबैले चासो दिएको देखिँदैन। 

घ: को लिखित दस्ताबेजको रूपमा नेपाल भाषामा लेखिएको पत्रकार समेत रहेका कपालीको लेख र डा. जोशीले लेखेको किताब नै अहिले सम्मको लिखित दस्ताबेज हुन्। तर यसबारे धेरै खोजी हुनु पर्ने र यसको संरक्षण पर्नेमा दुवैको मत उही छ।

“पूर्वीय ग्रन्थहरू देखि लिएर राजकुलो, पानी, बस्ती र सभ्यता सम्म जोडिएको यस घ: लाई अहिलेको पुस्ताले समेत ध्यान नदिँदा आगामी पुस्त झन् अनविज्ञ हुने जोखिम छ। त्यसैले यसको संरक्षणमा मनमुटाब गरेर बस्नु भन्दा सबै मिलेर लाग्नु पर्छ। घ: र त्यस भित्र राख्नको लागि पानीबारे पनि अब हामीले सोच्न धेरै ढिला गर्न हुँदैन,” जोशीले भने। 

सम्बन्धित समाचार

कात्तिक १३, २०८३ शुक्रबार १७:१८:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।