पर्यटन बोर्डको खर्चमा मन्त्री गनेशका दुई स्वकीयको रारामा “मुड फ्रेस कार्यक्रम”
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेश’ ले पर्यटकीय क्षेत्रको अनुगमनको आवरणमा प्रमुख स्वकीय सचिव आरयन जयसवाल र स्वकीय सचिव (कर्मचारीतर्फ) समिक शर्मा लगायतलाई अनधिकृत रूपमा नेपाल पर्यटन बोर्डको खर्चमा रारा घुमाएको खुलेको छ।
उकेरालाई प्राप्त भ्रमण आदेश सम्बन्धी पत्र अनुसार पर्यटन सचिव मुकुन्द प्रसाद निरौलाले आदेश दिएको पत्रमा रारा ताल प्रवर्धन सम्बन्धी कार्यक्रमको बहानामा ११ जनाको टोली रारा घुमेर फर्किएको देखिन्छ।
त्यसमा मन्त्री पौडेलसँगै मन्त्रालयका सचिव निरौलासँगै मन्त्रीका दुवै स्वकीय सचिव सहभागी थिए। २०८३ असोज २१ गते देखि २६ गते सम्म “नेपाल पर्यटन बोर्डको रारा ताल प्रवर्द्धन सम्बन्धी कार्यक्रम” हुने र त्यसमा मन्त्री खड्क प्रसाद पौडेल र सचिव मुकुन्द प्रसाद निरौला समेत सहभागी हुने भन्दै दुई स्वकीयको सबै खर्च भने नेपाल पर्यटन पर्यटन बोर्डबाट व्यहोर्ने उल्लेख छ।
सोही अनुसार निजी सचिव समिक शर्मा र प्रमुख स्वकीय सचिव आरयन जयसवाल पर्यटन बोर्डलाई सबै खर्च भराएर मुगुको रारा घुमेर फर्किए। शर्मा नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानका कर्मचारी हुन्। उनी अहिले मन्त्रीको सचिवालयमा खटिएको खुल्यो। जयसवाललाई मन्त्री पौडेल आफैँले सचिवालयमा राखेका हुन्।
रारा प्रवर्धन गर्ने कार्यक्रम भनिए पनि मन्त्रालयको फेसबुक पेज अनि मन्त्रीको गतिविधिमा त्यहाँ कुनै कार्यक्रम भएको खुलेन। पर्यटन बोर्डका अधिकारीसँग कुन कार्यक्रममा गएको भनेर जिज्ञासा राख्दा कसैले पर्यटन रुट हेर्न भने त कसैले अध्ययन अनुसन्धानका लागि भने। मन्त्रीका स्वकीयले के अनुसन्धान गर्ने रहेछन् भन्ने प्रश्नको जवाफ भने आएन।
अनौपचारिक कुराकानीमा भने यस अगाडि पनि पर्यटन मन्त्रालयका कर्मचारी अनि मन्त्रीको सचिवालयकाहरुलाई “मुड फ्रेस” गर्न मन लाग्दा पर्यटन बोर्डको खर्चमा जाने गरेको र अहिले पनि त्यसरी नै गएको बताए।
यसबारे जयसवालसँग कुरा गर्दा उनले रारा क्षेत्रको प्रवर्धनको कार्यक्रममा लागि गएको दाबी गरे। उकेराले उनीसँग त्यहाँ भएको कार्यक्रमको कुनै तस्बिर दिनु न भन्दा हुन्छ त भने तर दिन सकेनन्।
अनि उकेराले यसबारे मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलासँग जिज्ञासा राख्दा उनले आफूहरू समेत सहभागी भएर रारा गएको बताए।
उनले पर्यटन बोर्डको कार्यक्रम भएकाले स्वकीयहरू सहभागी भएको दाबी गरे। मन्त्रीको स्वकीयको पर्यटन बोर्डसँगको सम्बन्ध के हो अनि पर्यटन सम्भाव्य अध्ययनमा दुवै स्वकीयको भूमिका के हो भन्ने उनले खुलाउन सकेनन्।
“पर्यटकीय स्थल बढाउन के कसो गर्न सकिन्छ भन्ने सम्भाव्यताको लागि हामी भ्रमणमा गएका हौँ,” उनले भने, “त्यहाँ हामीले स्थानीय, व्यवसायीका कुरा सुन्यौँ, के गर्ने योजना पनि बनाउँछौँ।”
पर्यटन बोर्डका सूचना अधिकारी सन्तोष पन्तले सो घुमघाममा बोर्डका दुई कर्मचारी पनि सहभागी भएको बताए। पन्तले रारा क्षेत्रमा पर्यटकीय स्थलका लागि रुट बनाउने काम भएको र त्यसैको लागि सो टोली गएको उकेरासँग दाबी गरे।
उकेराले मन्त्री पौडेलका सचिव जयसवालसँग कार्यक्रमहरू भएका तस्बिर र मन्त्रीले भनेका कुराहरू के -के हुन् भनी सोधेको थियो। उनले भण्डारीको नम्बर दिएर ‘उहाँसँग नै कुरा गर्नु’ भनेर म्यासेज गरे।
बोर्डका अधिकृत गोपाल भण्डारीले उकेरासँग कालिकोटको मान्म,जुम्ला र मुगुमा समेत व्यवसायी र स्थानीयसँग पर्यटन विकासका लागि के गर्ने भन्नेबारे छलफल भएको दाबी गरे। त्यसका तस्बिर होलान् नि भनेर जिज्ञासा राख्दा होलान् मात्र भने।
“पर्यटकीयस्थलका लागि रुट बनाउने काम भइरहेको छ। त्यही कामका लागि उहाँहरू जानु भएको हो” भण्डारीले बताए। भण्डारीको दाबी अनुसार उनीहरू बोर्डको अनुसन्धान अध्ययन अन्तर्गतको बजेटमा रारा तालको भ्रमणमा गएका हुन्। पर्यटकीय क्षेत्रको अध्ययन अनि अनुसन्धानमा मन्त्रीका स्वकीयको भूमिका के त ? उनले खुलाउन सकेनन्।
“पर्यटन बोर्डले पर्यटकीय स्थलहरूमा कसरी धेरै भन्दा धेरै काम गर्ने भनेर अनुसन्धान गरिरहेको हुन्छ,” उनले भने, “सधैँ कर्मचारीले प्रतिवेदन बनाउने, दिने मात्रै भएको थियो यसपालि मन्त्रीज्यू र सचिवज्यू समेत लगेर त्यहाँका व्यवसायी तथा स्थानीयको कुरा सुनाएका हौँ।”
भण्डारीका अनुसार काठमाडौँबाट जानेमा मन्त्री र सचिव सहित ११ जना थिए। उनले सो भ्रमणमा ५/६ लाख खर्च भएको हुनसक्ने बताए।
उनले भने, “आज आइपुगेकाले एक-दुई दिनमा हिसाब निकालेर बुझाउनेछौँ।”
कर्मचारीमाथि स्वकीय सचिवालय हाबी
मन्त्रीको स्वकीय सचिवको जिम्मेवारी सचिवालय सम्हाल्ने मन्त्रीको सहयोगी हो। मन्त्रालयतहमा हुने कुनै प्रशासनिक निर्णय वा निर्देशनमा उनीहरूको हस्ताक्षर अवैध हुन्छ। उनीहरू प्रशासनिक अधिकार प्राप्त निजामती कर्मचारी हैनन्।
तर मन्त्री पौडेलका स्वकीय जयसवालले भने मन्त्रालयको अधिकारी जस्तै आफूले नै हस्ताक्षर गर्ने मातहतका निकायहरूमा निर्देशन दिने र विवरणहरू माग्ने गरेको समेत खुल्यो।
पर्यटन मन्त्रालय मातहतको १३ निकायलाई प्रमुख स्वकीय सचिव जयसवालले निर्देशन दिएको खुल्यो। उकेरालाई प्राप्त एक पत्रमा पर्यटन मन्त्रालय अन्तर्गतका महाशाखा, विभाग, मातहतका निकायमा भइरहेका कामहरूको बारे फलोअप लिने भन्दै पर्यटनमन्त्री पौडेलका प्रमुख स्वकीय सचिव जयसवालले आफ्नो हस्ताक्षरमा पत्र काटेर फारमको नमुना समेत पठाएको खुल्यो।
जयसवालले काटेको पत्रमा “मन्त्रालय अन्तर्गतका महाशाखा/विभाग/कार्यालय मातहत निकायहरूसँग मन्त्रीको सचिवालयले साप्ताहिक रूपमा गर्ने कार्यतालिका तय भएको हुँदा सम्बन्धित महाशाखा/विभाग/कार्यालय/निकाय प्रमुखको नेतृत्वमा आ-आफ्नो कार्यक्षेत्रको प्रगति सम्बन्धमा साप्ताहिक रूपमा बैठक राखेर उक्त बैठकमा मन्त्रीको सचिवालयबाट समेत सहभागिता जनाई प्रगति विवरणबारे जानकारी लिने दिने कार्य गर्नु गराउनु हुन निर्देशानुसार अनुरोध छ” भनेर लेखिएको छ।
यसबारे उकेराले पूर्व मुख्य सचिव विमल कोइरालासँग जिज्ञासा राखेको थियो। कोइरालाले यसरी मन्त्रीको सचिवालयले निर्देशन दिन नमिल्ने बताए।
“कर्मचारीहरूलाई निर्देशन दिने कर्मचारीको नेतृत्वले हो,” उनले भने, “ मन्त्रीज्यूहरूको सचिवालयले हैन।”
उकेराले प्राप्त विवरणमा जयसवालले क्षेत्राधिकार मिच्दै निर्देशन दिएको त प्रस्टै देखिन्छ नै के -के काम गर्ने भनेर फारमको नमुना समेत पठाएका छन्।
फारममा साप्ताहिक प्रगति विवरण शीर्षक रहेको छ, जहाँ मुख्य उपलब्धिको सारांश,वित्तीय प्रगति, सम्पादित मुख्य कार्यहरू, नीति तथा कार्यक्रमहरूको कार्यान्वयनको स्थिति, मुख्य समस्या र चुनौती शीर्षक छुट्टाइएको छ।
अटेरी अभियानबाट उदाएर आफैँ अटेरी भए
मन्त्री पौडेलको पृष्ठभूमि साहित्यिक भए पनि उनी २०७९ को स्थानीय तहको निर्वाचनमा कास्कीमा अटेरी अभियान सुरु गरेर राजनीतिमा प्रवेश गरेका थिए।
उनले पोखरा महानगरमा अटेरी अभियान सञ्चालन गर्दै मेयरमा आफू उम्मेदवार बनेका थिए, वडैपिच्छे स्वतन्त्र उम्मेदवार उठाएका थिए। काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार वालेन्द्र शाहले जस्तै उनले पनि लौरो चुनाव चिन्ह लिएका थिए। तर न पौडेल सफल भए न त उनको समूहका कुनै उम्मेदवारले नै जिते।
त्यसपछि वालेन्द्र निकट भएका उनी जेनजी आन्दोलन सफल भएसँगै वालेन्द्रसँगै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर सांसदहुँदै मन्त्री भए। मन्त्री भएसँगै पोखरामा उनले सार्वजनिक जग्गामा घर बनाएको खुल्यो। खोलाको मापदण्ड मिचेर रिसोर्ट चलाएको खुल्यो। तर सत्ताको आडमा उनीमाथि अहिलेसम्म छानबिन भएको छैन। उनी मन्त्रालयबाट हुने नियुक्तिमा पटक पटक विवादमा तानिँदै आएका छन्।
सत्तामा रहेर राज्यको साधनस्रोतको दुरुपयोग भएको भन्दै सामाजिक सञ्जालमा निकै कडा धारणा राख्ने मन्त्री पौडेल अहिले आफैँ घुमघामका लागि राज्य स्रोत दुरुपयोगमा संलग्न रहेको देखियो।
असोज २७, २०८३ मंगलबार १८:३५:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।