मधेसमा सरकार फेरबदलको कसरत, नेतृत्वमा तीन दलको दाबी
जनकपुरधाम : मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले गत असोज २५ गते दिएको समर्थन फिर्ता लिएपछि तीन दल नयाँ सरकार गठनको तयारीमा जुटेका हुन्।
जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवका अनुसार तीन दलबीच नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ। यद्यपि, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने ठोस सहमति भई नसकेको उनले बताए।
एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जसपा र जनमत पार्टीका नेताहरूसँग नयाँ सरकार गठनका विषयमा संवाद भइरहेको र चाडपर्व सकिएपछि छलफललाई निष्कर्षमा पुर्याइने जानकारी दिए। नयाँ राजनीतिक समीकरणसँगै नयाँ सरकारको नेतृत्वमा भने तीन वटै दलबाट दाबी हुँदै आएको छ।
प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको जसपाले सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ। उक्त पार्टी संसदीय दलका नेता सरोजकुमार यादवले तीन वटै दलका अध्यक्षबीच केन्द्रबाटै प्रदेश सरकारको नेतृत्वका विषयमा सहमति जुटाउने समझदारी भएको बताए।
एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठन गर्न कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्नेछ। अहिले यहाँ नेपाली कांग्रेसका २२, एमालेका २३, जसपाका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य रहेका छन्। त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक-एक सदस्य छन्।
कात्तिक १३, २०८३ शुक्रबार १४:१५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।