EXCLUSIVE : अमेरिकी संस्था र चर्चको सहयोगमा चलेको संस्थाको धर्म सन्तानको अवैध ‘धन्दा’, यौन हिंसाबाट गर्भ बसेको घटना गुपचुप
काठमाडौं : काठमाडौंको गोदावरीमा रहेको “भ्रूणका आवाजहरू” नामक संस्थाले १८ देखि २२ वर्ष सम्मका युवतीहरूलाई बच्चा जन्माउन लगाएर अवैध रूपमा धर्मपुत्र र धर्मपुत्रीको रूपमा बालबालिका दिने गरेको खुलेको छ। गर्भ रहेको तर बच्चा जन्माउन नचाहनेहरूलाई आफ्नो सेल्टरमा राखेर बच्चा जन्माउन लगाउने र सो बच्चा अवैध रूपमा हस्तान्तरण गर्ने गैर कानुनी काममा सो संस्थाका पदाधिकारी संलग्न रहेको खुलेको हो।
मुलुकी देवानी संहिता २०७४ अनुसार नेपालभित्रै पनि कसैलाई धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिन जिल्ला अदालतबाट अनिवार्य अनुमति लिनु पर्छ। अदालतले धर्मपुत्र र धर्मपुत्री राख्न मिल्ने हो वा हैन भन्ने कानुनी सर्तहरू हेरेर मात्र स्वीकृति दिने कानुनी प्रावधान छ।
तर अमेरिकी संस्था लाइफ इन्टरनेशनल, '10/40 Connection' र नेपाली चर्च समाजको आर्थिक सहयोगमा चलिरहेको यो संस्थाले अनिच्छित गर्भ रहेका युवतीहरूलाई सेल्टरमा राखेर बच्चा जन्माउन लगाउने र बच्चा जन्मिएपछि आफूखुसी धर्मपुत्र र धर्मपुत्रीको रूपमा दिने गरेको खुलेको हो। संस्था २०६६ मा दर्ता भएको हो। उसले यस्तो अवैध काम कहिलेदेखि गरिरहेको हो सो खुल्न सकेन।
गोदावरी नगरपालिकाको २०८३ वैशाख २ को अनुगमनमा उनीहरूले अवैध रूपमा बच्चाहरू धर्मपुत्र र धर्मपुत्रीको रूपमा दिने गरेको खुलेपछि प्रतिवेदनै तयार पारेको छ। गोप्य राखिएको सो प्रतिवेदनमा यसरी बच्चाहरू धर्मपुत्र र धर्मपुत्रीको रूपमा राख्न दिँदा कानुनी प्रावधान पालना नगरेको प्रस्ट उल्लेख छ।
सो संस्थाले गर्भ रहेको तर बच्चा आफूसँग राख्न नचाहने किशोरी र युवतीहरूलाई सेल्टरमा राख्ने, अस्पताल लगेर प्रसूति गराएपछि आमा र बच्चा अलग गराउने, आमालाई बच्चा संस्थाको संरक्षणमा रहने कागज गराउने अनि ३ महिनापछि किशोरी वा युवती बच्चा छाडेर संस्थाबाट बाहिरिने गरेको देखियो।
जब बच्चा संस्थामा आइपुग्छन् अनि संस्थाका पदाधिकारीको सम्पर्कका आधारमा कानुनी प्रक्रियामै नगई बच्चा हस्तान्तरण गर्ने गरेको खुल्यो। उनीहरूले अहिलेसम्म कति बच्चाहरू यसरी हस्तान्तरण गरे त्यो खुल्न सकेको छैन। तर संस्थाका पदाधिकारीहरूले बच्चाहरू नेपालमै मात्रै दिने गरेको दाबी गरेका छन्।
सो संस्थामा हालसम्म २७ जना गर्भवती किशोरीहरू बसेको खुलेको छ। उनीहरूलाई सो संस्थामा चर्च, स्थानीय सरकार वा चिनजानका माध्यमबाट पठाइएको खुल्यो।
सबैभन्दा गम्भीर पक्ष, यौन हिंसामा परेर गर्भवती भएका युवती समेत सो संस्थामा रहेको खुल्यो। अपराधमा परेका युवतीहरू संस्थामा आए पनि संस्थाका पदाधिकारीहरूले हिंसामा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई खबर गर्नुको साटो घटना नै गोप्य राख्ने र बच्चा जन्माएपछि बच्चा लिने तर आमालाई पठाउने गरेको खुल्यो।
संस्थाकी वर्तमान अध्यक्ष सुजन कुँवरले पीडित पुरुष विरुद्ध कानुनी कार्वाहीको प्रक्रियामा नजानुको कारण पीडित किशोरीहरूले नै नचाहेको दाबी गरेकी छिन्। उनले संस्थाको उद्देश्य गर्भपतनलाई निरुत्साहित गरी शिशु जन्माउन प्रोत्साहन गर्नु रहेको बयानमा बताएकी छिन्।
उनले बच्चाहरू अन्य परिवारलाई हस्तान्तरण गर्ने गरेको स्विकारेकी छिन्। तर त्यसमा कुनै कानुनी प्रक्रिया पुरा गरेको देखिएन। कुँवरका अनुसार बच्चा तेस्रो व्यक्तिलाई दिन बच्चा किशोरीका अभिभावकलाई हस्तान्तरण गरेर उनीहरू मार्फत तेस्रो व्यक्तिलाई कागज गराएर दिने गरेको खुलाएकी छिन्। यसरी गैर कानुनी रूपमा बच्चा हस्तान्तरण गरेपछि जन्मदर्ता नै उनीहरूको नाममा दर्ता गर्ने गरेको उनले स्विकारेकी छिन्।
प्रतिवेदनमा समावेश उनको बयानमा आमा र शिशुको भावनात्मक सम्बन्ध हुन नदिन बच्चा जन्मिएको ७ देखि १० दिनभित्रै अलग गराउने, बेसार पानी खुवाएर आमाको दूध सुकाउने, बच्चालाई ल्याक्टोजिन खुवाउने गरिएको स्वीकार गरेकी छिन्।
संस्थाका निर्देशक सोनाम राईले पनि धर्म सन्तानको रुपमा बच्चा दिँदा कानुनी प्रक्रिया पुरा नभएको स्विकारेका छन्। प्रतिवेदनमा उनले प्रस्ट 'कुन कानुनमा टेकेर शिशु हस्तान्तरण गर्ने भन्ने थाहा छैन भनेका छन्। उनले संस्थाबाट धर्म सन्तानको रुपमा गएका बालबालिकालाई ल्याउन सक्ने तर अहिलेसम्म अनुगमन नभएको समेत स्विकारेका छन्।
संस्थाकी सहसचिव विमला खत्रीले अनुगमनमा नवजात शिशु अन्य व्यक्तिलाई हस्तान्तरण गर्दा अपनाउनु पर्ने कानुनी प्रक्रियाबारे जानकारी नै नभएको बताएकी छिन्। उनले बयानमा संस्थामा पारिवारिक समस्या, प्रेम सम्बन्ध वा शोषणमा परेर गर्भवती भएकाहरू आउने गरेको स्विकारेकी छिन्। उनले पनि पीडकमाथि कानुनी प्रक्रियाका लागि संस्थाले जाहेरी दिने नगरेको स्विकारेकी छिन्।
संस्थाको अध्यक्ष कुँवरले मानवीय आधारमा काम गर्ने गरेको र यसमा कुनै आर्थिक लेनदेन नहुने दाबी त गरिन् तर जसरी संस्थाले कानुनी प्रक्रिया छलेर काम गरिरहेको खुल्यो त्यसले उनको दाबी विश्वसनीय देखिएन। कतिसम्म भने जसलाई बच्चा दिइएको हो तीनको रेकर्ड रहेको तर बच्चाको अहिलेको अवस्था कस्तो छ भन्ने अनुगमन नगरेको संस्थाको दाबी छ।
चिनजानकै भरमा संस्थामा
अनुगमनको क्रममा सो संस्थामा केही युवतीहरू समेत भेटिएका थिए। त्यसमा २३ वर्षे युवती फेला परिन्। उनी गत फागुनमा संस्थामा आएकी थिइन्। उनले चैतमा छोरी जन्माइन्।
अनुगमनकर्ताहरूसँग उनले सोमान राई (संस्थाका कार्यकारी निर्देशक) सँग चिनजान भएकी एक काकीको सहयोगमा सो संस्थामा आएको बताइन्। त्यस्तै उदयपुरकी १८ वर्षे किशोरीले वैशाख अन्तिम साता बच्चा जन्माइन्। २०८२ कार्तिकको तेस्रो हप्ता आएकी उनले बुबा आमा भारतमै बस्ने गरेको बताएकी थिइन्। यी दुवै आमा भइसके पनि उनीहरूसँग आफ्नो बच्चा थिएन।
अनुगमन टोलीले सेल्टरमा सुर्खेतबाट आएकी २० वर्षकी युवती फेला पारे। वैशाखमा उनी ८ महिनाकी गर्भवती थिइन् । दिदी नाता पर्ने र संस्थाका कार्यकारी निर्देशकलाई चिनेको माध्यमबाट सो संस्थामा आएको र उनलाई सिधै अस्पतालबाट ल्याइएको देखियो। त्यस्तै सोलुखुम्बुकी एक २० वर्षे युवतीको ३ वर्षे छोरी समेत सेल्टरमा भेटियो।
प्रतिवेदनमा उल्लेख भए अनुसार पारिवारिक समस्या, प्रेम सम्बन्ध वा शोषणका कारण गर्भवती भएका वा एकल महिलाहरूलाई संस्थाले आश्रय दिएर पढाउने, सीप सिकाउने र मनोसामाजिक विमर्श दिने गरेको दाबी गरे पनि अनुगमनमा त्यस्तो केही नदेखिएको उल्लेख छ।
अमेरिकी संस्था र चर्चको सहयोग
सो संस्था २०६६ मा ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको खुल्यो। संस्था कानुनी रूपमा दर्ता रहे पनि उनीहरूको काम अवैध देखियो। गोदावरी नगरपालिका वडा नम्बर ३ मा कार्यालय रहने गरी दर्ता भएको संस्थाले मातृ शिशु घर सञ्चालनसँगै क्षमता अभिवृद्धिको काम गर्दै आइरहेको लेखा परीक्षण प्रतिवेदनमा २०८१/८२ मा उल्लेख छ।
संस्थाका अध्यक्ष सुशासन राई हुन्। प्रशासनिक काम कार्यकारी निर्देशक सोमन राईको घरबाटै हुने गरेको खुल्यो। सो संस्थाको मुख्य आर्थिक स्रोत अमेरिकास्थित डोनर संस्था र नेपाली चर्च समाज (कमाइको १०% नियम) मार्फत प्राप्त हुने वैदेशिक सहायता र जिन्सी सामान रहेको देखियो।
जसले बच्चा लिएका छन् ती प्रायः संस्थाका व्यक्तिहरूको चिनजान वा मध्यस्थमार्फत आएको खुल्यो। तर उनीहरूको पारिवारिक अवस्था भने खुलेको छैन। जबकि धर्मपुत्र वा धर्मपुत्री दिन परिवारको आर्थिक अनि सामाजिक अवस्था समेत खुल्नु पर्छ।
पदाधिकारीको भूमिका शंकास्पद
अनुगमनमा देखिएका तथ्य र भ्रूण नेपालका पदाधिकारी र कर्मचारीको बयानबाट यो संस्थाको गतिविधि निकै शङ्कास्पद देखियो। उनीहरूको दाबी समेत त्यस्तै देखिए। भ्रूण नेपालका कोषाध्यक्ष लक्ष्मण चापागाईँले मौखिक सूचना र आफ्नो सर्कलमा हुने विभिन्न कार्यक्रमहरू मार्फत संस्थाको बारेमा थाहा पाएर गर्भवती युवतीहरू संस्थामा आउने गरेको खुलाएका छन्।
उनले संस्थामा जन्मिएर अन्त पठाएका शिशुहरूको विवरणहरू सुरक्षित रहेको तर उनीहरूको अहिलेको अवस्था के कस्तो छ भन्ने थाहा नभएको बताए।
कोषाध्यक्ष चापागाईँको बयानबाट संस्थामा हिंसामा परेर गर्भ रहेका किशोरहरू समेत आउने गरेको देखियो। तर यस्तो घटनाबारे पनि उनीहरूले प्रहरीलाई जानकारी दिने र कानुनी प्रक्रिया अगाडि बढाउने गरेका छैनन्।
“किशोरीहरूको गोपनीयताका कारण परिवारहरूले गर्भधारण गराउने पुरुषहरू विरुद्ध कानुनी कारबाही अघि नबढाई व्यक्तिगत रूपमै कुरा मिलाउने गरिएको छ” प्रतिवेदनमा उल्लेख छ। यति गम्भीर काम गर्ने संस्थामा संरक्षण नीति र व्यवस्थित कार्यविधि समेत रहेको देखिएन।
ललितपुर प्रहरीले झारा टारेपछि ब्युरोको जिम्मा
अनुमगनकाक्रममा सामाजिक कामको आवरणमा अवैध गतिविधि गरेको देखिएपछि संस्थाबारे अनुसन्धान गर्न नगरपालिकाले जिल्ला प्रशासन कार्यालय ललितपुरमा पत्र पठाएको थियो। सो अनुसार जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान सुरु गरेको देखियो।
प्रतिवेदनमा प्रस्ट सो संस्थाका पदाधिकारीहरूले प्रहरीमा जानकारी दिनु पर्ने हिंसात्मक घटनाबाट गर्भ रहेकाहरूबारे समेत जानकारी नदिने, कानुनी प्रावधान विपरीत बच्चालाई धर्मपुत्र धर्मपुत्रीको रूपमा दिने गरेको खुले पनि प्रहरीले संस्थाबारे अनुसन्धान गर्नु नपर्ने भन्यो।
उकेरालाई प्राप्त प्रहरी प्रतिवेदनमा त्यही रहेका किशोरीहरूसँग सोधपुछ गरिएको र केही नदेखिएको उल्लेख छ। यसले प्रहरीले अनुसन्धानको विधि नै पुरा नगरी एकै पटक अनुसन्धान गर्नै नपर्ने निष्कर्ष निकालेको देखियो।
यसबारे उकेराले ललितपुर प्रहरी परिसर प्रमुख कुलबहादुर कार्कीसँग जिज्ञासा राखेको थियो। उनले प्रहरीले गोदावरी नगरपालिकाबाट आएको पत्र अनुसार त्यहाँको व्यवस्थापन सम्बन्धी मात्रै अनुसन्धान गरिएको दाबी गरे।
“हामीलाई उहाँहरूले त्यहाँ समस्या रहेको बताउनु भएको थियो। हाम्रो टोली गएर हेर्दा खान-बस्न राम्रै व्यवस्था थियो,” उनले भने, “थप कानुनी के-के छ भन्नेबारे हामीले अनुसन्धान गरेका हैनौँ।”
प्रहरीले झारा टारेपछि नगरपालिकाले ‘गहन अध्ययन नगरी सतही रूपमा प्रहरी प्रतिवेदन आएको’ भन्दै यसबारे विस्तृत अनुसन्धानका लागि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा पत्राचार गर्यो।
मन्त्रालय स्रोतका अनुसार सो प्रतिवेदनमा उल्लेख भएका विषयहरू गम्भीर प्रकृतिको देखिए पछि मन्त्रालयले थप अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पठाएको छ।
ब्यूरोमा बुझ्दा प्रवक्ता राजन लिम्बुले भ्रूण आवाज नेपालको अनुसन्धान भइरहेको बताए।
“अनुसन्धान भइरहेको छ। अहिले नै के भएको छ निष्कर्षमा पुगेका छैनौँ,” उनले भने,“अनुसन्धानले टुंगो लगाएपछि मात्रै के हो भन्न सकिन्छ।”
भ्रूण आवाज नेपाल संस्थापक सोमन राईले संस्था उद्देश्य अनुरूप नै चलेको दाबी गर्दै भने, “हामी माथि सरकारले अनुसन्धान गरिरहेको छ । जे हो, त्यो आउला नै।”
असोज १४, २०८३ बुधबार २१:३६:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।