तराई-मधेसमा किन भित्र्याइँदैन फूलपाती ?

तराई-मधेसमा किन भित्र्याइँदैन फूलपाती ?

काठमाडौं : दशैँमा काठमाडौँसहित पहाडी क्षेत्रमा फूलपाती भित्र्याइन्छ। सातौँ दिन केराको पात, उखु र फूलसहित विशेष विधिसहित जमरा राखेको कोठामा फूलपाती भित्र्याउने प्रचलन रहे पनि तराई-मधेसमा भने फूलपाती भित्र्याइदैन।

संस्कृतिविद् रामदयाल राकेशका अनुसार मैथिली संस्कृतिमा घटस्थापनादेखि नै घर वा इष्टदेवताको थानमा जमरा उमार्ने र दुर्गापूजा गर्ने परम्परा छ। गोसाईं अर्थात् इष्टदेवताको स्थान वा दुर्गाको प्रतिमा स्थापना गरिएको ठाउँमा जमरा उमार्ने, पूजा गर्ने र सामूहिक रूपमा पर्व मनाउने परम्परा छ। तर फूलपाती भने भित्र्याइँदैन।

“पहाडमा जस्तो गोर्खा वा अन्य ठाउँबाट फूलपाती ल्याएर भित्र्याउने प्रचलन तराई–मधेसमा छैन। आफ्नो घरमा वा देवीको प्रतिमा स्थापना गरिएको स्थानमा जमरा उमार्ने चलन छ,” उनले नेपाल न्युज बैंकमा भने।

राकेशका अनुसार तराई–मधेसमा दुर्गाको प्रतिमा स्थापना गरिएका स्थानमा मेला लाग्ने गर्छ। दिनभरि श्रद्धालुहरू मेलामा सहभागी हुने र राति भजन कीर्तन तथा रामलीलाजस्ता धार्मिक कार्यक्रम आयोजना गर्ने परम्परा छ। दुर्गापूजा र सामूहिक धार्मिक गतिविधि तराइ र मधेसको दशैँको सांस्कृतिक विशेषता भएको उनले बताए।

मैथिली संस्कृतिमा जमराको पनि विशेष महत्त्व रहेको राकेशको भनाइ छ । जमरा उमार्ने परम्परा परिवारका सदस्य, विशेषगरी आफूभन्दा साना व्यक्तिलाई आशीर्वाद दिने सांस्कृतिक अभ्याससँग जोडिएको उनले बताए।

पहिले तराई–मधेसका कतिपय स्थानमा ब्राह्मणहरू घरघरमा पुगेर जमरा लगाइदिने र आशीर्वाद दिने चलन रहेको उनले स्मरण गरे। तर अहिले यस परम्परामा ब्राह्मणहरूको सहभागिता घट्दै गएको उनको भनाइ छ।

राकेशका अनुसार पहाड र तराई–मधेसमा दशैँ मनाउने विधि फरक भए पनि देवीपूजा, पारिवारिक सम्बन्ध र धार्मिक आस्थाको महत्त्व दुवै क्षेत्रमा समान छ। फूलपाती मनाउने फरक शैलीलाई पनि उनले आ–आफ्नो संस्कृतिको विशेषताका रूपमा व्याख्या गरे।

असोज ३१, २०८३ शनिबार १३:०४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।